अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

(कविता) साला जिन्दगी

कृष्ण पहारी

कृष्ण पहारी २०७४ पुष २ गते ०:५७ मा प्रकाशित

जिन्दगी
एउटा किताब जस्तै रहेछ
पल्टाउदै पल्टाउदै जानू पर्ने
भ्याइ नभ्याइ पढनु पर्ने
र पढेर कहिले नसकिने
एउटा किताब जस्तै रहेछ
साला जिन्दगी ।

जिवनका
हरेक भोगाइहरुको
पाठ बुझाइ रहनु पर्ने
कहिले डिभिजन मार्न नसकेर
बल्ल तल्ल
नम्बर थपेर पास भइरहनु पर्ने
कस्तो अनौठो रहेछ
साला जिन्दगी ।

आजकल
यो जिन्दगी
एउटा रामायण र
एउटा महाभारतको
दस्तावेज जस्तो लागिरहेछ
पान्डब र कौरबको
लडाइँ जस्तै लागिरहेछ
रावण र सुगरिबको
मितेरी जस्तै लागिरहेछ
साला जिन्दगी ।

प्रत्यक बसन्तमा
फेरिने पात जस्तै
प्रत्यक नयाँ सालमा
फेरिने क्यालेन्डर जस्तै
झर्ने र फेरिने क्रम
रोकिएको छैन
थर्मामिटरको पारो जस्तै
तलमाथि भइरहन्छ
साला जिन्दगी।

आजकल
यो जिन्दगी मरुभूमि जस्तै
उजाड लागिरहेछ
भोगाइ अनुभुती र अनुभव
थुप्रै फेरिदै गए
किताबका पानाहरु
पल्टिदै गए
पढदा पढदै र
लडदा लडदै थाक्दै गए
त्यसैले हिजो आज
आफैलाइ घिणा लागेकोछ
साला जिन्दगी

प्रतिक्रिया