अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

मोहन चापागार्इँको नवौँ कृति हाइकू संग्रह ‘च्छोरोल्पाको छाँयामा’ लोकार्पित

बिआरटीनेपाल २०७४ साउन ६ गते १०:५० मा प्रकाशित

 

 

साहित्यकार मोहन चापागाईँको नवौँ कृति हाइकू सङ्ग्रह ‘च्छोरोल्पाको छाँयामा’ आज काठमाडौँमा लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले सो हाइकू सङ्ग्रहको विमोचन गरेका हुन् ।

हाइकू सङ्ग्रहको सार्वजनिकीकरणपछि आफ्नो मन्तव्य दिँदै शर्माले भने ः “हाइकू लेख्ने मान्छे बहादुर हो ।” हरेक देशको भाषाको आफ्नै सौन्दर्य हुने र त्यो सौन्दर्यकै उजागर गर्न साहित्यकारहरू लाग्नुपर्ने बताउँदै उनलेः “अनुकरण नराम्रो काम त होइन, तर आफ्नै भाषा संस्कृति यति सुन्दर हुँदाहुँदै अरूको अनुकरण गर्नुभन्दा आफ्नैपनको विकास र विस्तार गर्नसके भाषा, संस्कृति र राष्ट्र नै समृद्ध बन्ने थियो ।”

कार्यक्रमका वरिष्ठ अतिथि वरिष्ठ साहित्यकार रचना साहित्यिक पत्रिकाका प्रमुख सम्पादन रोचक घिमिरेले मोहन चापागाईँको विमोचित कृति ‘च्छोरोल्पाको छाँयामा’का सन्दर्भमा हाइकू लेखनमा चापागाईको भविष्य राम्रो रहेको बताउँदै हाइकू रचना विधा कठिन कार्य भएकाले मोहनले त्यो चुनौतीलाई स्वीकारेर यो साहस गरेकोमा बधाई दिए ।

कृति ‘च्छोरोल्पाको छाँयामा’को टिप्पणी गर्दै मधुपर्कका प्रधानसम्पादक वरिष्ठ साहित्यकार श्रीओम् श्रेष्ठ ‘रोदन’ले पुषको घाम ताप्दै सुन्तला र बदाम खाएर हाइकूलेख्न नसकिने बताउँदै हाइकूका तीन ५, ७, ५ अक्षरका तीनबटा पङ्क्ति मात्र भएका कुल १७ अक्षर भित्रका संरचनामा पूरा साहित्य अटाउन वर्षाैंको तपस्याबाट मात्र सम्भव हुने बताए ।

अर्का साहित्यकार तथा पत्रकार चेतनाथ धमलाले कृतिमाथि विस्तृत टिप्पणी गर्दै हाइकूको उत्पत्ति र इतिहास अनि नेपालमा हाइकूको प्रवेश विकास क्रममा बारेमा बताउँदै प्रकृतिको दर्शन नै हाइकूको मुटु रहेको बताउँदै कविताको लघुतम् संरचनाभित्र ऋतुबोधक बिम्वको प्रयोग हुनुपर्ने र त्यसले खालीपन, रिक्तता र अनन्त सम्भावनालाई साथै लिएर हिँड्ने धारण ब्यक्त गरे ।

खासगरी आफूले आत्मसन्तुष्टिका लागि साहित्यको सिर्जना गर्ने बताउँदै ‘च्छोरोल्पाको छाँयामा’ का कृतिकार मोहन चापागाईले आजको युगमा मानिसहरु धेरै व्यस्त रहने हुनाले साहित्यको पूर्ण रसस्वादनका लागि हाइकू लेखेको स्रस्टा मोहन चापागाई बताए ।

त्यस्तै ‘च्छोरोल्पाको छाँयामा’ लोकार्पण कार्यक्रमका तथा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले स्रष्टा मोहन चापागाईँलाई कृतिको सफलताको वधाई तथा शुभकामना दिँदै आफ्नो निमन्त्रणालाई स्विकारेर कार्यक्रममा आउने सम्पुर्णमा धन्यवाद ज्ञापन गरे भने नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कँडेल हरित र कोषाध्यक्ष पुष्पा खनालले समेत कार्यक्रममा आफ्ना मन्तव्य रादेका थिए ।

सो समारोहमा हिरण्यकुमारी पाठक, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, देविका तिमिल्सिना, प्रल्हाद पोखरेल, ध्रुव मधिकर्मी, नारायण तिवारी, तुलसीहरि कोइराला, पुष्पा खनाल, सविता श्रेष्ठ बेहोसी लगायतका समकालीन वरिष्ठ हस्ताक्षरहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू