अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

अमेरिका नआउन भनेपछि अमेरिकी उपराष्ट्रपति विवादमा

बिआरटिनेपाल संवाददाता, न्यु योर्क २०७८ जेठ २७ गते ६:४१ मा प्रकाशित

अमेरिका नआउन भनेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस विवादमा तानिएकी छन् । आप्रवासन निरुत्साहित गरेको भन्दै आफ्नै पार्टीका विधायकहरूले उनी विरुद्ध विज्ञप्ति जारी गरेका छन् ।

क्यालिफोर्नियाका ल्याटिनो विधायकहरूको समूह क्यालिफोर्निया ल्याटिनो लेजिस्लेटिभ कयाकसले बुधवार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति ह्यारिसको विरोध गरेको हो । ‘विगतको दृष्टान्त मध्यनजर गर्दै हामीले राम्रो जीवनकालागि शरण खोज्नेलाई निरुत्साहित गर्नुहुँदैन,’ ल्याटिनो क्याकसको विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरूले आफ्नो अस्तित्व रक्षा गर्न जे गर्नु पर्ने हो त्यही गरेका छन् ।’

ल्याटिनो क्याकसले बाइडेन–ह्यारिस प्रशासन र कंग्रेसलाई अमेरिकामा शरण खोज्नेलाई नैतिक र कानुनी आधारमा प्रक्रिया सुरु गरी यो देशको आप्रवासन प्रणालीको वृहद र पूर्ण सुधार गर्न आग्रह समेत गरेका छन् ।

उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालामा त्यहाँका राष्ट्रपति अलेहान्द्रो जियाममटिसँगको संयुक्त पत्रकार सम्मेलनमा ‘हिँडेर अमेरिका नआउन’ भनेकी थिइन् । उनले आफ्नो ध्यान सामूहिक आप्रवासनको ‘मूल कारण’ सम्बोधन गर्न केन्द्रित रहेको बताएकी थिइन् ।

‘अमेरिका–मेक्सिको सीमाबाट हिँडेर जोखिमपूर्ण तरिकाले अमेरिका नआउनु होला, ’उनले भनेकी थिइन्, ‘अमेरिकाले आफ्नो सीमा सुरक्षाका लागि कानुनको पालना गर्छ । आप्रवासनको वैधानिक उपाय छ । हामी अवैधानिक आप्रवासनको विरुद्ध छौँ र सीमा क्षेत्रबाट प्रवेश गर्न खोज्नेलाई फर्काइने छ भन्ने मेरो विश्वास छ ।’

लगत्तै न्यु योर्कका ल्याटिनो विधायक एलेक्जेड्रिया ओकाजियो–कोर्टेजले ह्यारिसको अभिव्यक्ति ‘निराशाजनक’ भएको टिप्पणी गरिन् । उनले सोमबार ट्वीटरमा अमेरिकाको जुनसुकै सीमा क्षेत्रमा आएर शरण खोजे पनि हुने र त्यो शत प्रतिशत कानुनी हुने उल्लेख समेत गरिन् । ह्यारिसको अभिव्यक्ति निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिको झल्को दिने खालको भएको भन्दै सञ्चार माध्यमहरुमा टिप्पणी गरिएको छ ।

कडा विरोधका बाबजुद उपराष्ट्रपति ह्यारिसको कार्यालयले सीमा क्षेत्रबाट हिँडेर अमेरिका प्रवेश नगर्न आप्रवासीलाई सम्झाउनु पर्नेमा जोड दिएको छ । ‘मेक्सिको–अमेरिका सीमाबाट जोखिमपूर्ण तरिकाले यात्रा गरी अमेरिका प्रवेश गर्न निरुत्साहित गर्नुपर्छ भन्नेमा राष्ट्रपति र उपराष्ट्रपति दुवै प्रस्ट हुनुहुन्छ,’ ह्यारिसकी प्रवक्ता साइमन स्याण्डर्सको विज्ञप्तिमा उल्लेख छ, ‘हामी वैधानिक रूपमा अमेरिका आउन र आफ्नो देशमा अमेरिका आप्रवासनको वैधानिक विकल्प खोज्न प्रोत्साहन गर्छौँ ।’

युस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले २०२१ को मे महिनामा मात्र सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्ने १ लाख ८० हजार ३४ अवैध आप्रवासी ‘इन्काउन्टर’ मा परेको बुधवार खुलासा गरेको छ ।