अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

नेपाली जन सम्पर्क समितिलाई नेता र गुटको हैन विधि र नीतिको कहिले बनाउने ? – सी.पी. पौडेल

बिआरटीनेपाल २०७४ वैशाख ८ गते १२:२३ मा प्रकाशित

कामका सिलसिलामा, पारिवारिक कारण र राजनीतिक शरण लिन हाल सम्म पनि भारत जानु हामी नेपालीहरूका लागी नौलो कुरा रहेन । उसो त विगत देखि नै भारतमा नेपालीहरूको सङ्ख्या उल्लेखनीय छ । प्रवासमा नेपालीहरूको बाक्लो उपस्थितिका कारण नै २००७ साल पछि नेपाली हक हितका कुरा बिस्तारै उठन थालेको थियो । यिनै कुराहरूलाई ध्यान दिर्दै महानायक वि.पी. कोइरालाले भारतमा सबैभन्दा पहिले जनसंम्पर्क समिति खोलेका थिए । यता २०४६ साल पछि नेपालीहरू विदेश लाग्ने क्रम क्रमशः वढदै गयो । नेपालीहरूको सङ्ख्या जहाँ जहाँ वढदै गयो जनसंम्म्पर्क संस्थाको खाँचो पनि क्रमशः महसुस हुन थाल्यो । यसैले आज संसारका जुन जुन मुलुकमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको छ त्यहाँ जनसंम्पर्क समितिले आफ्नो जरा गाडिसकेको छ ।

अमेरिकाको सन्दर्भमा कुरा गर्दा सन १९९० को दशक पछि क्रमशः अमेरिकामा नेपालीहरू आउने क्रम तीव्र रूपमा वढयो । नेपालीहरूको आगमन सँग सँगै यहाँ पनि जनसम्पर्कको आवश्यकता बिस्तारै महसुस हुन थाल्यो । प्रजातन्त्र प्रति विश्वास राख्ने देशमा आर्थिक क्रान्ति चाहने हामी सबै साथीहरूको साझा समझदारीमा यो संस्थाको जन्म अमेरिकामा पनि भयो । आज साँच्चै कुरा गर्दा जन सम्पर्क समिति अमेरिकामा नेपालीहरू माझ प्रभावसाली संस्था हुन पुगेको पनि छ ।

तर विडम्बना नै भन्नु पर्छ जुन गौरव र प्रभावका बिच जन सम्पर्क समिति अमेरिका स्थापना भएको थियो त्यसको ठिक विपरीत यसका पछिल्ला केही घटनाहरुले जन सम्पर्क को छविमा तुषारोपात गराएको छ । नेतृत्वमा बस्ने केही साथीहरूको व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले सङ्गठन विस्तार विस्तार धरासायी हुन थालेको छ । यसले जन सम्पर्क समिति अमेरिकालाई नेपालीहरू माझ विस्तार विस्तार अलोकप्रिय बनाएको छ । आखिर संस्था यसरी धरासायी हनुमा क-कसको कमजोरी छ ? यो हामी सबै साथीहरू माझ जटिल रूपमा तेर्सिएको आजको जटिल प्रश्न हो ।

विगत एक वर्ष अघिको कुरा कोट्टाउदा नेपालमा भूकम्प जाँदा जनसंम्पर्कको उच्च शाखका कारण छोटो समयमा नै निकै पैसा उठेको थियो । यसका लागी नेतृत्व वर्गमा रहेका हामी सबैको सदासायताले निकै काम गरेको थियो । सबैको देश प्रतिको मनोभावना उच्च थियो । यदि हाम्रो मनोभावले समयमै काम गरेका भए साँच्चै देशलाई त सहयोग पुग्थ्यो नै त्यस भन्दा पर हाम्रो साख पनि अमेरिकामा निकै वढने पक्का थियो ।

तर विडम्बना केही साथीहरूको तुच्छ मनोबृत्ति र आफै हालीमुहाली बन्ने प्रवृत्तिले उल्टो संस्थाको वदनाम हुन पुग्यो । भूकम्पले नेपाली जनता छाना बिनाको रात काट्न बाध्य हुँदा यता उनीहरूको नाममा उठेको पैसा लुछाचुडिमा हाम्रा केही साथीहरू व्यस्त भए । हामी कति कमजोर भयौ भने उठेको पैसा व्यवस्थापन गर्न पनि लगभग एक वर्ष भन्दा बढी समय हामीले वादविवादमै खर्च गरयौ । खैर, त्यो विषय आजका दिनमा समाधान भैसकेको हुँदा धेरै त्यता पट्टि नजाउ ।

विवादै विवाद बिच रुमल्लिएका हामीहरू बिच गत जनवरी १४, डालास एन आर एन साधारण सभामा सबै साथै हिडने सहमति भएको थियो । हालका माननिय परराष्ट्र मन्त्री प्रकाशशरण महत र आदरणीय कल्याण गुरुङ्ग दाइले हाम्रो सहमति गराउनुमा महत्त्वपूर्ण भूमिका थियो । हुन त त्यस पछाडि हामी बिच लेनदेन सम्झौता भएको थियो भन्ने खबर बाहिर नआएका हैनन तर त्यसमा कुनै सत्यता छैन ।

डालासमा सम्झौताको मसी सुक्न नपाउदै गत फ्रेवु्रअरीको पहिलो हप्तामा सम्पन्न जनसम्पर्कको कन्फेरेन्स कलमा अव साधारण सभामा जाने निर्णय गरियो । वास्तवमा साधारण सभा आफैमा नराम्रो होइन तर औचित्य हीन साधारण सभाको विरोध भने सबै तिरवाट हुन जरुरी देखिन्छ । “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भने झैँ आज संस्थाका निर्णयहरुमा विरोध हुन जरुरी छ । संस्थाका बहुसङ्ख्यक कार्यसमिति सदस्यहरूको रोहवहरमा वाधा व्यवधानहरु छिमल्ल सकिने ठाउँ प्रशस्त छन् । त्यतातिर संस्थापनको ध्यान किन गएन ? यसैले विना आधार गरिएका निर्णयहरुको विरोध गर्नु हामी सबैको कर्तव्य हो ।

उता अर्काथरी साथीहरूको काम आगोमा ध्यू थप्न तल्लिन झैँ देखिन्छ । साधारण सभाको औचित्य नदेख्दा नदेख्दै केही साथीहरूले राष्ट्रिय प्रतिनिधि भेला वोलाउनुको पनि कुनै तुक छैन । राष्ट्रिय प्रतिनिधि भेला भनेको साधारण सभा विरुद्ध मात्र परिलक्षित देखिन्छ । यो भनेको जनसंम्पर्क भित्र मुठभेडको राजनीति निम्ताउनु मात्र हो । यस अर्थमा सच्चा जनसंम्पर्कको कार्यकर्ताले कुनै पनि हालतमा नत साधारण सभाको सर्मथन गर्न सकिन्छ नत राष्ट्रिय प्रतिनिधि भेलाको नै ।

भनिन्छ नि, “बच्चा जन्माउन जति असहजिलो होला त्यो भन्दा यसलाई हुर्काउन अझ असहज हुन्छ ।” अहिले जनसम्पर्कको हालत ठिक यस्तै छ । गत वर्ष संस्थालाई अमेरिकी कानुन अन्तर्गत ५०१ सी (३) मा दर्ता गरिसके पछि हामीले कुनै पनि काम गर्दा सोचेर र विचार गरेर गर्नु पर्ने अवस्था छ । हामी पक्का कांग्रशी हौ यसमा दुइमत छैन । हाम्रा कार्यदिशा केन्द्रको नेपाली काँग्रेस परिलक्षित छ यसमा पनि फरक मत नहोला । तर अमेरिकी कानुन मान्नु पनि हाम्रो बाध्यता हो । यहाँको कानुनमा दर्ता भएको संस्था अन्र्तगत सभा सम्मेलन गर्दा माउ पार्टीको झन्डा मुनि कार्यक्रम संञ्चालन गर्नु कत्तिको उपयुक्त हुन्छ ? यहाँ पर्न सक्ने भोलिको जोखिम प्रति साथीहरू सचेत हुन जरुरी छ । यसैले हालको यो विवाद समाधानको भरपर्दो माध्यम भनेको दुवैले आ आफ्नो हठ त्यागी मध्यमार्ग अपनाउनु नै उत्तम हुन्छ । त्यो मध्यमार्ग का लागी दुवै सम्मेलन हालका लागी स्थगीत हुन जरुरी छ । अस्तु:

(लेखक वर्तमान नेपाली जनसंम्पर्क समिति अमेरिकाका निर्वाचित उपसभापति तथा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य हुनुहुन्छ)

प्रतिक्रिया