अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७८ बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:११ मा प्रकाशित

पूर्वमन्त्री एवं मानव अधिकारवादी नेता तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत् तुलाधरको आईतवार अपरान्ह कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ ।

तुलाधरलाई मस्तिष्कघात भएपछि कार्तिक ६ गते शुक्रबार अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिसका लागि अन्नपूर्ण न्यूरो अस्पतालबाट कार्तिक १३ गते बेलुकी नर्भिक अस्पतालको आइसियूमा सारिएको थियो । नर्भिकमा तीनपटक डायलाइसिस लगायतको अन्य समस्याको उपचारपश्चात् पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नभएपछि केही दिन अघि भेन्टीलेटरमा राखिएको थियो ।

तत्कालीन कम्युनिस्ट पार्टीहरुले समर्थनमा जनपक्षिय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत रहनुभएका तरलाधर प्रखर वक्ताका रुपमा परिचित हुनुहुन्थ्यो । बहुदल आएपछि तुलाधर वि.सं २०४८ र २०५१ मा गरी दुईपटक सांसद बन्नुभएको थियो । उहाँ २०५१ सालमा तत्कालीन एमाले नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

तुलाधरको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका रहेको छ । तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू