अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 11:50

महिला हितलाई वरबाट नियाल्दा

दीप्ति "दीप्ति" २०७४ पुष ९ गते ११:०३ मा प्रकाशित

द्रुतगतिमा बदलिँदो सामाजिक पृष्ठभूमिमा धेरै प्राबृधिक तथा जनचेतना विकासका कार्यहरू नभएका होइनन । समाज जतिसुकै विकासोन्मुख भए पनि महिला, बालबालिका तथा प्रौढ हकहितका कुरा चर्चित भए पनि यी वर्ग अझै पनि कुनै रूपमा जस्तै शारीरिक, आर्थिक, यौन, मानसिक रूपमा समाजबाट पीडित नै छन् । हुन त पुरुष वर्ग पनि महिला हिंसा बाट मुक्त छैनन् तर महिलाको तुलना तथ्याङ्कले पीडित बढी देखाउछ । वोर्ल्ड हेल्थ ओर्गनाइजेसनले ३५% विश्वभरका महिला आफ्नै पार्टनरबाट कुनै यस्ता किसिमका दुर्ब्यबहार वा हिंसाको सिकार भएको बताउंछ ।

दुर्ब्यबहार र हिंसाका कारणहरू समाजमा चेतनाको कमी, अशिक्षा, पुरुषप्रति बढी सद्भाव राख्ने पुरुष प्रधान समाज, महिलाको दर्जा चुलाचौकामा मात्र सीमित राखिने परम्परा, आर्थिक कठिनाइ, वर्ग विभाजन, प्राकृतिक प्रकोप, युद्ध इत्यादिले हुने गर्छन् । धेरै महिलाहरू स्वयम् अघि बढेर विरोध गर्न नसक्नु, पारिवारिक दबाब वा समाजबाट आलोचना खेप्नु पर्ने हुनाले पनि बाध्य छन् दुर्ब्यबहार र हिंसाको सिकार हुन ।

अहिलेको समाज धेरै हदसम्म विकसित भएतापनि महिलालाई स्वतन्त्र रुपले अघि बढ्न दिन गाह्रो मान्छ । घरबाट मद्दत पाएपनि बाहिरी समाज अझै ढुंगे युगमै छ जहाँ सम्म चेतनाको कुरा गर्दा । मान्छे सुटबुट लगाएर चिल्लो गाडीमा हिडेपनि मानसिक अवन्नतीबाट धेरै जसो ग्रस्त नै छ । हुन त नर्थ अमेरिकामा महिला वर्गलै धेरै स्वतन्त्र र हकहितका साथ बाच्ने मौका र अधिकार दिएको छ अरू देशको तुलनामा तर पनि आन्तरिक र बाहिरी हिंसा वा दुर्ब्यबहारका सिकार यहाँपनि बनिरहेका छन् महिला र बालबालिकाहरु। विकसित समाजपनि बाहिरबाट हेर्दा मनमोहक छ तर भित्री कथावस्तु बेग्लै छ ।

पेसामा लागेका पढेलेखेका, उद्यमी महिलाहरू पनि यसबाट आफूलाई जोगाएर हिड्न सकेका छैनन् । काम कार्यालयमा पनि मानसिक रूपमा वा शारीरिक रूपमा पीडित भएको बेलामौकामा सुन्न आउँदछ । सबै महिला पीडित छैनन् र केही पुरुषहरू उच्च बिचार र प्रवृत्तिका पनि छन् जो महिलालाई हातमा हात र साथमा साथ दिन्छन् । तैपनि विदेशमा पनि महिलाहरू हिंसा र दुर्ब्यबहार वा यौन शोषणका सिकार बन्ने गर्दछन् । द नेसनल डोमेस्टिक हटलाइनका अनुसार प्रत्येक मिनेट २४ जना मान्छे बलात्कृत, शारीरिक यातना वा कसैबाट थाहा नदिई पछि लाग्ने (स्टाकिंग) का सिकार बनिरहेका छन् ।

आजकल अमेरिकी न्युज च्यानलहरुमा पनि कामकाजी प्रसिद्धि कमाई सकेका, शिक्षित महिलाहरू कुनै समयमा आफू ठुलो पद सम्हालेका, सेलिब्रिटी, नेतृत्व बहन गरेका व्यक्तिबाट शारीरिक, यौन र मानसिक रूपमा पीडित भएका दाबीहरु समाचार बन्ने गरेका छन् । नारी अधिकारलाई उफार्ने देशमा त महिलाहरू सिधै अघि आएर न्याय माग गर्न सकिरहेका छैनन् भने अन्य अबिकसित मुलुकका महिलाहरूको स्थिति गार्है छ ।

यहाँका केही महिलाहरुसँग काममा मैले कुराकानी गर्दा के पाए भने आफ्नो मनपर्दो व्यक्तित्व एस्तो मुद्दामा परे उसले गरेको हैन होला आर्थिक लोभका कारण पीडित हुने नाटक गर्छन् महिलहरु भन्न पनि हिच्किचाउदैनन । केही तेस्ता केशहरु होलान् तै पनि धेरै जसो तेस्तै विश्वास गर्ने रहेछन् ।

“म भएता त्यो कुरा कम्प्लेन गरिसक्थे तर तिनीहरू चाहिँ किन बर्सौ दिन लगाएर पर्खिन्छन् तेसैले मलाई विश्वास लागेन भन्छन्’ । यही शिक्षित र विकसित समाजका महिलाले पनि महिलालाईनै दोष धेरै जसो दिएको पाइयो । केही अपबाद छन् तर यो विकसित समाजपनि विवेकशील र संवेदनशील कम लाग्दछ । तेसो त रुइकराई गरिदिइएको झूठो बक्तब्य सबै सधैँ साँचो हुन्छ भन्ने होइन तर त्यसमा सत्य कति छ भन्ने विवेक चाहिँ लगाउनने प्रयास गर्नु पर्छ । महिलाले स्वयम् महिलाको दुख बुझ्ने प्रयास र क्षमता राख्नु पर्छ । पीडितका केही कारण होलान् जसले गर्दा ऊ अघि आउन सक्दैनन् भन्ने हेक्का राख्नु पर्दछ । महिला अधिकार घरबाट सुरु हुन्छ । दिनभरि घरको काम गरी थाक्ने महिलाको पिडा र बाहिर गई काम गर्ने महिलाको पिडा पनि उत्तिकै हुन्छ त्यसैले महिला स्वयम्ले एक अर्काको सहयोगी बन्नुपर्छ र भार काम गर्न मद्दत गर्नु पर्छ । पुरुष(महिला दुवै विबेकी भए कसैले कसैलाई अपमान वा पिडा दिदैनन् । “च्यारिटी बिगीन्स एट होमु भने जस्तै” अधिकार घरबाट सुरु भएर बाहिर हुँदै फेरी आफ्नै दैलोमा फन्को मार्छ ।

(उल्लेख WHO: Intimate partner and sexual violence against women fact sheet 2017 “theHotline.org”)