अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

तथ्यमा आधारित कुरा बोल्दा किन आपत्ति ? – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ पुष २३ गते ८:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा आफूले तथ्यमा आधारित भएर बोलेको दावी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आईतबार संघीय संसद प्रतिनिधिसभाको बैठकमा आफूले ‘तथ्य जे छ, त्यही बोल्दा पनि’ केहीले आधारहिन टिप्पणी गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनुभयो ।

सोमबार नेपाल चेम्बर अफ कमर्शको ६८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले सुँगाले पिञ्जडाबाट दिएको खाम भित्रको पत्र नभई सरकारले १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेश गरेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले सरकारलाई तथ्यांङ्क सँग खेल्नुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो । नयाँ तथ्यांङ्क निर्माणमा अघि बढेको सरकारले तथ्याँकसँग नखेल्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले संसदमा दिएको वक्तव्यमा झूटा तथ्याँक उल्लेख गरिएको भन्दै आलोचना गरिएको छ । सोही प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूले झुट्टा आँकडा पेश नगरेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि आवश्यक नयाँ कानुनको निर्माण र पूराना कानुनको संशोधन तत्काल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले देश विकासका लागि आवश्यक उद्योगी, व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने आश्वासन पनि दिनुभयो ।

देश र जनताको हितका लागि सरकार सबै काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको समग्र विकासका लागि आवश्यक कानुन संशोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले लगानी मैत्री, उद्योगी व्यवसायी मैत्री कानुन नभएकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न आफूहरु प्रतिबद्ध भएर लागिपर्ने पनि बताउनुभयो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि निजी क्षेत्रले अझै गतिका साथ काम गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो ।

प्रतिक्रिया