अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

के गर्दै छन् दरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारी श्रुतीका छोरीहरू ?

दैनिक नेपाल २०७४ चैत २६ गते २३:३० मा प्रकाशित

काठमाडौँ, दरबारको शान, सौकत र शासन त्यसै दिन ढलेको थियो, जुन दिन कहालीलाग्दो दरबार हत्याकाण्ड भयो । गीत बदलियो, रीत बदलियो । विगत परिमार्जित भएर वर्तमान फरक देखियो । सबै कुरा परिवर्तन नै थियो । हिजोको मामाघर आजको संग्राहलय बन्यो । तर, मन बदलिएन । देश र आमा उस्तै हुन् । जति आमाको माया हुन्छ, त्यति देशको माया हुन्छ । त्यसैले होला स्व. अधिराजकुमारी श्रुति शाह राणाका छोरीहरू बारम्बार सम्झिरहन्छन् आमा र देश ।

‘सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली’, गणतन्त्र नेपालले उत्पादन गरेको राष्ट्रगानसहित उनीहरूले सम्झिने गरेका छन्, आमा श्रुति । नारायणहिटी राजदरबारबाट संग्राहलय बनेपनि त्यसभित्रका सम्झनाहरू ताजै छन् जहाँ १९ जेठ, २०५८ मा हत्याकाण्ड भयो र उनीहरूले गुमाए मावलीका हजुरबुवा तत्कालीन राजा वीरेन्द्रदेखि हजुरआमा ऐश्वर्य, आमा श्रुती मामाहरू दिपेन्द्र, निराजनलगायत अन्य नातेदार ।

वंश नाश भएको बेला पुरै देश शोकमा डुबेको थियो । वीरेन्द्रको वंश विनाससँगै नेपालमा राजतन्त्रको पनि पतनका दिन सुरु भइसकेको सङ्केत देखिएको थियो । पुनः राजाका रूपमा ज्ञानेन्द्रले गद्दी सम्हाले पनि मुलुकको राजनीतिक परिवेशको आँधी बेहरीले दरबारलाई संग्राहलयमा परिणत गरिदियो । त्यही संग्राहलयमा घरी–घरी झुल्किने गरेका छन् बाल्यकालमा नै गुमाएकी आमादेखि मावलीको सम्झनाका लागि गिर्वाणी र सुरङ्गना राणा । छोरीले पनि समान अधिकार पाएको देशमा धेरैले राजा वीरेन्द्रको वंश नाश भएको कथा सुनाउँछन् । केही समयअघि देखा परेका दुवै छोरी हुर्किएका छन् ।

दरबार गयो, शाही सौखहरू कमजोर बन्दै गए तर संस्मरण ताजा नै रहिरहेको छ भन्ने उनीहरूले साबित गरिदिएका थिए । बाबु गोरख शम्शेर राणासँग नारायणहिटीमा केही समय अघि झुल्किएका श्रुतिका छोरीहरू अहिले के गर्दै छन् ?

श्रुतिको हत्या हुँदा गीर्वाणी राणा तीन र सुरङ्ना दुई वर्षकी मात्र थिइन् । अहिले गीर्वाणी २० र सुरङ्गना १९ वर्षका पुगे । यसअघि गिर्वाणी १४ वर्षको उमेरकी हुँदा मावलीको तस्बिर हेर्नका लागि आर्ट काउन्सिलमा पुगेकी थिइन् । त्यहाँ उनी पुरै तस्बिर हेर्न नसकेर भक्कानिएर रोएकी थिइन् । २०६९ सालमा आमाको फोटो हेरेर गीर्वाणीको आँखाबाट आँसु बग्दै गरेको फोटो फेसबुकमा भाइरल भएको थियो । शाही चिकित्सक खगेन्द्र श्रेष्ठले खिचेका पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरख शम्शेरसितै त्यस बेला पनि उनी गएकी थिइन् ।

दिवङ्गत श्रृति शाहको परिवार

कजन सिस्टर ब्रदर (पारसकी छोरीहरू र छोरा)सँग उनी पुनः नारायणहिटी पुगेका थिए । नारायणहिटीको गेटमा राखिएको दिवङ्गत राजपरिवारको फोटोमुनि मैनबत्ती बाले, पुष्पगुच्छा चढाएर उनीहरूले नयाँ र पुरानो राष्ट्रिय गानसमेत गाएका थिए । दुई महिनापछि फेरि आउँदै छ स्मृति दिवस । ‘हरेक स्मृति दिवसमा आमालगायत मामाघरका सबै सदस्यलाई श्रद्धाञ्जली दिने गरेका छन् ।’, दरबारका सहयोगीहरू भन्छन्,‘अध्ययन गरिरहे पनि आमाको माया र आफन्तको प्रेम भुलेका छैनन् ।’

पिता गोरख शम्शेर स्टान्डर्ड चार्टर्ड बैङ्कको एक्जेक्युटिभ कमिटीमा कमर्सियल बैङ्किङ एन्ड इन्टरनेसनल कर्पोरेट्सका हेड छन् । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको भाइकी छोरीसँग बिहे गरेका थिए । सौतिनी आमाका तर्फबाट गीर्वाणी र सुरङगनाकी एक बहिनी पनि छिन् ।

गीर्वाणी र सुरङ्गनालाई पिता गोरखले भारतको सिमलामा अध्ययनका लागि पठाएका थिए । उनीहरू कहिलेकाहीँ भने बिदा मनाउन काठमाडौँ आउने गर्छन् । ‘उच्च शिक्षाका लागि बाहिर नै रहेका छन् । त्यस कारण पनि सार्वजनिक कार्यक्रममा सम्पर्कमा देखिने गरेका छैनन् ।’, पारिवारिक स्रोतले भन्यो ।

उति सारो सार्वजनिक कार्यक्रममा नदेखिने उनीहरू मिडिया र सामाजिक सञ्जाल भन्दा अलिक टाढा नै छन् । बिस्तारै आफ्नो जीवनको उचाइका लागि उनीहरूले अध्ययनलाई ध्यान दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दरबारिया परिवारभित्रका भए पनि सरल देखिन्छन् ।

आम साधारण सरह तस्बिर खिच्ने, परिआएको रीतलाई पनि पुरा गर्ने संस्कार श्रुतिका छोरीहरूमा भेटिन्छ । त्यसैले जोर्डनकी रानी नूरले भने जस्तै राजपरिवारका यी किशोरी अवशेषहरू पनि राजपरिवारको सदस्य भएर शक्तिको वरिपरि भन्दा पनि शान्तिपूर्ण समूहमा बस्न रूचाएका छन् । यिनलाई रानीका सन्तान भन्ने कत्ति पनि लागेको छैन । त्यसैले मिडिया भन्दा पनि टाढै छन् ।

दैनिक नेपालबाट

सम्बन्धित सामग्रीहरू