अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

महानगरमा एक वडा, एक पोखरी

बिआरटीनेपाल २०७४ पुष २१ गते १६:२८ मा प्रकाशित

भरतपुरलाई अब खरको छानारहित महानगर बनाइने भएको छ । महानगरले सकेसम्म यही वर्षभित्र खरका छाना निमिट्यान्न पार्ने योजना अघि सारेको छ । कति घरमा खरका छाना छन् भनेर कुल संख्या पत्ता लगाई काम सुरु गरिनेछ ।

न्यून आय भएका विपन्न र सीमान्तकृत वर्गलाई सुरक्षित बसोबासको सुनिश्चितता गर्न ‘खरका घर मुक्त महानगर’ कार्यक्रम यही वर्षदेखि लागू गर्न लागिएको मेयर रेणु दाहालले बताइन् ।

यसमा न्यूनतम सहभागिता समुदायको रहने गरी खरका घररहित महानगरपालिका बनाउने कार्यक्रम अघि सारिएको हो । महानगरपालिकाको प्रथम नगर सभामा शुक्रबार २०७४/०७५ को नीति तथा कार्यक्रम सुनाउँदै मेयर दाहालले मुख्य प्राथमिकतामा रिङरोड, सिटी हल, रंगशाला र महानगरीय पार्क रहेको बताइन् ।
‘हाम्रा बालबालिका हाम्रो भविष्य’ भन्ने मूल्य र मान्यतालाई आमत्सात गर्दै बालमैत्री शासन नीतिलाई निरन्तरता दिई २०७६ सालभित्र भरतपुरलाई बालमैत्री नगर घोषणा गर्ने योजना र कार्यक्रम तर्जुमा गरिनेछ,’ दाहालले भनिन्, ‘यसका लागि बालमैत्री वडा घोषणा अभियानलाई तीव्रता दिइने र बालमैत्री हुने वडालाई सम्मान पत्रसहित अतिरिक्त बजेट १ लाख रुपैयाँ प्रदान गरिनेछ ।’ उनले मेयर हुनसाथ भरतपुर अस्पतालमा ६० वर्ष माथिका जेष्ठ नागरिक र महिलालाई बहिरंग सेवामा नि:शुल्क टिकटको व्यवस्थाको निर्णय प्रभावकारी भएको बताइन् ।
विमानस्थललाई विस्तार गर्न सकिने सम्भावनाको तत्काल अध्ययन गरिनेछ । दीर्घकालीन रूपमा ठूला विमान सञ्चालनका लागि मेघौलीमा विमानस्थल स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि संघीय सरकारसँग समन्वय गर्दै प्रक्रिया अगाडि बढाइनेछ ।
‘सहरलाई सुन्दर बनाउन एक मार्ग एक रंग नीति अवलम्बन गरी यस कार्यलाई नक्सा पासमा आबद्ध गरिनेछ,’ दाहालले भनिन्, ‘सहरका सबै घरमा रंग लगाउन अनिवार्य गरिनेछ ।’ महानगरपालिकाको विकासका लागि करिब ९५ किलोमिटरको महानगरीय रिङरोड र पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने लिंंक रोड निर्माणको कार्य यही वर्षदेखि सुरु गरिनेछ । त्यस्तै विपन्न र सीमान्तकृत समुदायका बालबालिकाको उच्च शिक्षामा पहुँच पुर्‍याउन ‘महानगर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिनेछ । महानगरले सामुदायिक विद्यालय निर्माण गर्ने, स्तरवृद्धि गर्ने र त्यसलाई एकीकृत गर्नेछ ।
‘आफ्नो फोहोर आफ्नै घरभित्र भन्ने नाराकासाथ सहरी क्षेत्रमा कौसी र ग्रामीण क्षेत्रमा करेसाबारी खेती भनेर यसलाई प्रोत्साहन गरिनेछ । त्यस्तै महानगरमा ‘एक वडा, एक पोखरी’ निर्माण अभियान चलाइनेछ । यसले अकस्मात हुने प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न सहयोग गर्नेछ ।
आर्थिक विकासतर्फ कृषि उत्पादन र बजारीकरणलाई प्रबद्र्धन गर्न जग्गा बाँझो छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै उक्त जगामा हुने उत्पादनलाई आधार मानी क्षतिपूर्ति व्यहोर्न लगाउने नीति ल्याइने दाहालले बताइन् । मेयर दाहालले आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अर्ब ५० लाखको अनुमानित बजेट सार्वजनिक गेरकी छन् ।कान्तिपुरमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू