अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

नेपाली घरद्धारा छात्रवृत्तिको लागी निवेदन आह्वान

बिआरटीनेपाल २०७४ असार ११ गते १०:४४ मा प्रकाशित

कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरले हरेक वर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरूप यस वर्षको छात्रवृत्तिको लागी निवेदन आह्वान गरेको छ ।

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितिको हालै सम्पन्न बैठकले यसै वर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० तारिक सम्म निवेदन दिई सक्न आह्वान गरेको हो ।

समितिले निवेदकको लागी क्राईटएरिया समेत तोकेको छ । जसमा यसै वर्ष १२ पास गरेको, कोलोराडोमा बसोबास गरेको, नेपाली समुदायको, समुदायमा सामाजिक क्रियाकलापमा भागलिएको प्रमाणित कागज पेस गर्नुपर्ने, फुल टाइम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको हुनुपर्ने, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखित पत्र समावेश गर्नु पर्ने जनाएको छ । यसको साथै समितिले निवेदकहरुलाई छात्रवृित्तको निवेदनसँगै निबन्ध समेत लेखि समावेश गर्नुपर्ने सर्त राखेको छ ।

जसमा निबन्धको शीर्षक छ,
१. नेपाली घर बनाउन के के अवसर र चुनौती रहेको छ ।
२. तपाईँको भविष्यको योजना केहो र कलेजको डिग्रीले तपाईँको योजना पुरागर्न कसरी सहयोग गर्दछ ।

यी लगायत छुट्टा–छुट्टै ५ विषयमा ८ सय शब्द भन्दा नबढाई लेख्नु पर्ने छ । निबन्धका अन्य शिर्षकहरु र निवेदकले भर्नुपर्ने फारमको ढांचा संस्थाको वेबसाइट “नेपाली घर डट ओआरजी” तथा संस्थाको फेसबुकमा राखिएको छ । संस्थाको वेबसाइट गई फारम डाउनलोड गरी प्रिन्ट गरी भर्न सकिने छ । निवेदकले सम्पूर्ण कागजपत्र स्क्यान गरेर सोही फारममा उल्लिखित इमेलमा वा मेल ठेगानामा पोस्ट गर्नु पर्ने संस्थाले जनाएको छ ।

छनौट समितिले कोलोराडोमा सक्रिय सबै सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, गन्यमान्य, समाजसेवी, व्यवसाही, पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचार प्रसार गरी संम्बधित छात्र छात्रालाई कार्यक्रममा भागलिने अवसर जुटाई दिनहुन अनुरोध गरेको छ ।

अमेरिकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतिको जगेर्ना गराउन तथा उनीहरूलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताइएको छ । यहाँ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरू अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनीहरूको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन सहयोग पुग्ने संस्थाको ठम्याई छ ।

नेपाली घरद्धारा गठित छनौट समितिलाई छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई प्रभावकारी बनाउने, कार्यक्रमलाई निरन्तरता दिने, छात्रवृत्ति दिने श्रोत जुटाउने जिम्मा समेत दिएको छ । नेपालीहरूको भेषभूषा, भाषा संस्कृति, रिती स्थिति, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ क्रियाशील यस संस्थाले आफ्नो नेपालीहरूको भाषा, संस्कृित, संरक्षणको लागी बेला बेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया