अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

अमेरिकाको टेक्सस पनि प्रकोप घोषणा

बिआरटीनेपाल २०७५ भदौ ३० गते १४:४४ मा प्रकाशित

टेक्सस, संयुक्त राज्य अमेरिकी राज्य टेक्ससमा पनि प्रकोपको घोषणा गरिएको छ । उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ । यसले गर्दा यहाँका दर्जनौँ काउन्टीमा प्रभाव पारेको छ । यस राज्यका गभर्नर जर्ज अबोटले राज्यका ७८ काउन्टीमा प्रकोप रहेको भन्दै ती राज्यलाई प्रकोप प्रभावित घोषणा गर्नुभएको छ ।

ती राज्यमा आँधीको पनि सम्भावना रहेको बताइएको छ । त्यसैले सतर्कता अपनाउन भनिएको छ । गभर्नर अबोटले ती प्रभावित काउन्टीहरुमा सहायताका लागि अधिकारीहरू खटाउने तयारी गरिएको बताउनुभएको छ । अहिले नै निकै नै ठुलो सङ्ख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रहरूमा अझ आँधी आउने सम्भावना देखिएकोले प्रकोप प्रभावित क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो ।

आँधीको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ । ती क्षेत्रका नागरिकलाई सतर्कतासाथ बस्न भनिएको छ । अमेरिकाका अरू पनि केही राज्यमा आँधीको सम्भावना रहेको सूचना शुक्रवार नै जारी गरिएको थियो ।

गत वर्षको अगष्तमा पनि यस राज्यमा आएको आँधीले ठुलो क्षति पु¥याएको थियो । अहिले पनि शुक्रवार र शनिवार आँधीको पनि सम्भावना रहेको मौसमसम्बन्धी अधिकारीहरूले जनाएका छन् । टेक्ससमा गत वर्ष आएको आँधी ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आएको बताइएको थियो । यस वर्ष पनि ती स्थानमा यस्तै आँधीको त्रास रहेको बताइएको छ ।

अमेरिका पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको यस शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भइसकेको छ । कतिपय सञ्चार माध्यमहरूले भने मृत्यु हुनेहरूको सङ्ख्या चार भन्दा बढी भएको समाचार संप्रेषण गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।

नर्थ क्याराेिलनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एक जना बच्चाको मृत्यु भएको छ । ती बच्चाका बुवा भने घाइते भएका र उपचारका लागि अस्पताल पुयाइएको अधिकारीहरूले जनाएका छन् । अन्य दुई जनाको पनि अर्कै ठाउँमा मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका समाचारमा जनाइएको छ ।

नर्थ क्यारोलिनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ आयोजित पत्रकार सम्मेलनमा अरू पनि कयौँको मृत्युको खबरहरू आइरहे पनि पुष्टि हुन भने बाँकी रहेको जानकारी दिनुभयो । घटनास्थलमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेको पनि उहाँले बताउनुभयो । मौसम अधिकारीहरूले हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरूका अनुसार कतिपय ठाउँमा ठुलो वर्षासमेत भइरहेको छ।

आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने १७ लाखभन्दा धेरै मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान स्थानीय सरकारले आह्वान गरेको छ । विस्थापित भएकाहरूका लागि १५७ ओटा आश्रयस्थलहरु बनाइएको छ । आँधी आएपछि सात लाख ६० हजार भन्दा बढी मानिसहरू विद्युत् सेवाबाट वञ्चित भएको र सेवा सुचारु हुन केही दिन लाग्न सक्ने सरकारी अधिकारीहरूको भनाई छ । रा स स फोटो: गुगल 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू