अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

रुसी कूटनीतिज्ञ अमेरिकाबाट स्वदेश प्रस्थान

बिआरटीनेपाल २०७४ चैत १८ गते २०:४९ मा प्रकाशित

वासिङ्टन, (एएफपी): एक जना ब्रिटिस गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ प्रयोग गरेर हत्या प्रयास गरेको भन्ने आरोपमा अमेरिकाले देश निकालाको आदेश दिएका अमेरिकास्थित रुसी कूटनीतिज्ञहरूले वासिङ्टन छोडेको समाचार छ । उनीहरू शनिवार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रुसी कूटनीतिज्ञहरू आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।

अमेरिका सरकारले ६० जना कूटनीतिज्ञलाई देश छोड्न भनेको थियो । उनीहरू दुईवटा विमानबाट मस्को जाने कार्यक्रम रहेको रुसी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाबाट रुसी कूटनीतिज्ञहरू फर्किँदै गर्दा यता रुसको सेन्ट् पिटस्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय पनि बन्द गर्ने रुसी सरकारको निर्देशन आएको छ । शनिवार नै त्यहाँबाट अमेरिकी झन्डा हटाइएको समाचार पनि रुसी अधिकारीहरूले नै दिएका छन् । 

रुस सरकारले पनि करिब ६० जना अमेरिकी कूटनीतिज्ञलाई आफ्नो देशबाट निकालिने जनाएको छ । यसको जानकारी उसले यसअघि नै दिएको हो । उता शनिवारै रुसी विदेश मन्त्रालयले मस्कोस्थित ब्रिटिस राजदूतलाई बोलाएर त्यहाँबाट ब्रिटिस कूटनीतिज्ञहरू पनि हटाउन लागेको जानकारी दिएको थियो । बेलायतले रुसी कूटनीतिज्ञहरू हटाएकोले सोही सरह नै आफूहरूले पनि हटाउन खोजेको जानकारी विदेश मन्त्रालयले दिएको बताइएको छ । तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरूलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् । त्यसै गरी अरू केही युरोपेली र पश्चिमा मुलुकहरूले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरूलाई हटाइरहेकोले आफूहरूले पनि सोही बमोजिम नै कामगर्ने रुसको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू