अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

न्यु योर्कमा चौथो नेपाल डे परेड सम्पन्न

बिआरटिनेपाल संवाददाता, न्यु योर्क २०७६ जेठ ७ गते १०:०८ मा प्रकाशित

नेपाल चिनाउन आयोजना गरिएको नेपाल डे परेड न्यु योर्कमा आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । 

परेड म्यानह्याटनको म्याडिसन एभिन्यु ३८ स्ट्रिटबाट सुरु भएर २७ स्ट्रिटमा टुङिगएको थियो । परेड आयोजना गर्न ३ घण्टा सडक बन्द गरिएको थियो । परेडमा नेपाल मौलिक बाजागाजा, झाँकी, नृत्य र मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

बुद्ध जन्मस्थल, सगरमाथा र विविध जातीय, सांस्कृतिक र धार्मिक सम्पदायुक्त मुलुकका रूपमा नेपाललाई चिनाउन न्युयोर्कमा सन् २०१६ रूपमा नेपाल डे परेड कार्यक्रम आयोजना हुँदै आएको छ । बुद्ध जयन्ती, गणतन्त्र दिवस र एभरेस्ट डेको अवसरमा हुँदै आएको छ । परेडमा न्यु योर्क, न्यु जर्सी, कनेटिकेट लगायतका राज्यमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति थियो ।

नेपाल डे परेड संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राईले उद्घाटन गरेका थिए । परेडमा नेपाली महाबाणिज्यदुत पुष्पराज भट्टराई, बाणिज्यदुत कृषु क्षेत्री, काउन्सीलमेन कोष्टा कोष्टनटिनिडेस, बौद्ध धर्म गुरु अवतारी लामा टुल्कु, लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङ दावा शेर्पा लगायत अतिथिका रूपमा उपस्थिति थिए ।

परेडमा शेर्पा सङ्घले स्वयम्भू चैत्यसँगै बौद्ध धर्म गुरुहरूको धार्मिक बाजागाजा प्रस्तुत गरेको थियो । रिज्युउड नेपाली सोसाइटीले पण्डितहरूको भजनकिर्तन, गुरुङ समुदायको सांस्कृतिक वाद्यवादन र तमु मौलिक नृत्य, तामाङ समाज अमेरिकाको तामाङ सेलो, शेर्पा समुदायको सिली र सेबु्र नृत्य आदि प्रस्तुत गरिएको थियो ।

नेपाल डे परेडमा आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) आबद्ध सङ्घ संस्था उपस्थित थिएन । फिप्नाले नेपाल डे परेडमा उपस्थित नहुन आफ्ना सदस्य सङ्घ संस्थालाई आग्रह गरेको थियो । नेपाल डे परेडको विरोध नगरे पनि फिप्नाले सन् २०१६ र सन् २०१७ मा आफ्नो ब्यानर र खाता प्रयोग गरी आयोजना गरेको नेपाल डे परेडको हिसाब किताब आयोजकले नबुझाएको र त्यसको लेखा परीक्षण गर्न नपाउँदा संस्था नै सङ्कटमा पर्ने अवस्थामा पुगेको फिप्नाको भनाइ छ ।

कार्यक्रममा महाबाणिज्यदुत पुष्पराज भट्टराई, एनआरएनएका पूर्व अध्यक्ष खगेन्द्र क्षेत्री, जन सम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदी लगायतले नेपाल डे परेडको महत्त्वको बारेमा मन्तव्य दिएका थिए । 

फोटो स्रोत: फेसबुक