अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

एनआएनए आइडी कार्ड तयार

बिआरटिनेपाल संवाददाता, न्यु योर्क २०७४ चैत २६ गते १०:२१ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले न्यू योर्क च्याप्टर अध्यक्ष र न्यू जर्सी च्याप्टर अध्यक्षलाई एनआरएन कार्ड हस्तान्तरण गरेका छन् ।

एनआरएन न्यू योर्क च्याप्टरले आइतबार गरेको एनआरएन आइडी कार्ड र हेल्प डेस्क अन्तरक्रिया कार्यक्रममा हालै छापिएका ती कार्ड हस्तान्तरण गरिएको हो । एनआरएनका सदस्यले ती कार्ड केही दिनभित्र पाउने छन् ।

एनआरएनए आइडी कार्ड कमिटीका अध्यक्ष गोपेन्द्र भट्टराईले एनआरएनए आइडी कार्ड विशेष कार्ड भएको बताए । ‘विश्वभर रहेका एनआरएन सदस्यलाई दिइने आइडी कार्ड उस्तै हुन्छ,’ उनले भने, ‘एआरएन समुदायको हिस्सा बनाउने यो कार्ड डिस्काउन्ट कार्ड पनि हो ।’
एनआरएन कार्डवाहकलाई किनमेलमा छुट दिन २९ वटा व्यापारिक संस्थासँग समझदारी भइसकेको छ । कार्यक्रमका प्रमुख अतिथि उप महावाणिज्यदूत पुष्पराज भट्टराईले एनआरएन आइडी कार्ड आवश्यक भएको बताए । उनले नेपाल सरकारले एनआरएनकै अनुरोधमा एनआरएन आइडी कार्ड बनाए पनि ज्यादै कमले मात्र उक्त आइडी कार्ड लिएको बताए । ‘न्यू योर्कमा महावाणिज्य दूतावास खुलेको ३ वर्ष भयो, सरकारले जारी गरेको एनआरएन आइडी कार्ड ३ सयले पनि लिनु भएको छैन,’ उनले भने, ‘एनआरएनकै अनुरोधमा सरकारले आइडी कार्ड वितरण सुरु गरेको हो ।’

उनले नेपाल सरकारले जारी गरेको एनआरएन आइडी कार्ड लिन पनि आग्रह गरे । सरकारले दुई प्रकारको एनआरएन आइडी कार्ड जारी गर्छ । पहिलो, विदेशमा रहेका नेपाली नागरिकले ७० अमेरिकी डलरमा २ वर्षको आइडी पाउँछन् । दोस्रो, नेपाली मूलका विदेशी नागरिकले ५ सय ६५ अमेरिकी डलरमा १० वर्षका एनआरएन आइडी कार्ड पाउँछन् । दुवै एनआरएन आइडी कार्ड नवीकरण गर्न मिल्छ ।

एनआरएन आइडी कार्ड भएका नेपाली मूलका विदेशी नागरिकले नेपाल जाँदा र बस्दा भिसा लिनु पर्दैन । साथै, उनीहरूले नेपालमा लगानी गरेको प्रमाणपत्र र नाफा सजिलै फर्काउन दिन्छ ।

उप महावाणिज्यदूत भट्टराईले एनआरएनले सुरु गरेको हेल्प डेस्क आवश्यक र सह्रनिय काम भएको बताए । यसबाट उनले समस्यामा परेका नेपाली नागरिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित सामग्रीहरू