अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

साहित्यकार मनु ब्राजाकिलाई सम्झिँदा

दीप्ति "दीप्ति" २०७४ माघ २१ गते ११:५९ मा प्रकाशित

सानैदेखि मैले कथाकार।गजलकार।साहित्यकार मनु ब्राजाकिज्युको नाम सुन्दै आएको थिएँ । वहाँका दुइचारवटा लेख पढेकी थिए सानैमा । वहाँको कलमी नाम र आधिकारिक नाम फरक थियो । म वहाँलाई खालि साहित्यिक नामले चिन्थेँ । वहाँको नाम ‘मनु’ भने मलाई पहिले देखिने राम्रो र फरक लाग्थ्यो । किन हो यो नाम मलाई ‘मन’ र ‘मानव’ सँग मिलेको जस्तो पहिले देखिने लाग्दथ्यो । कोलोराडो, अमेरिकामा आएर चाहिँ प्रत्यक्ष्य भेट गर्ने मौका पाएकी थिएँ अनेसास कोलोर्याडो च्याप्टर मार्फत साहित्यिक कविगोष्ठीहरुमा ।

भेट्दाखेरी मलाई वहाँको सृजनारूपी नाम र व्यक्तित्व सारै मिलेको जस्तो लाग्दथ्यो। कोमल र मिलनसार व्यक्तित्व पाएँ मलाई साहित्यकार मनुज्युलाई । मलाईपनि वहाँले मैयाँ भनेर बोलाउनु हुन्थ्यो । वहाँको हँसिलो मुहार अझै सम्झिन्छु । मलाई सधैँ लाग्थ्यो म वहाँलाई पहिले देखिनै चिन्दछु तर त्यो केवल कागजमा छापिएको तस्बिर र लेखको माध्यमद्वारा । कुरा शायद ३-४ वर्ष अघिको हो । एक दिन म काम गर्ने अस्पतालको युनिटमा मैले बिरामीको नामावलीमा एउटा चिनेको नाम देखे जस्तो लाग्यो । एक जना सहकर्मीले भने हाम्रो म एक जना नेपाली आएकाछन् ।

मैले को नेपाली हुनुहुँदो रहेछ भनेर उत्सुकता पलायो र त्यो बिरामीको कोठामा भेट्न गए । बेडमा बसेको बिरामी देख्दा छक्क परेँ । वहाँ त मनु ब्राजाकी अङ्कल हुनुहुदो रहेछ । के भयो हजुरलाई भनेर सोधेँ । वहाँलाई मस्तिष्कघात भएको रहेछ । दुख लाग्यो त्यो सुनेर । अनि मैले वहाँसँग केहिबेर भलाकुसारी गरेर बाहिर निक्लिएर अरू सहकर्मीलाई वहाँको परिचय दिएँ , वहाँ त नेपाल को ठुलो लेखक पो हो त । मलाई गर्व लाग्यो । वास्तवमा म वहाँको नर्सभएर कहिल्यै काम गरिन । यो युनिटको प्रोटोकल थियो , आफ्नो मान्छे वा चिनेको मान्छेको को ड्युटी अरुलेनै गर्थे । तर म वहाँको धेरै जसो क्रियाकलाप बुझिराक्थें साथीहरूको मार्फत ।

मेरो त्यति बेला रात्रिको ड्युटी हुन्थ्यो । बिहान लगभग साँढे ४ -५ बजेतिर वाहाँको कोठाको बत्ती झपक्क बल्थ्यो । हाम्रो नर्सिङ्ग डेस्क र वहाँको कोठा आम्नेसाम्ने थियो । वहाँ उठ्ने बित्तिकै कसैलाई बोलाउनु हुन्न थियो, तर कागजमा लेख्न सुरु गर्नु हुन्थ्यो , शायद गजल , कविता आदि । वहाँ लेख्नकालागिनै जन्मिनु भएको जस्तो लाग्थ्यो । कुनै एक समय बाथरूम /शौचालय जान मनलागेछ । म वहाँकै कोठामा अरुबेला जस्तै वहाँलाई भेट्न पुगेँ । तर वहाँ म आफै सक्छु मैयाँ भनेर बिस्तारो कोठाकै बाथरूम तिर लाग्नु भयो । तै पनि स्ट्रोक भएकोले केही कमजोरी / रिंगटा लाग्ने सम्भावना भएकोले म वहाँको पछि लागेँ वहाँ मलाई दुखदिन चाहनुहुन्नथ्यो । मेरो पनि रातभरिको ड्युटी सकिएकोले घरजाने बेला भैसकेको थियो र निन्द्रालेपनि डाँडा काटिसकेको थियो तर म वहाँसँगै पछि लागेँ । 

पछि लागेको ठिकै भएछ । वहाँको शरीर अलि हुत्तिएको जस्तो लाग्यो र मैले वहाँलाई समाई हालेँ । हुन त वहाँले ‘ मैयाँ म आफैँ हिँड्न सक्छु मलाई तिम्रो हेल्प चाहिँदैन भन्नु हुन्थ्यो । म मेरो ड्युटी सकिएर जहिले पनि वहाँको कोठामा भेट्न जान्थे । वहाँलाई केही चिज चाहिन्छ कि वा अरू मित्रहरू बाट केही केयर पुगेन कि वा मैले केही मद्दत गर्न सक्छुकी भनेर तर वहाँ केही भन्नु हुन्नथ्यो । वहाँलाई शायद धेरै कुराको सहयोग वा आवश्यकता पर्दैन जस्तो लाग्थ्यो । वहाँ केही नर्सहरूको नाम लिएर फलानाले धेरै राम्रो ‘केयर ‘ गर्‍यो भन्नु हुन्थ्यो । म धेरै वहासंग कुराकानी गर्दा मेरो ड्युटीमा झमेला होलाकी भनेर भन्नु हुन्थ्यो । मैले वहाँको मुखबाट दुख वा शिकायत सुनिन । आज वहाँ शारीरिकरुपमा त हामी माझ हुनुहुन्न तर मन र मस्तिष्कमा सधैँ हुनुहुन्छ । वहाँ ‘मनु’ बाट हाम्रो मनमा बस्नु भएको छ । साहित्यिक आकाशमा एउटा चम्किलो तारा बनेर । वहाँलाई भेटेर म धन्य भएको छु ।

प्रतिक्रिया