अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

कर बृद्धिको विरुद्धमा पोखरामा प्रर्दशन

बिआरटीनेपाल २०७५ भदौ २९ गते १०:०७ मा प्रकाशित

पहिचान, अधिकार र स्वाभिमानका लागि आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले कर बृद्धि विरुद्ध पोखरामा बृहत जनप्रर्दशन गरेको छ । पोखरा चिप्लेढुंगा मानवअधिकारचोकबाट शुरु भएको कर बृद्धि विरुद्धको र्याली विपीचोक, न्युरोड हुदै पोखरा महानगरपालिकामा पुगी ज्ञापनपत्र पेश गरिएको थियो ।

संघर्ष समितिकी संयोजक कर्म तमुले कर बृद्धि तुरुन्त खारेज गर्न माग गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा जनतालाई जबरजस्त कर लादेर जननिर्वाचित प्रतिनीधि नेताहरु तलब, भत्ता, सेवा सुविधा र भ्रमणमा रमाईरहेको आरोप लगाउदै जननिर्वाचितहरुलाई तलब भत्ता छोड, कर फ्रि पोखरा महनगरपालिका बनाउ भन्ने माग गरिएको छ । बृद्धि गरेको कर र शुल्क तुरुन्त खारेज नगरे संघर्ष समितिले अवज्ञा आन्दोलन शुरु गरिने चेतावनी समेत दिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिसीले करका बारेमा महानगरले समिति गठन गरी के कसो भएको बुझ्ने कार्य भएको रहेको भन्दै ज्ञापनपत्रका बारेमा आफु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले बृद्धि गरिएको कर तत्काल खारेज गर्न माग गर्नुहुदै जनतालाई आहात होइन राहत महसुस गराउन स्थानिय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयो।

रेडलाइट बनाउने समृद्धि आवश्यक छैन

पोखरा महानगरपालिका अगाडि भएको कर बृद्धि विरोध सभामा तमुवान—मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुले जनतामारा कर बृद्धि खारेज नगरे जनताले फ्रान्सेली क्रान्ति गर्ने चेतावनी दिनुभयो । रेडलाइट क्षेत्र बनाउने समृद्धि पोखरेलीले नचाहेको भन्दै उहाँले प्रदेश मुख्य मन्त्रीको अभिव्यक्तिको चर्को आलोचना गर्नुभयो ।

पोखरा उद्योग बाणिज्य संघको आन्दोलनमा ऐक्यवद्धता

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बृद्धि गरिएको कर तिर्न जनता सक्षम नभएकाले महानगरपालिकाले तत्काल खारेज गर्नुपर्नेमा जोड दिनुभयो । साथै वहाँले कर बृद्धि विरुद्धको आन्दोलनमा पोखरेली उद्योग व्यवसायीहरुको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया