अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

तेह्र वर्षमा तेह्र व्यवसाय

रेष्टुरेण्टमा काम सुरु गरेका प्रकाशले तीन वर्ष त सायदै सूर्यको प्रकाश देख्न पाए

सुजन पण्डित २०७४ पुष २ गते १३:२२ मा प्रकाशित


खासै चर्चामा आउन नचाहने, कामका सन्दर्भमा बाहेक निकै कम मात्र मान्छेहरुसंग सम्पर्कमा रहेका र १३ वर्ष अघि केही सय डलर मात्र लिएर नेपालबाट अमेरिकाको कोलोराडो, डेनभर झरेका ३७ वर्षीय युवा हुन् प्रकाश सिटौला । तिनै प्रकाशको डेनभरमा अहिले ८ वटा ग्यास स्टेसन, ३ वटा लिक्वेर स्टोर र २ वटा रेष्टुरेण्ट सहित १३ वटा व्यवसाय सञ्चालनमा छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। ‘ग्लोबल नेपाली फिल्म अवार्ड’का सन्दर्भमा डेनभर गएको बेला पारेर उनकै एक रेष्टुरेण्टमा पहिलो पटक उनलाई भेट्दा ती सबै व्यवसायका ‘अनर’ उनै प्रकाश सिटौला हुन् भन्दा अनौठो लागिरहेथ्यो । बिआरटी नेपालका तर्फबाट मित्र शैलेश पोखरेल सहित उनकै निकै चल्तीको ‘रोयल नेपाल-इण्डियन ग्रिल’ पुग्दा उनी किचेनमा खाना बनाउँदै रहेछन् । किचेनमा मात्र होइन ग्राहकहरुलाई टेबल-टेबलमा गएर सेवा समेत दिन भ्याइरहेका थिए उनी । नियमित सेफ नभएकाले अर्को एक जना नेपाली भाइलाई सेफको तालिम पनि दिंदैरहेछन् । त्यसैले समय लिएरै गएको भए पनि उनको व्यस्तताले हामीलाई केही समय कुर्नै पर्ने भो । निकै सरल र सोधेको कुराहरूको निकै छोटकरीमा जवाफ दिने प्रकाशको व्यक्तिगत जीवन र व्यावसायिक प्रगतिका बारेमा थाहा पाइसके पछि अमेरिकामा आएर केही गरौँ र आर्थिक उन्नति गरौँ भन्ने चाहना भएका धेरै नेपालीहरूका लागि उनको बारेमा थाहा पाउनु फाइदाजनक नै हुने ठानेर यो फिचर तयार गरेका हौँ ।

डिभीले डेनभर ल्याई पुर्याएपछि
नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुंगको विकट गाउँ निघुरादिनमा ३७ वर्ष अघि सिटौला परिवारको जेठो छोराको रूपमा जन्मिएका हुन् प्रकाश । टीका प्रसाद सिटौलाका दुई भाइ छोरा र दुईजना छोरीहरू मध्ये जेठा सन्तान हुन् प्रकाश । किराना पसल कै भए पनि व्यापार/व्यवसायमा संलग्न उनको बुवाको गाउँमा ठिकैको आर्थिक हैसियत थियो । त्यसैले उनको परिवारलाई खान-लाउनलाई कुनै दुख थिएन । विद्यालयस्तर देखि नै पढाइमा तेज प्रकाशले गाउँकै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि धरानबाट आइकम र नेपाल कमर्श क्याम्पस, मिनभवनबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका हुन् । उनले स्नातक तेस्रो वर्षमा आफ्नो संकायमा सर्बोत्कृष्ट र प्रथम श्रेणीमा एमबिएस उत्तीर्ण गरेर पढाइमा आफ्नो अब्बलता कायम नै राखे । घरबाट साधारण पढाइ खर्च आउने भए पनि काठमाण्डूको डेरा भाडा लगाएतका खर्च धान्न ठमेलस्थित कँगारू एकेडेमीमा बिबिएस पढ्दा देखि नै ट्यूसन पढाउन सुरु गरेका रहेछन् । मास्टर्स भर्खर सकाएका मात्रै थिए, उनलाई अमेरिकी सरकारको ‘डाइभरसिटी भिसा’ कार्यक्रम अन्तर्गतको ’डिभी चिठ्ठा’ पर्‍यो । कुनै बैङ्क वा सरकारी सेवामा राम्रो जागिर गर्ने बिचारमा रहेका उनलाई डिभी परेपछि अमेरिका आउने बाटो खुल्यो । देश माओवादी द्वन्द्धको चरमोत्कर्षमा भएको बेला डिभी परेर अमेरिका जाने मौकाले खुसी दिएपनि अमेरिकामा आफूले चिने जानेको कोही नभएकोले उनलाई बिरानो ठाउँमा कसरी टिक्ने भन्ने चिन्ता पनि थियो । घरको जेठोबाठो छोरा आफूदेखि टाढा जाने भएपछि आमा-बुवालाई पनि पिर पर्नु स्वभाविक नै थियो । यी सबै परिस्थितिकाबीच २००४ को फेब्रुअरीमा उनी अमेरिका हानिए । फेब्रुअरीको जाडो बेला, कोलोराडोको डेनभरमा झर्दा हिउँले सेताम्मे पहाड देखेर नेपाल कै कुनै पहाडी भूभागमा आएजस्तो भान भएछ, उनलाई । एक छिन रमाइलो लागे पनि आफन्त बिनाको परदेशी सहरको पहिलो रात रमाइलो लाग्ने कुरै भएन ।

तीन बर्से गुप्तबास
नेपालबाट आउँदा नै चन्द्र गुरूँग नामका नेपाली दाइका बारेमा केही सूचना लिएर आएकोले उनकै रोयल इण्डिया रेष्टुरेण्टमा काम सुरु गरेका प्रकाशले तीन वर्ष त सायदै सूर्यको प्रकाश देख्न पाए । नाम प्रकाश भए पनि घामको प्रकाश देख्न निकै कठिन थियो, त्यो बेला उनलाई । हप्तामा सातै दिन बिहान देखि रातीसम्म घोटिएर काम गर्थे उनी । वेटरको काम भए पनि रेष्टुरेण्टमा किचेन देखि ग्राहक सेवासम्मका सबैखाले काम गर्नै पर्थ्यो । २१ वर्षको लक्का जवान उमेरमा आएकाले कामगर्ने ऊर्जा निकै थियो । बस्ने ठाउँ र काम बाहेक कतै ध्यान नदिएका उनको सँगै काम गर्ने सहकर्मी र रेष्टुरेण्ट मालिक बाहेक कसैसँग सम्पर्क नै हुन्थेन । मिहेनतका साथ काम गरेकैले तीन वर्षमा उनी मेनेजर भए र २०१० सम्म अरू तीन वर्ष त्यही रेष्टुरेणटमा काम गरे ।

सुरुका तीन वर्ष त उनले ‘पाण्डवहरुको गुप्तबास’ कै शैलीमा बिताए । मास्टर्स पढ्न सुरु गरेपछि मात्र उनले बासस्थान र काम बाहेकको खुल्ला संसार देख्न थालेका हुन् । आफ्नो काम बाहेक खुल्ला र रसिक अमेरिकी जीवनशैलीसंग उनी खासै मतलब राख्दैनन् भन्ने कुरा त अमेरिका आएको १३ वर्षमा उनले कोलोराडो बाहेक कहीँ पाइला टेकेका छैनन् भन्ने जानेपछि थाहा भैहाल्छ । यो बिचमा नेपाल पनि जम्मा एक पटक मात्र गएका प्रकाशको आर्थिक हैसियतले अब पखेटा हालिसकेकोछ । अब उनको जीवनले खुल्ला आकाशमा पँखा फिंजाउन सक्षम भैसकेकोछ ।

उच्च शिक्षा सँगै व्यवसाय सुरुवात
राम्रो शैक्षिक व्याक ग्राउण्डबाट आएकाले होला एउटा अमेरिकी डिग्री लिन पाएहुन्थ्यो भन्ने हुट्हुटी थियो प्रकाशको मनमा । त्यसैले रेष्टुरेण्टमा मेनेजर भैसकेपछि कोलोराडो युनिभर्सिटीमा एकाउण्टिंग विषयमा मास्टर्स सुरु गरे र राम्रो अङ्क (जिपिए) का साथ ग्रयाजुएट भए पनि । २०१० मा पब्लिक एकाउण्टिंग सेवाका लागि सर्टिफाइड पब्लिक एकाउण्टेण्ट (सिपिए) लाइसेन्स लिए पछि रेष्टुरेण्टको काम छोडेर नल एकाउण्टिंग नामको सिपिए फर्ममा काम थाले । छ वर्ष सम्मको कडा परिश्रम सहितको काम र यहींको युनिभर्सिटीको डिग्रीले उनलाई अब आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने लागिरहेको थियो । त्यो बेला अमेरिकामा आर्थिक मन्दी चलिरहेथ्यो । बैङ्कको ब्याजदर पनि घटेको थियो । त्यही मौकामा रेष्टुरेण्टमा काम गर्दा बचेको केही पैसा र मास्टर्स पढ्दा लिएको शैक्षिक ऋणबाट बचेको पैसा लगानी गरेर २०१० मा आफ्नै व्यवसाय सुरु गरे । खराब व्यवस्थापनका कारण घाटा बेहोरिरहेका व्यवसाय लिजमा लिने र आफू र श्रीमतीले काम गरेर मेहनेतका साथ चलाउने उद्देश्य लिएकाले पहिलो ग्यांस स्टेसन व्यवसाय उनको लागि फाइदाजनक भयो । एउटाबाट फाइदा हुन थालेपछि व्यवसाय थप्न हौसिए उनी । पहिलो व्यवसाय लिएको एकबर्ष मै दोस्रो व्यवसाय सुरु गर्न सके । सायद भाग्य र मिहेननत दुवै उनको पक्षमा थियो र त उनले हात हालेका सबै व्यवसायले राम्रो कारोबार गर्न थाल्यो । अहिले तीनवटा ग्यास स्टेसन सहितका कन्भिनियन्ट स्टोर उनको आफ्नै प्रपर्टीमा सञ्चालित छन् । दुई मध्ये एक रेष्टुरेण्ट पनि आफ्नै प्रपर्टीमा सञ्चालित छ । डेनभरमा निकै प्रचलित नेपाली रेष्टुरेण्टमा उनको रेष्टुरेण्टको नाम अग्रपङ्क्ति मै आउँदोरहेछ । यस अतिरिक्त समग्र कोलोराडो मै अब्बल व्यवसाय गर्नेमा पर्दछ उनका तीन लिक्वेर स्टोरहरु ।

लाखौँ डलरको कारोबार गर्ने सिटौला ब्रदर्श अन्तर्गत सबै व्यवसायहरुको सञ्चालन उनी आफैँ र श्रीमती कविता मिलेर गरिरहेका छन् । एकाध व्यवसाय केही मेहनती नेपाली युवाहरूलाई व्यवस्थापनको जिम्मेवारी दिएर व्यवस्थापन-साझेदारीमा पनि चलाएका रहेछन् । प्राय सबै नेपालीहरूलाई नै काम दिएका उनको सबै व्यवसायमा गरेर ५० भन्दा बढी नेपालीहरूले रोगगारी पाएका छन् । आफू एक्लैले यति धेरै नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई काम दिन सकेकोमा उनलाई निकै खुसी लाग्दो रहेछ । उनको व्यवसायमा कामगर्ने सबैसँग सहकर्मीको व्यवहार गर्न रूचाउने भएकाले होला प्राय उनकोमा काम गर्ने युवाहरूले काम गर्दै कलेज पढ्न पनि भ्याएका छन् । सँगै कामगर्ने नेपाली विद्यार्थीहरूलाई पढ्न उत्प्रेरित गर्ने मात्र होइन परिआएको बेला आर्थिक सहयोग र बैंकिंग कागजातहरू बनाइदिएर पनि सहयोग गर्दारहेछन् उनी । यता व्यावसायिक सफलता पाएका नेपालीहरूले सकेसम्म आफ्नो व्यवसायमा नेपालीहरूलाई रोजगारीमा प्राथमिकता दिन सके त्यसले नेपाल र नेपालीलाई नै मद्दत मिल्छ भन्ने सोच्दा रहेछन् उनी । रेष्टुरेण्टमा काम गरेरै आफ्नो व्यवसाय सुरु गरेका उनलाई अरू व्यवसाय पनि हेर्नु पर्ने भए पनि प्राय रेष्टुरेण्ट तिर नै बढी समय बस्न र ग्राहक सेवामा खटिरहन मन पर्दोंरहेछ ।

नियमित सेफ नभएका बेला प्राय आफैँ किचेनमा खटिने र धेरै समय रेष्टुरेण्टमा ग्राहक सेवा मै बिताउन रुचाउने उनको सरल व्यवहारले होला ग्राहक वा पहिलो पटक भेट्न आउनेहरुले ‘रेष्टुरेण्ट अनर’ का हैसियतमा प्राय चिन्दारहेनछन् उनलाई । कतिले त प्रकाशलाई भेटौं न भन्दै उनलाई नै सोध्छन् रे । सायद अरू सरह नै किचेन वा वेटरको रूपमा समेत काम गरिरहेको देखेर होला आफैँले प्रकाश हो भनेर चिनाए पछि धेरैजना छक्क परेकाछन् रे । कम बोल्न रुचाउने उनको बानीले काउण्टर वा फ्रण्ट सर्भिसमा भन्दा अन्य काममा नै आफूलाई व्यस्त राख्न मन पराउँदारे’ छन् उनी । हामीसंगको करिब दुईघण्टाको अन्तरक्रियामा समेत धेरै पटक उनी किचेनमा जाँदै खानेकुरा बनाउन अन्य सहयोगी भाईहरुलाई सघाइरहे । उनले आफैँले बनाएर ल्याएको ‘गार्लिक नान’ हामीलाई पनि चखाए र हामीलाई थाहा दिए कि उनी साँच्चिकै खारिएका ‘कुक’ पनि रहेछन् ।

विबाह र परिवार
प्रकाशले अमेरिका आएको ३ वर्षपछि २००७ मा यतै विवाह गरे । संयोगले उनले नेपालमा ट्यूसन पढाउने गरेको ट्यूसन सेन्टरका सञ्चालककी बहिनी डिभी परेर डेनभर नै आइछन् । पहिले देखि नै राम्रो चिनजानको साथीकी बहिनी, उनकी दाजुले पनि सहमति दिएकाले परिवारको सहमति मै यता साधारण तरिकाले विवाह गरे । एक जनाबाट दुईजना भएपछि उनीहरूलाई भविष्यको योजना बनाउन पनि सजिलो भयो । आफू रेष्टुरेण्टमा, श्रीमती कविता ‘किंग्स सुपर’ नामको ग्रोसरी स्टोरमा काम गर्दै तीन वर्ष बिताए । २०१० को अन्त्यतिर उनीहरूले पहिलो ग्यास स्टेसन सञ्चालन गरेपछि भने दुबैजना सँगै काम गर्न थालेछन् । उनीहरूको कडा परिश्रम र व्यवसाय प्रतिको लगावले गर्दा ७ वर्ष भित्रै १३ वटा व्यवसायको मालिक बनाउन सक्यो । श्रीमती र परिवारका सदस्यहरूको भरथेगले नै व्यवसायिक सफलता मिलेको हो भन्न उनलाई खुसी लाग्दो रहेछ । आमा-बुवाले घर-व्यवहार र दुई छोराछोरीको रेखदेख गर्दिएकाले उनीहरू दुवैले व्यवसायमा पुरा समय दिन भ्याएका छन् । अस्ट्रेलियामा मास्टर्स गर्दै गरेका माइलो भाइ बाहेक परिवारका सबै सदस्य अचेल अमेरिकामा नै बस्छन् । प्रकाश बुवा-आमासँगै बस्छन् भने डिभी चिठ्ठा मार्फत नै अमेरिका आएका कान्छो भाइ पनि आफ्नै व्यवसाय गरेर डेनभर मै बस्छन् । दिदीको पनि यतै घरजम भैसकेकोछ भने बहिनी उनीसंगै बसेर नर्सिंग विषय अध्ययन गर्दैछिन् । जीवनमा कहिल्यै अमेरिका आइएला भन्ने नलागेका उनको सिंगै परिवार अमेरिका नै बस्ने परिस्थितिमा छन् । आफ्नो जन्मथलो र आफन्तहरुले नेपालको सम्झना गराइरहे पनि अब यताको व्यवसाय, बच्चाहरूको पढाई लगाएतका कुरा चटक्कै छोडेर नेपाल फर्कन सक्ने स्थितिमा छैनन् उनी । केही समय भित्रै व्यवसायलाई बिविधिकरण गर्दै वियर उत्पादन तिर लगानी बिस्तार गर्ने सोचमा छन् उनी ।

सिटौला ब्रदर्शले बनाएको सामाजिक परिचय
अहिलेको व्यावसायिक र आर्थिक हैसियत बनाइसके पछि नेपाल फर्केर जान नसके पनि आफू जन्मेको ठाउँमा केही गर्न पाए हुन्थ्यो भन्ने चाहिँ सधैँ लागिरहँदो रहेछ प्रकाशलाई । सधैँ नेपाल गैरहन नसके पनि अचेल नेपाल र नेपालीको नाममा हुने सबैखाले सहयोगहरुमा आफूलाई अगाडि उभ्याउन चाहन्छन् उनी । नेपालमा गएको महाभुकम्पका बेला होस् या यो वर्ष तराई-मधेसमा आएको बाढी, नेपालमा परेको विपत्तिका बेला दिल खोलेर सहयोग गरेकाछन् उनले । आफूले सहयोग गर्ने मात्र होइन, डेनभरको नेपाली समुदायलाई नै सहयोगको लागि परिचालित गर्न समेत उनी निकै सक्रिय भएका रहेछन्। डेनभरको नेपाली समुदाय बाहेक अमेरिकी नेपाली समुदायमा खासै परिचय नबनाएका उनी बिस्तारै नेपाली समुदायमा हुने-गरेका विभिन्न कार्यक्रम र सामाजिक अभियानहरुमा दरिलो आर्थिक सहयोगीको रूपमा देखा पर्न थालेकाछन् । डेनभरमा नेपाली समुदायले केही गर्दैछ भने अब प्रकाशको ‘सिटौला ब्रदर्श’ पनि सँगै जोडिन आउने नाम हुन थालेको छ ।

सबै परिस्थितिले साथ दियो भने कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएकाहरुलाई शैक्षिक छात्रवृत्ति मार्फत सहयोग पुय्राउने लक्ष्य लिएका प्रकाश प्रवासमा आर्थिक हैसियत सुधारेका सबै नेपालीले सकेसम्म आफू जन्मेको ठाउँको लागि केही न केही गर्नै पर्छ भन्ने ठान्दारहेछन्।

दर्जन बढी व्यवसायको धनी भैसकेका प्रकाशको हाउभाउ र व्यवहारले उनले आफ्नो विगतलाई बिर्सेका छैनन् भन्ने जान्न उनको रोयल नेपाल रेष्टुरेण्ट गए पुग्छ। आफ्नो धरातल नबिर्सेकोले होला मझौला कदका सिटौला ब्रदर्शका एक्ला मालिक प्रकाश निकै अग्ला लाग्दारहेछन्।

 

sujan_pandit@yahoo.com

सम्बन्धित सामग्रीहरू