अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

देश निर्माणमा इन्जिनियरको भूमिका महत्वपूर्ण – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर २२ गते २:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिनुभयो । सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

“तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ । “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा सरकार प्रतिवद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।”

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “केही मानिसहरुले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौं ।” प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू