अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

प्रदेश सांसद पन्थीद्वारा क्याम्पसलाई रु १५ लाख सहयोग

रासस, काठमाडौँ २०७४ माघ २७ गते २०:५४ मा प्रकाशित

जितपुर, कपिलवस्तु, प्रदेश नं ५ कपिलवस्तुका सांसद विष्णु पन्थीले यहाँको एक क्याम्पसलाई शनिवार रु १५ लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।

वाणगंगा–४ बुंची सिद्धार्थ क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले जारी महायज्ञको दोस्रो दिन सांसद पन्थीले रु १५ लाख १५ हजार सहयोग गर्नुभएको हो । सांसद पन्थीले क्याम्पसको स्तरोन्नतिका साथै आजको युगमा प्राविधिक शिक्षाको अनिवार्य आवश्यता भएको हुँदा प्राविधिक शिक्षाका लागि आफूले सहयोग गरेको बताउनुभयो ।

कपिलवस्तु क्षेत्र नं १ (क) बाट भारी मतले प्रदेश सांसदमा विजयी हुनुभएका पन्थी नेकपा एमालेका प्रभावशाली नेताको रूपमा चिनिनुहुन्छ । प्राविधिक शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई घटाउँदै पशु र बाली विज्ञान विषयको अध्यापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष रविबहादुर काफ्लेले जानकारी दिनुभयो ।

यही माघ २६ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह धनधान्याचल ज्ञान महायज्ञको दोस्रो दिन रु १७ लाख ६ हजार ४०० रकम दान सङ्कलन भएको महायज्ञ प्रचारप्रसार संयोजक युवराज पोख्रेलले बताउनुभयो ।
त्यसै गरी, कमला भट्टराईले रु एक लाख ११ हजार १११, लालमणि न्यौपानले रु ५० हजार १५१, विष्णुप्रसाद भट्टराईले रु २५ हजार ५५५ र हरिहरपुर गाउँ समाजबाट रु ११ हजार १३५ दान सङ्कलन भएको छ ।

महायज्ञको प्रमुख वाचक दीनबन्धु पोखरेल हुनुहुन्छ । पोखरेल नेपालकै चर्चित कथावाचक भएको कारण हजारौँ दशनार्थीको उपस्थिति रहेकोे आयोजकले जनाएको छ । महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित सामग्रीहरू