अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

एसिड आक्रमण गर्नेलाई सरकारले गर्‍यो कडा सजायको व्यवस्था

दैनिक नेपाल २०७७ असोज ९ गते ९:५१ मा प्रकाशित

२० वर्ष कैद र रु. १० लाख जरिवाना, एक दिन पनि सजाय मिनाहा वा माफी नहुने

काठमाडौँ, ९ असोज । समाजमा एसिड आक्रमणको जघन्य आपराधिक घटना बढ्दै गएपछि सरकारले अध्यादेशमार्फत कडा सजायको व्यवस्था गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको छ । राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउने छ ।

सरकारले फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्‍याउने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना निर्धारण गरेको छ ।

यो सजाय एक दिन पनि माफी–मिनाहा नहुने र पुरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ । तेजाब आक्रमणका दोषीलाई कारबाही, पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्ने प्रावधान समेटेर फौजदारी अपराध संहिताका दफा संशोधन गरिएको सरकारले जनाएको छ ।

आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्ग मा भएको क्षतिअनुसार १० देखि २० वा पुरै २० वर्षको कैद सजायको व्यवस्था नयाँ कानुनमा गरिएको छ । एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि ‘तेजाब आक्रमण गरी अङ्गभङ्ग गर्ने उद्योग’मा मुद्दा चलाउन सकिने तथा कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।