अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

रमेश खरेल लगायतका पूर्वप्रहरीमाथि कारबाही

दैनिक नेपाल २०७५ जेठ २१ गते २३:१८ मा प्रकाशित

काठमाडौँ, २१ जेठ । सुन तस्करी काण्डमा फसेका प्रहरीको बचाउमा बोलेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाहीको तयारी गरेका छन् ।

राज्यको सेवासुविधा लिएर सुन तस्करलार्इ टेवा पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडिआइजी रमेश खरेल र हेमन्त मल्लमाथि कारबाहीको तयारी गरेका हुन् ।

प्रहरीको आइजीपी बन्न नपाएपछि राजीनामा दिएका खरेलमाथि गृहमन्त्री झनै बढी आक्रोशित रहेको स्रोतले बतायो । सरकारलाई नै असहयोग गर्ने गरी खरेल प्रस्तुत भएको बुझाइमा गृहमन्त्री छन् ।

सुन तस्करीलाई पक्षपोषण गर्ने गरी अभियान सञ्चालन गर्नुका साथै मिडियामा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी समेत गराएका छन् ।

नेपाल प्रहरीका पूर्वएआइजी भण्डारी, पूर्व डिआइजी मल्ल र खरेलले आइतबार संयुक्त रूपमा पत्रकारहरूसँग भेट गरी सुन तस्करीको अनुसन्धान त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै गृहमन्त्री थापाले आकस्मिक रूपमा प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका हुन् । उनले सुन तस्करी छानबिन प्रभावित पुर्‍याउने गरी लबिङ गर्ने प्रहरीका पूर्व अधिकारीलाई कारबाही गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रहरीको आइजीपी बन्न नपाएपछि राजीनामा दिएका खरेलमाथि गृहमन्त्री झनै बढी आक्रोशित रहेको स्रोतले बतायो । सरकारलाई नै असहयोग गर्ने गरी खरेल प्रस्तुत भएको बुझाइमा गृहमन्त्री छन् ।

निकै असन्तुष्ट बनेका गृह मन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी पूर्वप्रहरी अधिकारीहरूको भनाइको खण्डन गर्दै उनीहरूलाई सचेत समेत गराएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीबाट जारी विज्ञप्तिमा सुन तस्करीको सङ्गठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारबाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत चलखेल भइरहेको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ -‘अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय सम्वेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । केही जिम्मेवार व्यक्तिहरूको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ सरकार सचेत छ।’

गृह मन्त्रालयले सुन तस्करीको अनुसन्धान कुनै व्यक्ति र पदाधिकारीतर्फ लक्षित नरहेको र तथ्य प्रमाणका आधारमा अनुसन्धान अघि बढिरहेको पनि स्पष्ट पारेको छ ।

एआइजी भण्डारी, डिआइजी खरेल र मल्लले सुन प्रकरणमा मुछिएका तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सही बालकृष्ण सन्जेल निर्दोष रहेको दाबी गरेका थिए।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति:

सम्बन्धित सामग्रीहरू