अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

इरानका राष्ट्रपतिसँग भेट्न ट्रम्प तयार

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार हुनुभएको छ ।

सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न तयार रहेको कुरा सोमबार जानकारी दिनुभएको हो ।

हाल अमेरिका भ्रमणमा रहनुभएका इटालीका प्रधानमन्त्री गुसेप कोन्तेसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा उहाँले तपाइँ इरानका नेतासँग भेट्न चाहनुहुन्न भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पको जवाफ थियो— म जोसुकैसँग पनि भेट गर्न तयार छु किनभने मलाई भेटघाटमा विश्वास छ ।

उहाँले उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र नेटोका नेताहरुसँगका उच्चस्तरीय बैठकको स्मरण गर्दै भन्नुभयो— यी केही महत्वपूर्ण बैठकहरुले राम्रो परिणाम निकालेको थियो ।

पक्कै पनि म इरानका नेताहरुसँग भेट्ने छु यदि तिनीहरु भेटघाट गर्न इच्छुक छन् भने, तर मलाई लाग्छ उनीहरु भेटघाट गर्न अहिले नै तयार भने छैनन्— राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

उहाँको भनाई थियो— मैले इरानसँगको आणविक सम्झौता खारेज गरिदिएको थिएँ जुन अत्यन्तै हास्यास्पद सम्झौता थियो । त्यहीकारण मलाई लाग्छ सायद उनीहरु हामीसँग अहिल्यै वार्ताका लागि त्यति इच्छुक छैनन् र यदि छन् भने पनि म कुनै पनि समय भेटघाट गर्न तयार छु ।

यदि उनीहरु मसँग भेटवार्ता गर्न चाहान्छन् भने म उनीहरुको लागि, देशको लागि तथा हामी सबैको राम्रोको लागि भेटवार्ता गर्न चाहेको छु, राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

सन् २०१५ मा भएको इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट गत मे महिनामा ट्रम्प प्रशासन पछि हटेको थियो । सन् २०१५ मा जर्मनी सहित संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रहरु संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस एवं इरानबीच आणविक सम्झौतामा भियनामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा इरानले आणविक कृयाकलापहरुलाई सीमित गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई इरान भ्रमण गराउने भनिएको थियो । यो सम्झौता अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग विश्वका शक्ति राष्ट्रहरुसमेत राखी यो सम्झौता गराउनुभएको थियो ।

ट्रम्प प्रशासनले सम्झौताबाट बाहिरिने घोषणा गरेयता इरान र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ । इरानले अमेरिकाको उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिकाले स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू