अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

परदेशमा सफल नेपाली: ‘राइजिङ्ग’ ऋषि

सुजन पण्डित २०७४ असार १३ गते २३:०२ मा प्रकाशित

ऋषि ढकाल, नेपाली-अमेरिकन समुदायमा सायद चिनाईरहनु नपर्ने नाम। अमेरिकी सहर सानडियागोका लागि नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत ढकालको बिस्तारित परिचय तैयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयात गर्ने एक अग्रणी व्यवसायीका रूपमा समेत बनेको छ । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र नेपालीपनको जगेर्ना गर्न जहिल्यै लागि पर्ने सामाजिक अगुवाको नाम पनि हो, ऋषि ढकाल ।

‘एकपटकको नेपाली, संधैको नेपाली’ अभियान अन्तर्गत दोहोरो नागरिकताको प्रावधानका लागि एनआरएन-आइसीसीको समितिमा रहेर नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न पहल गर्ने एक अभियन्ता पनि हुन् उनी ।

सङ्घर्षका दिन
पैत्रिकघर गोरखा भएका बुवा लिलानाथ ढकाल र आमा मेघामाया ढकालका जेठाछोरा ऋषि ढकाल २००५ मा ‘डिभी’ कार्यक्रम अन्तर्गत अमेरिका आउनु अघि नै नेपालमा चिनिने कार्गो (आयात/निर्यात) व्यवसायी भई सकेका थिए । व्यवसाय गर्ने मनसायका साथ आफूले गर्ने व्यवसाय कै सामानहरू आफूभन्दा अगाडि नै अमेरिका पठाईवरी क्यालिफोर्निया उडेका ढकाललाई यता आइसकेपछि तत्काल व्यवसाय सुरु गरिहाल्न सजिलो भएन । अमेरिकी भूमिमा व्यवसायको अनुभव नभएको, भाषागत कमजोरी, नेपाली तैयारी पोशाकको स्थानीय बजार स्थापित नभईसकेको अवस्थामा व्यवसाय गर्न सहज रहेनछ । नेपालमा नाम चलेको व्यवसायी भएर के गर्नु ? यता कसैले नचिन्ने, त्यो नामको केही मूल्य भएन ऋषिलाई । आएको छ महिनासम्म त परिवारलाई कुनै काम सिकाउने र गराउनेतिर त सोच्दै सोचेनन् उनले । व्यापार गर्ने उपायहरू खोज्दै, विभिन्न ठाउँ चाहार्दै त्यत्तिकै सकियो छ महिना । खाँदा, घुम्दा, अमेरिकामा भएका विभिन्न व्यापारिक मेला/प्रदर्शनीमा सहभागी हुँदा र वेरहाउसको भाडा तिर्दा नेपालबाट ल्याएको पैसा सकिइहाल्यो । पैसा सकिने, ल्याएको सामान जसरी बेचौंला भन्ठानेको त्यसरी बेच्न पनि नसकेपछि ऋषिलाई छटपटी भयो । घरखर्च र सामान राख्ने भाडा समेत जोहो गर्न कठिन होला झैँ भएपछि त निकै अत्तालिएका थिए रे उनी । आफू आउनु पूर्व नै क्यालिफोर्नियामा व्यवसाय सुरु गरिसकेका जेठानदाई कपिल अधिकारीको भरथेग नपाएका भए त ऋषिले अमेरिकामा तंग्रने धैर्यता नै गुमाउने थिए होलान् ।

व्यापारको चाँजो-पाँजो मिलाउने सन्दर्भमा आएको दुईबर्षमा ३ लाख डलर जत्ति ऋण लागेछ । साथी/भाइ आफन्तहरुले सहयोग गरेकाले र नेपालको व्यवसायले राम्रै प्रगति गरिरहेकाले होला दशक अघि ३ लाख डलर ऋण लाग्दा पनि आर्थिक रूपले थला परिहालेनछन् ऋषि । ऋण थपिंदै गएपछि ल्याएको सामान कसरी बेच्नेहोला भनेर अनेक उपाय लगाउँथे, भाइ भीम र ऋषिका दम्पति । उनीहरूको दिनचर्या बिहान सबेरै झिस्समिसेमै उठ्ने, सामान बोक्दै विभिन्न ठाउँमा लाग्ने मेला/ पर्व र ‘विकेण्ड मार्केट’मा गएर केही सामान बेच्ने र राती अबेर लखतरान भएर घर फर्कने गरेर बित्थ्यो। कति पटक त दिनमा चार ठाउँमा पनि पुग्न भ्याय सामान बिक्री गर्नै भनेर।

अलि-अलि भएको व्यापारको पैसाले महिनाभरीको बिल तिर्न पनि धौ-धौ पर्ने, साना बच्चाहरू छोड्दै व्यापार गर्न भौंतार्रिंदै गर्दा एक समय त नाम र दाम दुवै भैसकेको, वर्षमा एक- दुईपटक युरोप-अमेरिका व्यावसायिक भ्रमण गर्न सक्ने हैसियतको व्यवसाय छोडेर व्यर्थैमा डिभीको पछिलागेर अमेरिका आइएछ जस्तो पनि लागेछ ऋषिलाई । अब केही नहुने भो, न नेपाल फर्कनु न यता टिक्ने उपाय लाग्ने भो भन्ने अवस्था आएकै बेला साथीभाई र परिवारको सल्लाहले श्रीमती विमला नर्सिंग सम्बन्धी तालिम लिएर नर्सिंग सेवा मै काममा लागेपछि घरखर्चको लागि अलि सजिलो भएछ। ‘हरेक दिन घाटाको व्यापार गय्रो, घर फर्क्यो’ भने जस्तै थ्यो त्यो बेला ढकाल परिवारको दिनचर्या।

२० दिने जागिर
व्यवसाय गर्ने जोस कायमै रहेपनि घरभाडा, सामान राखेको भाडा तिर्नकै लागि पनि केही काम नगरी नहुने भयो ऋषिलाई। नेपालको व्यावसायिक ज्ञान र अनुभवले काम गरेरै होला जागिरको लागि आनलाइन फारम भरेको दुई घण्टा भित्रै अन्तरवार्ताको लागि रिटर्न कल पाए उनले । तत्काल अन्तरवार्तामा जान उनीसँग न त ड्राइविंग लाइसेन्स थियो न त क्यालिफोर्नियाको व्यस्त सडकमा गाडी चलाउने हिम्मत। त्यस्तोबेला कामलाग्ने भनेकै साथीभाई र इष्टमित्र रहेछन्। एउटा साथीको मद्दतले अन्तरवार्ता दिन पुगे र छानिए पनि । अब उनी त्यहींकै एउटा कार्गो कम्पनीमा घण्टाको २५ डलर कमाइ गर्न सक्ने भए। तीन लाख ऋण, व्यवसाय नचलेको बेला, त्यो जागिर उनलाई लाख भयो। आशा गरे भन्दा धेरै र औसत नेपालीहरूले त्यो बेला पाउने भन्दा तीन गुणा ज्यादा तलब। जागिर खाएको केही दिन मैं अमेरिकी बजारमा आयात/ निर्यात व्यवसायको केही तौर-तरिकाबारे जानकारी हुन थाल्यो । केही व्यवस्थापक र व्यवसायीहरुसंग चिनजान, सम्पर्क पनि भयो ऋषिको । गोदाममा थुप्रिएको नेपालबाट ल्याएको करोडौंको सामान यसरी जागिरमा भुलियो भने त कसरी बेच्न सकिएला र लाखौँको ऋणबाट पार पाइएला भन्ने लागेर धेरै दिन जागिरमा लाग्न सकेनन् ऋषि । २० दिनमै जागिरबाट बिदा भएर फर्किए आफ्नै व्यवसाय सम्हाल्न ।

अमेरिकामा व्यवसायिक सफलता
कार्गो कम्पनीमा २० दिन काम गरेपछि उनमा आफैँ केही गर्नुपर्छ भन्ने भावना झन् मजबुत भयो । यो पटक उनले अमेरिकी बजारलाई थोरै भए पनि बुझ्न पाएकाले होला आफूमा अलि आत्मविश्वास बढेको ठाने । ऋण गरेरै भए पनि मार्केटिंग, ब्राण्डिंग, प्याकेजिंग र ह्याण्डलिंगका लागि विज्ञहरु परिचालन गरे, र उनको यो तरिका काम लाग्यो पनि । २००७ मा छोरी ऋद्दिमा जन्मिइन् । सायद छोरीले उनीहरूको अमेरिकी व्यवसायमा भाग्य पनि सँगसँगै ल्याईदिए जस्तै भो ऋषि र विमलालाई । २००७ को अन्त्यतिर पुग्दा उनलाई अब भने अमेरिकामा आफ्नो व्यवसाय गर्न सकिन्छ भन्ने लागेछ । सायद उनको धैर्यता र दृढ़ताले नै होला २००८ तीरको आर्थिक मन्दीका बाबजूद पनि ऋषिको व्यवसाय टिक्न सक्यो ।

२०११ मा अर्की छोरी रिहानाको जन्मसंगै दुई छोरा, दुई छोरी सहित छ जनाको भयो, ढकाल परिवार । परिवार बढ्ने र व्यवसाय बढ्ने सँगसँगै हुँदै गयो। २०१२/२०१३ तिर पुग्दा त ऋषिको ‘राइजिङ्ग इन्टरनेशनल इन्कर्पोरेशन’ नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भई सकेको थियो । सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्त्वपूर्ण व्यवसायिक व्यक्तित्व (Commercially Important Person-CIP) का लागि दिइने सम्मान तत्कालीन राष्ट्रपति रामवरण यादवबाट ग्रहण गर्न सक्षम ऋषिलाई त्यसपछि व्यवसायिक सफलताले पछ्याई नै रहेको छ ।

तैयारी पोशाक र हस्तकलाको व्यापारिक सफलताले उनलाई व्यवसाय बिस्तार गर्न उत्प्रेरित गरिरह्यो । अहिले उनी साविकको व्यवसायलाई थप सुदृढ़ गर्न थाइल्याण्ड, चीन र भारतबाट समेत सामानहरू आयात गर्न थालेकाछन् भने अमेरिकामा पनि व्यवसाय बिविधीकरण गर्दै रेष्टुरेण्ट, रियलस्टेट जस्ता व्यवसायमा समेत लगानी गरेका छन् । ढकाल परिवारको क्यालिफोर्नियामा केही व्यापारिक प्रपर्टीहरुमा लगानी छ भने अमेरिकी राज्य हवाईमा समेत ‘कामना किचेन’को नामबाट तीनवटा रेष्टुरेण्ट सञ्चालित छन् र चौथो रेष्टुरेण्ट सञ्चालनको तैयारीमा छ । उनको व्यवसायले अमेरिकी स्थानीय अर्थतन्त्रलाई त फाइदा भएकैछ, त्यो भन्दा धेरै त उनको व्यापारिक प्रतिष्ठानहरुमा कामगर्ने झन्डै ५० मध्ये आधा नेपाली दाजुभाइ दिदीबहिनीहरुको समेत जिविको पार्जन भएको छ ।

नेपालमा लगानी
एनआरएनको हैसियतमा उनको कमाइको केही हिस्सा नेपालमा पनि लगानी भएको छ । हाइड्रो पावर, नेपाल क्यान्सर अस्पताल र तक्षशिला एकेडेमीमा ढकाल परिवारको लगानी छ । नेपालमा रहेका उनका भाईहरु हरि र ठाकुरले व्यवसायको रेखदेख र सञ्चालन गरिरहेछन् । सयौँ नेपालीहरूलाई रोजगारी दिन सफल उनका नेपाल स्थित व्यावसायिक प्रतिष्ठानहरुले नेपालको आर्थिक विकासरलाई समेत निकै मद्दत गरेको छ ।

सामाजिक काममा ऋषि
“संसारभरि जहाँ रहेपनि हामी नेपाली हौँ, हाम्रो भाषा, संस्कृति र रहन सहन हाम्रो पहिचान हो, आफ्नो पहिचान जहाँ भए पनि कायम राख्न सक्यौं भने मात्र हामी सम्बन्धित मुलुकमा पनि नेपाली भनेर चिनिन सक्छौँ” भन्ने सोच भएका ऋषि ढकालको परिवार क्यालिफोर्नियाको नेपाली समुदायमा चिनिएको समाजसेवी परिवारमा गनिन्छ । लसएन्जलसमा रहेको पशुपति फाउण्डेसनको स्थापनाको लागि महापुराण लगाएर झन्डै ११ लाख डलर सङ्कलन गर्ने कार्यको संयोजन गरेका ऋषिको परिवारले फाउण्डेसनलाई ७५ हजार डलर आर्थिक सहयोग समेत गरेको छ । नेपाली भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्न र अमेरिकामा नै जन्मे हुर्केका बालबालिकाहरुलाई नेपालीपन सिकाउन पशुपति फाउण्डेसन जस्ता संस्थाहरूले निकै सघाउ पुय्राउने विश्वासछ ऋषिलाई । त्यसैले त पशुपति फाउण्डेसनको भौतिक संरचना निर्माण र सहयोग सङ्कलन गर्न निरन्तर लागिरहेछन् उनी।

नेपाली समुदायले आयोजना/सञ्चालन गरेको सबैखालका कार्यक्रममा भ्याउँदासम्म उपस्थित भएर नै सहयोग गर्ने, नसके आर्थिक-नैतिक सहयोग गर्न जहिल्यै अग्रसर हुने सामाजिक अगुवाको परिचय बनाएका ऋषिले क्यालिफोर्निया बाहिरका नेपाली समुदायहरुलाई समेत सकेको सहयोग पुय्राएका छन् ।

नेपालमा समेत अस्पताल, शैक्षिक प्रतिष्ठानहरुमा लगानी गरेरहोस् वा आफ्नो गृह जिल्लामा हुने सामाजिक कामहरुमा आर्थिक-भौतिक सहयोग पय्राएरहोस्, उनी हरदम सामाजिक कामसंग जोडिइरहन चाहन्छन् । व्यावसायिक सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) राम्ररी बुझेका ऋषिलाई व्यवसायबाट आर्जित केही हिस्सा सामाजिक हितमा खर्चगर्न पाउँदा खुसी मिल्दो रहेछ । “हामी जहाँ बस्छौं त्यहाँको समुदाय र जहाँ हाम्रो जरा गाडिएको छ त्यहाँका समुदायको हितमा काम नगर्ने हो भने हामीले व्यवसाय गरेर कमाएको पैसाले केही हुन्न, त्यसले मनको शान्ति र खुसी पाउन सकिन्न”, ऋषिको कथन थियो ।

सामाजिक हितका लागि भनेर नेपालीहरूका सयौँ सस्थाहरु गठन हुनुलाई सकारात्मक नै मान्ने ऋषिलाई त्यस्ता संस्थाहरूले नेपाली भाषा, संस्कृति र नेपालीपनको जगेर्ना गर्न कम ध्यान दिएकोमा भने गुनासो रहेछ । एनआरएन अमेरिकाको सल्लाहकार रहेका र दर्जनौं सङ्घ-संस्थामा विभिन्न भूमिकामा संलग्न उनी नेपाल अमेरिका च्याम्बर अफ कमर्शको संस्थापक महासचिव समेत हुन् । आफू संलग्न सबै संस्थाहरुबाट नेपाली समुदायको अधिकतम हितमा कामगर्न सकियोस् भन्नेमा सधैँ सचेत ऋषि भ्याएसम्म नेपाली समुदायले आयोजना गर्ने सबैखाले कार्यक्रममा पुगिहाल्छन् ।

अवैतनिक दुत
नेपाल सरकारको तर्फबाट सानडियागो सहरका लागि अवैतनिक वाणिज्यदुतका हैसियतमा २०१३ मा नियुक्त ढकालले आफूलाई सानडियागो क्षेत्रमा मात्र सीमित राखेका छैनन् । सिंगै क्यालिफोर्निया र खासगरी लसएन्जलस क्षेत्रमा उनको निकै सक्रियता छ । हालसालै मात्र अवैतनिक महावाणिज्यदुतमा पदन्नोति पाएका ऋषि नेपाली व्यापार प्रवर्धन, अमेरिकी सरकार र राज्य सरकारका स्थानीय प्रतिनिधीहरुसंग सम्बन्ध विस्तारमा निकै लागि परेका छन् । अमेरिकी सरकारबाट नेपालले विभिन्न निकासीजन्य वस्तु/उत्पादनमा पाएको भन्सार महशुल छुट सम्बन्धी ओवामा प्रशासनको निर्णय पूर्व The United States International Trade Commission (USITC) जस्ता निकायमा नेपाली दूतावास र ऋषि लगायत नेपालबाट तैयारी पोशाक, हस्तकला सहितका वस्तु आयातमा काम गर्ने व्यवसायीहरुको निरन्तरको लविंगले निकै ठुलो भूमिका खेलेको थियो। सबै प्रयासहरुका बावजूद तैयारी पोशाकले भन्सार महशुल सहुलिएत पाउन सकेको छैन। वर्तमान अमेरिकी प्रशासनसंग समेत भन्सार छुटका बस्तुको दायरा बढाउन आफ्नो तर्फबाट निरन्तर लागिरहने प्रतिबद्धताछ उनको ।

काठमाण्डूको पहिलो यात्रा
अहिलेको लोभलाग्दो अमेरिकी जीवन ऋषिको वर्तमान मात्र हो । गोरखाको सामान्य किसान परिवारको छोरा ऋषिको हाइस्कुल पछिको पढाइका लागि जीवनको पहिलो काठमाण्डू यात्रा कम्ता मार्मिक छैन ।

कार्तिक-मङ्सिर महिना, काठमाण्डुमा जाडो बढीसकेको थियो । बिरानो काठमाण्डुको बसपार्क झर्दा गोरखा घरबाटै ल्याएको क्याम्पस पढ्नका लागि चाहिने लुगाफटा र सामल-तुमलको झोलाहरु बाहेक कोही थिएन ऋषिसंग वि.सं २०४९ को त्यो रात । जो लिन आउनु पर्ने हो उनी आएनन्। गाउँमा हुर्केको मान्छे, पहिलोचोटी राजधानी सहर काठमाण्डूमा पाइला राखेको, केही थाहा थिएन, कसैलाई चिनेको थिएन। कता जाने, के गर्ने, आपत् परेछ। केही उपाए नललागेपछि आफू चढेर आएको बसमै कठ्यांग्रिएर रात बिताएछन् ऋषिले। भोलिपल्ट उज्यालो भएपछि सोधखोज गर्दै बस्ने निधो भएको आफन्तकोमा पुगे। आमाबुवा, भाइ-बहिनीसंग खेल्दै गाउँको मध्यम बर्गीय किसान परिवारमा हुर्केका ऋषिलाई काठमाण्डू धेरै रमाइलो लागेन ।

खेती-किसानी, दाउरा-घाँस गर्दै घरबाट दुईघण्टा पैदल हिँडेर जानु पर्ने शक्ति माध्यमिक विद्यालयमा ८ कक्षा सम्म पढे । पछि घर नजिकै महेन्द्र माध्यमिक विद्यालय खुलेपछि त्यतै भर्ना भए र त्यही स्कुलबाट एसएलसी सकाए ऋषिले । लेखनाथमार्ग ठमेल स्थित सरस्वति क्याम्पसमा आईकम पढ्दै गर्दा २०५० तिर थुप्रै सम्पर्क र भनसुन पछि महिनाको ५ सय तलब आउने काम पाए, स्थानीय एउटा प्रेसमा । तलबले जेनतेन कोठाभाडा मात्र तिर्न पुग्थ्यो । पढ्ने/खाने खर्च आमा/बुवाले पठाउन सक्ने हैसियत त थियो तर उनी चाहन्थे, आफ्नै मिहनेतले पढौं, घरबाट खर्च ल्याउनु नपरोस् । पर्यटकीय क्षेत्र ठमेलमा निकै काम खोजेपनि भन्ने बित्तिकै भाषा इत्यादि कारणले काम पाउनै गाह्रो। बल्ल-बल्ल एउटा कार्गो कम्पनीमा कार्यालय सहायकको काम पाएछन् । ९ सय, १५ सय गर्दै अलि बढी तलब पाउने काम पनि पाए । अब काठमाण्डूको खर्च अलि धान्न सक्ने भएछन् उनी । पैदल र साइकलमा ओहरदोहर गर्दै कार्यालय सहायकको पदबाट थालेको कार्गो व्यवसायको काम दुई वर्ष मै १९९५ तिर त मेनेजर’ को हैसियतमा मोटरसाइकिलमा हुँईंकने भैसकेका थिए। ‘राती क्याम्पस पढ्ने र दिउँसो जागिर गर्ने’ गर्दै रत्नराज्य क्याम्पसबाट विए र पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा एमए पनि सकाए ऋषिले ।

विवाह र कार्गो कम्पनी
१९९७ आफैँले मन पराएको गोरखा कै विमलासंग पारिवारिक सहमति मै विवाह गरेपछि १९९८ मा उनलाई पहिलो छोरा प्रविनको बाबु र राइजिंग स्टार कार्गो कम्पनीको सञ्चालक समेत बन्ने अवसर मिल्यो। निकै मिहेनती स्वभावका ऋषिको कार्गो कम्पनी २००५ तिर पुग्दा काठमाण्डूको गिने-चुनेकै कम्पनीमा दर्ज भैसकेको थियो । सायद उनको भाग्यमा थप सङ्घर्ष र सफलता दुवै लेखेको भएर होला, २००५ मा अमेरिकी ‘डिभी चिठ्ठा’ पय्रो र उनी नयाँ र सुखद भविष्यको आशामा अमेरिका हान्निए ।

ऋषिले बाँड्न चाहेको सिकाई
अवसरको देश अमेरिकामा बिताएको १२ वर्ष दुख र सुख दुवैको मिश्रण हो, ऋषिका लागि । सुरुका दुईबर्ष निकै हण्डर खाएका ऋषिले सिकेको सबभन्दा ठुलो कुरा भनेकै धैर्यता, लगातारको परिश्रम र मिहेनत हो । आफूमा भएको अनुभव र दक्षतालाई अमेरिकी परिवेश, कानुन र आवश्यकतानुसार परिस्कृत बनाउनु र सके सम्म यहींकै स्कुल, शिक्षालय, विश्वविद्यालयहरुबाट दिक्षित हुनसके राम्रो हो भन्ने बुझेका ऋषिको यहाँ भएका र नयाँ आउने सबै नेपालीहरूलाई एउटै अनुरोध छ — पहिले अमेरिकी कानुन र आवश्यकता अनुसारको सीप सिक्नुस्, सकेसम्म छोटै भए पनि सर्टिफाइड तालिमहरु लिनुस् वा आफ्नै व्यवसाय सुरु गर्नुस् । अनिमात्र सबैले भन्ने सुन्ने गरेको ‘सपनाको देश’ अमेरिका आउनुको सार्थकता हुन्छ र तपाईँका ‘अमेरिकन ड्रिम’ यथार्थमा बदलिन सक्छ। “हामीले सिकेको सीप र कमाइको प्रतिफल बृहत् नेपाली समुदाय र मातृभूमि नेपालले पनि पाउनु पर्छ । र त्यसको लागि ज्ञान, सीप र पुँजी मात्र होइन, धैर्यता, संयम, परिश्रम र लगनशीलता पनि उत्तिकै चाहिन्छ”। ऋषिले सिके अनि राम्ररी बुझे पनि ‘दुखले सिकाउँछ’।