अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

स्रष्टाहरूलाई भानु शिखर सम्मान

बिआरटीनेपाल २०७४ असार २२ गते ६:२७ मा प्रकाशित

काठमाडौँ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०४ औँ भानुजयन्ती स्रष्टा सम्मान, कविता वाचन, कृति लोकार्पणलगायतका साहित्यिक गतिविधिका साथ मनाएको छ । नेपाली भाषा, साहित्य तथा कला संस्कृतिको उन्नयन गर्ने र विश्वभर छरिएर रहेका नेपाली स्रष्टाबीच सम्पर्क सेतुको काम गर्ने उद्देश्यले गठित प्रतिष्ठानले गत १७ गते शनिवार बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रको प्रशिक्षण हलमा भव्य कार्यक्रम आयोजना गरी आदिकविप्रति श्रद्धासुमन अर्पण गरेको छ ।
प्राध्यापक डा. गार्गी शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार त्रय शैलेन्दुप्रकाश नेपाल, विवश पोखरेल, जलेश्वरी श्रेष्ठलाई ‘भानु शिखर सम्मान २०७४’ द्वारा सम्मानित गरिएको थियो । वरिष्ठ साहित्यकार तथा बनिता पत्रिकाकी सम्पादक लक्ष्मी उप्रेतीद्वारा नेपाली, अङ्ग्रेजी र मराठी भाषामा लेखिएका ४ वटा बाल साहित्य पुस्तकको विमोचन गरिनुका साथै उक्त कार्यक्रममा नवोदित गायिका कोपिला शिवाकोटी खरेलको म्युजिक भिडियोसमेत लोकार्पण गरिएको थियो ।

पूर्वमन्त्री हरिप्रसाद न्यौपाने, इजरायलका लागि नेपालका पूर्वराजदूत प्रल्हादकुमार प्रसाईं, दिलमाया श्रेष्ठ, वरिष्ठ साहित्यकारहरु गीताकेशरी, उन्नति बोहोरा शिला, प्रा.डा.पारसमणि भण्डारी, अमेरिकाबाट आउनुभएकी साहित्यकार विमला निरौला, लक्ष्मीप्रसाद प्रसाईंले आतिथ्यता ग्रहण गर्नुभएको कार्यक्रममा पूर्वराजदूत प्रल्हादकुमार प्रसाईंलाई संस्थाको संरक्षक सदस्यता प्रदान गरिएको थियो । त्यसै गरी स्वदेश तथा विदेशबाट समेत विशिष्ट र आजीवन सदस्यता लिई संस्थालाई जीवन्तता दिलाउन सहयोग पु¥याउने साहित्यप्रेमीहरुलाई पनि सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिष्ठानका वरिष्ठ सदस्य लक्ष्मी उप्रेतीले आकर्षक ढङ्गले संयोजन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति गोपीकृष्ण प्रसाईंले स्वागत मन्तव्य प्रस्तुत गर्दै संस्थाका गतिविधिसमेत जानकारी गराउनुभएको थियो । उहाँले छोटो अवधिमा प्रतिष्ठानले बेलायत शाखा विस्तार गर्न सफल भएको र निकट भविष्यमा अन्य देशहरूमा पनि शाखा विस्तार गरी छरिएर रहेका साहित्यकारहरुलाई प्रतिष्ठानमा जोड्दै लैजाने बताउनुभयो । भानुभक्तको जीवनी रोचक र प्रभावकारी ढङ्गले प्रस्तुत गर्नुभएका प्रसाईंले प्रतिष्ठान सबै स्रष्टाहरुको साझा चौतारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई कविता वाचनको माहोलले तताएको थियो । वरिष्ठ कविहरु प्रल्हाद पोखरेल, ठाकुर शर्मा, विमला तुम्खेवा, शैलेन्दुप्रकाश नेपाल, विवश पोखरेल, गीताकेशरी, ब्रम्हप्रियाले कविता तथा मुक्तक प्रस्तुत गर्नुभएको थियो । यस्तै कवि गोकुल अधिकारी, तेजेन्द्र प्रसाईं, बालिका गिरी, कल्पना प्रसाईं, दिपसन खनाल, विमला निरौला, मुकुन्द प्रसाईं, रश्मि रिमाल, यादृक्षा उप्रेती, पुकार तिम्सिना, किशोर उप्रेती, विनोद श्रेष्ठलगायतले पनि कविता प्रस्तुत गर्नुभएको थियो । ड्यासमा आसीन अतिथिहरुले भानुभक्तको जीवनी तथा समसामयिक साहित्यमाथि प्रकाश पार्नुभएको थियो । गायिका कोपिला शिवाकोटी खरेलको लोकार्पण गरिएको एलबमको ‘प्रिय तिम्रो यो न्यानो साथ’ भन्ने गीत अत्यन्तै कर्णप्रिय र उत्कृष्ट भिजुअल रहेको टिप्पणी श्रोताहरुले गरेका थिए । कार्यक्रमको अन्त्यमा अतिथि तथा कविहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । राधिका दाहालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई रिता उप्रेतीले धन्यवाद ज्ञापन गर्दै बिट मार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू