अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

भारत र चीनलाई पछाडि पार्दैं नेपाल ‘समावेशी विकास सूचकांक’को २२ औं स्थानमा

बिआरटीनेपाल २०७४ माघ १० गते १९:२२ मा प्रकाशित

नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

वल्र्ड इकोनोमिक फोरमले फोरमले वर्षैपिच्छे विश्वका १ सय ३ देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ वटा उदीयमान अर्थतन्त्र भएका देश छन् । नेपालले उदीयमान अर्थतन्त्र भएका ७४ देशको सूचकांकमा २२ औं स्थान हासिल गरेको हो । सूचकांकमा नेपालले ४.१५ अंक प्राप्त गरेको छ । नेपाल गत वर्षको दाँजोमा पाँच स्थान माथि उक्लिएको हो । गत वर्ष २७ औं स्थानमा थियो ।

फोरमले तयार पार्ने यस्तो सूचकांकमा परेका देशले कूल गार्हस्थ उत्पादन (जिडिपी) उच्च बनाउन आर्थिक प्रगतिका ११ आयामअनुसार कसरी काम गरेका छन् भन्ने मिहिन विश्लेषण गरिएको हुन्छ । सूचकांकमा जति अगाडि पर्न सक्यो, देशको अर्थतन्त्रले त्यति नै धेरै प्रगति गरेको बुझिन्छ ।

सूचकांकमा नेपालले दक्षिण एसियाका अधिकांश मुलुकलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । बंगलादेश ३४, श्रीलंका ४० र पाकिस्तान ४७ औं स्थानमा परेका छन् । यसमा भारतले ६२ औं तथा शक्तिशाली अर्थतन्त्रका रूपमा उदाएको चीन २६ औं स्थानमा आएको छ ।

त्यस्तै यो उदीयमान अर्थतन्त्र सूचकांकको पहिलो स्थानमा लिथुवानिया परेको छ भने मोजाम्बिक सबैभन्दा अन्तिम स्थानमा आएको छ । परिपक्व अर्थतन्त्रको पहिलो स्थान नर्वेले ओगटेको छ ।

इकोनोमिक फोरमले समावेशी विकास सूचकांक तयार पार्दा वृद्धि र विकास, समावेशी तथा अन्तरपुस्ता समानतालाई आधार बनाउने गर्छ । फोरमका अनुसार नेपालले सूचकांकमा उल्लेख्य प्रगति गर्दै आएको छ । अन्तरपुस्ता समानता र दीगोपना सूचकमा नेपालले उल्लेख्य प्रगति गरेको छ जसले गर्दा उच्च २० प्रतिशतमा बस्न सफल भएको छ ।

पाँच वर्षको सूचकांक हेर्दा नेपालले खुद आम्दानी, गरिबी निवारण र खुद बचतमा आशालाग्दो सुधार गरेको छ भने सार्वजनिक ऋण अनुपात ६.७ प्रतिशतले घटेको, परनिर्भरता अनुपात घटेर ८.१ प्रतिशता झरेको छ । यी दुवै सूचकमा नेपालले पछिल्लो पाँच वर्षमा उल्लेख्य सुधार गरेको इकोनोमिक फोरमले जनाएको छ ।

त्यसबाहेक रोजगारी दर पनि असाध्यै न्यून (०.८ प्रतिशत) का दरले घटिरहेको छ । पाँच वर्षमा प्रतिव्यक्ति आय २.४ प्रतिशतको सामान्य दर तथा औसत आयु एक प्रतिशतमात्र बढेको छ । त्यसैगरी श्रम उत्पादकत्व ०.९ प्रतिशतले बढेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू