अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

कोसोभोका नागरिकद्धारा सडकमा प्रदर्शन – सर्बियाली राष्ट्रपतिको बाटो छेकियो

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:३० मा प्रकाशित

कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अवरोध सिर्जना गरेका छन् । यस कार्यले परस्पर बिरोधी दुई बाल्कन समुदायबीच यसले तनाब सिर्जना गर्ने सम्भावना बढेको विष्लेषण गर्न थालिएको छ । दुई दिने भ्रमणमा सर्बिया जानुभएका राष्ट्रपति अलेक्सान्डर भुसिकले सर्बियाली नागरिक बसोबास गर्ने सेन्ट्रल कोसोभोमा आइतबार भ्रमण गर्ने कार्यक्रम थियो । तर राष्ट्रपति हिँड्ने सडकमा अल्बानियलीहरुले काठका मुडा, ट्रक र ठुल्ठूला मेसिनहरु तेर्साएका थिए ।

भुसिक र उनको टोलीलाई ड्रेनिका क्षेत्रमा पुगेपछि कोसोभो प्रहरीले रोक्दै सुरक्षाको कारण देखाएर अघि बढ्न दिइएको थिएन । यसैवीच, कोसोभोका प्रधानमन्त्री रामुश हाराडिनाजले ड्रेनिका क्षेत्रमा सर्बियाली राष्ट्रपतिको प्रस्तावित भ्रमणका बारेमा विदेश मन्त्रालयले दिएको अनुमति रद्द गरेको जानकारी दिनुभएको छ ।

यसअघि, कोसोभोको स्वतन्त्रताका लागि सन् १९९८–९९ मा भिषण युद्ध भएको थियो । नेटोको हस्तक्षेपपछि मात्र उक्त द्वन्द्व समाप्त भएको थियो । यही हस्तक्षेपका कारण कोसोभोबाट सर्बिया पछि हटेको थियो । कोसोभोलाई एकपक्षीय रुपमा सन् २००८ मा स्वतन्त्र राष्ट्र घोषणा गरिएको थियो र सर्बियाले अझै पनि कोसोभोलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन । यो घटनाले सर्बियालीहरुलाई कोसोभामा स्थानीयबासी स्वागत गर्न तयार नरहेको सङ्केत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू