अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

हाँगे हाकिम र खैरु

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७५ माघ ७ गते १३:१८ मा प्रकाशित

‘च्वच्व … कठै ∕ बिचरा खैरु मरेछ ।’ टोल बासी सबका ओठमा यही आवाज झुन्डिएको छ । खैरुको असामयिक मृत्युबाट टोल नै शोकाकुल भएको छ ।

यो घटना कुनै एउटा नवनिर्मित सहरको हो । त्यस ठाउँमा विभिन्नतिरका विभिन्न खाले मानिसहरू आएर बसोबास गरेका छन् । त्यसैले होला त्यस ठाउँलाई नेपालको छयत्तरौ जिल्लासमेत भन्ने चलन छ । अब त्यो कुन सङ्घमा पर्ने हो टुङ्गो छैन । चानचुन नेपाली भूगोलभित्रै पर्ने त्यो टोल सानै भए पनि त्यहाँ घर बनाएर बस्नेहरू भने अनेक थरी छन्, तिनको स्तर पनि समान छैन । त्यहाँ बसोबास गर्ने कोही व्यापारी, कोही हाकिम, कोही प्रोफेसर, कोही डाक्टर, कोही लाहुरे, कोही चाउरे अनि कोही सामान्य कर्मचारी छन् । ब्रम्हचारी भने त्यहाँ कोही छैनन् ।

त्यसै टोलको बिचतिर लगभग तीन चम्के हुने गरी तीन थरी हाकिम बस्छन् । टोल बासी सबैले एउटालाई पञ्चनारान, अर्कोलाई दलबहादुर र तेस्रोलाई लोकमान भन्ने गर्छन् । यी माथिल्लो तहका हाकिम भने होइनन्, मात्र थर्ड क्लास हा“गे हाकिम हुन् । यी तीनै जना मित्रराष्ट्रबाट प्रमाणपत्र खरिददारी गरी ल्याएर विभिन्नका पालामा हुप्रबाट सोझै हाकिम भएका चरम राष्ट्रसेवक हुन् । तीन कालखण्डका यी त्रिमूर्तिमध्ये हाकिम १ लाई भन्सारे हाकिम, हाकिम २ लाई धन सारे हाकिम अनि हाकिम ३ लाई दलसारे हाकिम भन्ने गरिन्छ । यी भिन्न भिन्न कालखण्डका हाकिम भए पनि कमाऊ र घरको सुरक्षाका मामलामा भने समान छन् । सबैका घरको मूल गेटमा सधैँ भित्रबाट ताला लगाएकै हुन्छ । तिनीहरूको ढोका खोल्नसमेत बक्साउनु पर्ने अवस्था रहेकाले तिनका हत्तपत्त कोही जाँदैनन् । अरूको त के कुरा कहिलेकाहीँ घरवालासमेत निकै बेर बाहिरको बाहिरै पर्छन् । तिहारमा आउने देउसे भैले समेतले त्यो कुरा बुझिसकेका छन् । कुनै नयाँ“ले नबुझेर देउसी भैलो खेलिहाले भने ढोका खुल्ने त कुरै छैन, कौसीबाटै खप्की खाने वा टाउकामा पानी खन्याइमाग्ने पक्का छ… ।

हाकिम त हाकिम नै भइहाले । तिनका औठाछाप हाकिमनीहरूको फुर्तीफार्ती झन् उत्पातको छ । तिनीहरू भुइमा न भाडा भएका छन् । उहाँ यसो गरिसिन्छ, उसो गरिसिन्छ भन्दै आआफ्नाको कमाउने कलाबारे डोका न डालाका गफ हाँकेरै कालक्षेपण गरिरहेका छन् तिनीहरू । तिनका घरमा रातदिन भोजभतेर र रमझम भइरहन्छ । खान पाएसि राज्यका जतिसुकै ठुला भनाउँदा पनि आइपुगिहाल्दा रहेछन् । कस्तो मजा आफ्नो केही जाने होइन, राज्यकै खानु–खुवाउनु त छ नि… ।

त्यस टोलमा अलि पुराना बासिन्दा एक जना प्रोफेसर छन् । उनी राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका लेखक पनि हुन् । उनको जीवनशैली अत्यन्तै सरल छ । उनी सहयोगी पनि छन् । त्यस टोलको विकासमा उनको ठुलो योगदान छ । वरपरका सबैले उनलाई अत्यन्तै आदर गर्छन् । ती हाकिमहरूले सुरुमा उनकै घरको बिजुली, पानी आदि निःशुल्क उपयोग गरेरै घर बनाएका हुन् । पहिले पहिले प्रोफेसरबाट सापटी पनि चलाएकै हुन् तर ती कुरा हाकिम–हाकिमनीहरूले बिर्सिसके । टुप्पाबाट पलाएकाहरू यस्तै हुन्छन् भन्ठानी प्रोफेसर यस्ता कुराको वास्ता गर्दैनन् ।

अभर पर्दा र बिरामी हुदा सबै हाकिमहरू नजिकको छिमेकी प्रोफेसरलाई नै गुहार्छन् । काम सार्‍यो भाँडो आफल तेरो ठाडो झैँ गरी तिनीहरू अरू बेला भने उनीसँग बोल्नसमेत गारो मान्छन् । हाकिमहरू र तिनका आफन्तसमेत अशक्त बिरामी भएका बेला प्रोफेसरले नै अस्पताल पु¥याएर औषधोपचार गरिदिनुपर्ने स्थिति छ तर तिनीहरू खोलो तर्‍यो लौरो बिस्र्योजस्तो गर्ने सारै बैगुनी छन् । जे भए पनि तिनका यस्ता बानी व्यवहार प्रोफेसरले सब पचाइसकेका छन् । नपचाएरै पनि के पो गर्नु र लाज पचेका नकच्चराहरूसंग… ।

त्यस टोलमा पहिले एक दुई लाहुरे–लाहुरेनीको रबाफ निकै थियो तर अहिले हाकिम–हाकिमनीका अगि तिनीहरू फिका भएका छन् । ती हाकिमहरूमा कसले ठुलो घर बनाउने भन्ने अघोषित होड नै चलेको देखिन्छ । फेरि हाकिम भएसि निर्माण सामग्री पनि उति किन्नु नपर्ने, सबैजसो दानदातव्यमै आउने । ठेक्कापट्टा मिलाइदिएबापत ट्वाइलेट, कौसी र बेडरुममा समेत पुग्ने मार्बल आएसि हाकिम–हाकिमनीको फुर्तीफार्ती र धाकरवाफको कुरै नगरौँ…। प्रोफेसर श्रेणीका हिसाबले विशिष्ट तर कमाइका हिसाबले लगभग श्रेणी विहीन… । दानदातव्यबाट मुक्त उनको घर सामान्य छ तर सामाजिक प्रतिष्ठा उच्च छ, सबका हाइहाइ छन्…।

थर्ड क्लास हागे हाकिमको चर्तिकला हेरिसक्नु छैन । यत्रो लोडसेडिङको हाहाकारमा समेत यिनका घरमा लोडसेडिङ कस्तो हुन्छ पत्तो छैन । टोलछिमेकमा लोडसेडिङ सुरु भएपछि उनीहरूकहाँ सारा छिमेकीहरूलाई डिस्टर्व गर्दै लाउडस्पिकर लगाएर अनेक गानबजान लगायतका गतिविधि सुरु हुन्छन् । एउटा हाकिम त घरबाहिर बाटामा समेत बत्ती बालेर थप फुर्तीफार्ती देखाउँछ ।

यी हागे हाकिमलाई जुनसुकै सरकार आएनि फरक पर्दैन । झन्झन् राम्रो ठाउँ पड्काउँछन् । हाकिम १ पहिले आफूलाई बाहुन भन्थ्यो । अलिपछि दले कालमा कोष्ठमा दर्जी लेख्न थाल्यो र दलित समावेशीको कोटाबाट पुनः हाकिम भयो । हाकिम २ जनजातिको कोटाबाट र हाकिम ३ चाहिँ मधिसेको कोटाबाट… । प्रोफेसरको चेलो मन्त्री भएका बेला हाकिम ३ तिनकै चाकडी गरेर पहिलो पटक हाकिम भयो तर पछि मधिसे कोटामा रूपान्तरित भएसि सब थोक बिर्सेर कसैलाई गन्नै छाड्यो… ।

हाकिम १ र २ हालसालै सेवा निवृत्त भएका छन् । यिनले भेद खुल्ने डरले मिति नपुगी स्वैच्छिक अवकाश लिएका रे । यतिखेर हाकिम १ एन.जी.ओ. खोलेर त्यसकै हाकिम भएको छ भने हाकिम २ इधरका माल उधार गर्न मै व्यस्त… । यिनमा हाकिम १ सारै चुपिचन्डाल छ । सबैका भन्दा धेर कमाए पनि ऊ लुकाउन निकै सिपालु छ । आफू ज्यादै कम प्रदर्शन गर्छ तर हाकिमनीबाट धोती खुस्किहाल्छ । हाकिम २ डराउँदै, लुकाउँदै, देखाउँदै गर्छ । हाकिम ३ चाहिँ चाहिनेभन्दा बढ्ता खोलेरै देखाउने खालको छ । ऊ आफू त माथिकालाई यति दिएर आएको केको डर भन्दै जोसुकैसँग फुर्ती लगाइरहन्छ । तिनीहरूको चल अचल सम्पत्ति के कति छ भन्ने स्वयंलाई पूर्ण जानकारी छैन, नगदनारायण पनि स्वदेशी बैङ्कमा राख्ने चलन छैन… ।

यति भएर पनि सबभन्दा अनौठो कुरा त के छ भने तीनै जना हाकिम सधैभरि खानै पुग्दैन भन्दै राडेर्वाइ गरिरहन्छन् । तिनका कुरा सुनेर तिनीहरू के खादा हुन् भनी टोल छिमेक छक्क पर्छन् । जे होस् तीनै जना हाकिम परिवारको दैनन्दिन अकल्पनीय छ । नाथे हागे हाकिमको चर्तिकला त यति बिघ्न छ, भने तीभन्दा माथिका पाते, टुप्पे हाकिमको कस्तो होला ? झन् तिनलाई बनाउने दले नेतागणको त कुरा गरी साध्य होला र…।

तीनै हाकिम–हाकिम र हाकिमनी–हाकिमनीका बिचमा भने पुरै कटाक्ष छ । कमाउने ठाउँ फरक फरक भए पनि कमाइको मात्रा नमिलेर त्यसो भएको होला । टोलछिमेकका छोराछोरी पढाउने ठाउँमा हाकिमका छोराछोरी पढ्ने कुरै भएन । महँगा महँगा ठाउँमा पढाएर इज्जत बढाउनै पर्‍यो । हाकिमका छोराछोरी पढाइमा लद्दुलाल भए पनि भने जति चन्दा दिएर तिनलाई डाक्टर–इन्जिनियर बनाई सरस्वती र लक्ष्मी एकै ठाउँमा मिलेर बस्दैनन् भन्ने लोकोक्तिसमेत हाकिमसापहरूले असत्य साबित गरिदिएका छन् । यसमा पनि अनौठो मान्नुपर्ने कुरै छैन, हामीकहाँ महँगा ठाउँमा पढ्ने यस्तैका सन्तान त हुन् नि… ।

हाकिमहरू धर्मकर्ममा पुरै लम्पट छन् । त्यसमा पनि हाकिम ३ अग्रपङ्क्तिमा छ । ऊ सर्टिफिकेट खरिदाइका हिसाबले इन्जिनियर भए पनि प्रत्येक दिन बिहान बेलुका तीन तीन घण्टा ध्यान जप गर्छ भने हप्तामा तीन दिन निराहार व्रत बस्छ । रुद्राक्षलाई सुनले मोरेर अनि अनेकथोकमा हीरामोती जडान गरेर अनेक जन्तरमन्तर धारण गर्छ । कतिपय माथिल्ला प्रभुलाईसमेत यस्तै वस्तु चढाउँछ । पशुपतितिरबाट हुलका हुल जोगी ल्याएर चिम्टा बजाउन लगाई स्वस्तिशान्ति गराउँछ । ज्योतिषले भनेभन्दा बाहेक सास पनि फेर्दैन । ऊ घुसघुसे पापमोचनको उत्तम उपाय यस्तै कामलाई ठान्छ । उसको शरीरमा भने अठार थरी रोगले गुड लगाइसकेको छ । व्यसनी, व्यभिचारी र हन्तकालेलाई लाग्नेखालका कुनै रोग पनि लाग्न बाँकी छैन । स्वास्नी कतातिर सल्केकी छ पत्तै छैन । आफुचाही निरन्तर कमाऊ र मोजमजामै व्यस्त–मस्त… ।

आफ्नो कल्याण र उन्नयनका लागि माथिल्ला प्रभु रिझाउने परम्परा उहिले देवदेवीका पालादेखि नै थालिएर अद्यावधि निरन्तर छ । वास्तवमा भ्रष्टाचारीले चढाएको भेटी र नैवेद्य देवगणले ग्रहण नगर्नु पर्ने हो । त्यस्तो पनि सहजै ग्रहण गरेर उसैको कल्याण गर्ने हो भने त अदृश्य देवगण र दृश्य नेतागणमा के नै पो फरक रयो र ?

त्यस टोलमा एउटा खैरे कुकुर र काली कुकुर्नीको जोडी थियो । खैरेलाई सबैले खैरु भन्थे । त्यो कहाँबाट कैले आयो र कालीलाई कहिले भित्र्यायो अनि कसले उसको नाम खैरु राख्यो भन्ने कुरा कसैलाई थाहा छैन । सुरुमा त्यो धेरैजसो हाकिमहरूकै ढोका कुथ्र्याे । प्रोफेसरलाई उति गन्दैनथ्यो । हाकिमनी भनेपछि हुरुक्कै हुन्थ्यो । हाकिम नभएको मौका छोपी हाकिमनीका काखमा लुटपुटिएर सुंघ्न पुगिहाल्थ्यो । उनीहरू पनि मस्तसँग सुघाइरहन्थे । लोग्ने धेरैजसो घर बाहिरै अर्थात् डान्स रेस्टुरेन्ट, क्यासिनो, महँगा होटेल, कोठीहरूमा नै बिताउने हुनाले उसको अनुपस्थितिमा हाकिमनीहरू त्यही खैरुलाई सिरकभित्र च्यापेर सुत्थे । हाकिमनीहरूका बिच सम्बन्ध चिसिनाको एउटा कारण खैरुमाथि एकाधिकार जमाउन उनीहरूमा हुने प्रतिस्पर्धा पनि थियो ।

एक पटक खैरु सारै बिरामी भयो । त्यसको शरीरका भुत्ला सबै खुइलिए । त्यो उठेर यताउति गर्नसमेत नसक्ने भयो । उसलाई कालीले पनि छोडेर गई । सबैले छि छि र दुरदुर गर्न थाले । दयालु प्रोफेसरले त्यसलाई घरमै ल्याएर औषधोपचार गरी निको पारे । उसका शरीरमा पनि क्रमशः भुत्ला पलाउन थाले । राम्रो खानपिन र औषधोपचारका कारण त्यो पहिलेभन्दा पनि हट्टाकट्टा देखिन थाल्यो । ऊ बिरामी हु“दा हाकिमनीहरूले समेत वास्ता नगरेसि त्यसले पनि तिनलाई छाडेर प्रोफेसरलाई नै पछ्याउन थाल्यो । प्रोफेसर बाहिर निस्कने बित्तिकै ऊ बडीगार्ड झै पछि लागिहाल्थ्यो । हाकिम–हाकिमनीलाई देख्ने बित्तिकै खुट्टा उचालेर भावभङ्गिमाका साथ तुक्र्याउन थाल्थ्यो… ।

केही दिन अगिको कुरा हो धन सारे हाकिमलाई घरमै पूजापाठ गरिरहेकै बेला कसैले गोली ठोकेर ठाउँको ठाउँ खुत्रुक्कै पारिदिएछ । यो कुरा टोलछिमेकलाई अलिपछि मात्र थाहा भयो । उसलाई कसले सुइक्यायो कसैलाई पत्तै भएन । कसैसँग ठेक्कापट्टाको कमिसनमा कच्याककुचुक परेर यस्तो भएको होला भन्ने अनुमानसम्म गरियो । त्यस्तो अवस्थामा समेत ऊप्रति सहानुभूति प्रकट गर्ने कोही भएनन् । त्यस बेला अरू दुई हाकिमले समेत वास्ता गरेनन् । सबै देखेको नदेख्यै गरी मुख बङ्ग्याएर हिँड्न थाले । अन्त्यमा प्रोफेसरले नै शव वाहन बोलाएर उसको शव पठाइदिए तर त्यो कता लगियो कसैलाई थाहा भएन … ।

त्यसको केही दिन बित्न नपाउँदै दलसारे हाकिमलाई अख्तियारले समाउने हल्ला चलेको कुरा कसैले सुनाइदिएछ । ‘पाप धर्म, नैतिकता पनि हेर्नुपर्छ अनि अख्तियारले पनि समाउन सक्छ’ भनी प्रोफेसरले बेलाबखत सम्झाउँदा ऊ ‘केको पाप धर्म, केको नैतिकता, केको अख्तियार, त्यस्ता मुलालाई किनिदिइहाल्छु नि । यी सब मेरा मुठीमा छन्, यी मेरा बायाँ हातका खेल हुन्’ भन्दै फुर्ती लडाउँथ्यो तर अख्तियारले समाउने हल्ला सुन्ने बित्तिकै ध्यान जप गरिरहेकै बेला ठाउँको ठाउँ खुत्रुक्कै भएछ ।

यस्ता पापीको मुख हेर्दा पनि अगति परिन्छ भनी कसैले वास्ता गरेनन् । कुरा कति भने उसको लास उठाउनेसमेत कोही भएनन् । पहिले ठेक्कापट्टा मिलाइदिएका धुपौरेहरू समेत फर्केरै आएनन् । उसकी स्वास्नीचाहिँ सिरीखुरी पारेर उसकै पूर्वपोइको ड्राइभरसँग हुइंकिसकिछ । बाहिरका अरू थुप्रै स्वास्नीहरू अंशको दाबी गर्न आइपुगे… । यता टोलमा दुर्गन्ध फैलिन थालेपछि जनस्वास्थ्यलाई ध्यानमा राखी टोलवासीले उसको शवलाई डम्पिङ साइटमा लगेर फालिदिए । सायद त्यो खैरुका सन्तानकै आहारा भयो होला ।

अनेक पटक अनेकौँ प्रकारको सहयोग लिएका छिमेकीका बच्चा सिकिस्त बिरामी भई अतालिँदै अस्पताल लैजान ट्याक्सी कुरिरहेकाहरूलाई समेत वास्तै नगरी हाकिम सरकारी गाडीमा ठेउकीहरू हालेर रेस्टुरेन्टतिर हुइकिन्थ्यो । यस्तो चरम अमानवीय प्रवृत्ति अरूलाई त के उसका ड्राइभरलाई समेत मन पर्दैनथ्यो । मन नपरेर के गर्नु बिचरा उसको केही लाग्दैनथ्यो । बेलाबखत ड्राइभरले गाडी रोकेर यस्तै अभरमा परेकाहरूलाई लिफ्ट दिन खोजे हाकिमबाट जागिर खाइदिने धम्की सुन्नुपथ्र्यो… यस्तो महान् विचार भएको आफ्ना हाकिमको अवसानमा ड्राइभरहरू निकै चिन्तित देखिए । चिन्ता यस मानेमा कि यस्ता चोरा खन्तीलाई आफैले त्रिशूलीतिर हुइक्याउने सोच्दासोच्दै अर्कैले सुइक्याइदिएछ… । उता तिनका अफिसमा ठुलै भोजको आयोजना गरिएको हल्ला पनि सनसनी फैलियो । तिनको मृत्युशोकमा थुप्रै खसीबोकाको ज्यान लिइयो रे…।

धन सारे र दलसारे दुवै हाकिमले मलामीको त के कुरा सामान्य सहानुभूतिसमेत नपाएको देखी यतिखेर भन्सारे हाकिम आफ्नो भविष्य सोचेर निकै चिन्तित भई टोलछिमेकमै मलामीको जोहो गर्नतिर लागेको छ … । हेरौँ उसले कतिसम्म सफलता प्राप्त गर्छ ।

कुरा रह्यो खैरुको । एक दिन बिहान खैरुलाई बसले किचेर मारिदिएछ । हाम्रो देशको हाल स्थापित मान्यताअनुरुप टोल छिमेक वरपरका सब भेला भएर खैरुको मृत्युमा शोक व्यक्त गर्दै त्यसलाई सहिद घोषणा गर्नुपर्छ र त्यसका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ भनी नाराबाजीका साथ चक्काजामसमेत गर्न थाले… । सुरुमा त सरकारले त्यति वास्ता गरेन, तर राजनीतिक पार्टीको समेत ठुलो दबाब परी सरकारको विश्वासको मत नै गुम्ने खतरा बढेपछि सरकारले पनि त्यसको मृत्युबारे सत्य तथ्य पत्ता लगाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन उच्चस्तरीय छानबिन आयोग गठन गर्‍यो । त्यस आयोगमा पञ्चनारान हाकिमलाई समेत राखिएछ । सबै छक्क परे तर छक्क पर्नुको के नै पो अर्थ थियो र… ?

टोल बासी सब मिलेर खैरुको शवलाई फुल माला, अबिर र बाजागाजाका साथ बाग्मतीमा लगी दाहसंस्कार गरे । खैरुले टोलको सुरक्षा गरेकै थियो, रातभर पहरा दिन्थ्यो अब कसले गर्ला आदि भन्दै सबैले चिन्ता प्रकट गरे । बा“की रहेका हाकिमनीहरू त निकै रोए पनि, हाकिम जाँदासमेत उनीहरू त्यति रोएका थिएनन् … ।

राज्यबाटै क्षतिपूर्ति पाउने भएसि अहिले खैरुका सन्तानले पुरै टोल भरिएको छ, त्यो क्षतिपूर्ति कसलाई दिने भनी निधो गर्न सकिएको छैन । त्यसका लागि पनि छुट्टै आयोग नै गठन गर्नुपर्लाजस्तो छ । त्यसतर्फ पनि राज्य सञ्चालकहरूले ध्यान पुर्‍याउलान् नै । खैरुको मृत्यु भवितव्यबाट नभएर सुनियोजित रूपले गरिएको हत्या रहेछ र खैरुले काली र हाकिमनीहरूसंग मात्र होइन कुकुरप्रेमी अरू धेरै नवधनाढ्यहरूका भार्याहरूको सङ्गत गर्नु नै उसको मृत्युको कारण रहेछ भन्ने कुरा आयोगको छानबिनपछि अहिले मात्र थाहा भयो … ।

अहिले टोल बासी सबै मिलेर खैरुको सम्मानमा भव्य सालिक निर्माण गर्ने निर्णय गरिएको छ । उसकै सम्झनामा खैरु राष्ट्रिय पुरस्कारको समेत स्थापना गर्ने घोषणा गरिसकिएको छ । त्यसमा सरकारी अनुदान पनि प्राप्त हुने भएको छ । यतिखेर त्यस टोलका सबै जना भन्ने गर्छन्— खैरुले जीवनकालमा केही नकमाए पनि पछिका लागि धेरै कमाएछ तर हाकिमले जीवनकालमा धेरै कमाए पनि मलामीसम्म कमाएनछ, हाकिमभन्दा त कठै बिचरा खैरु नै बेस… ।