अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

शुभकामना – शान्तिराम ढकाल

बिआरटीनेपाल २०७३ चैत ३० गते १०:३४ मा प्रकाशित

वसन्तको पालुवा सँगै
सुदर यो धरातल भित्र
छरिएका मोतिका दानाहरु
विश्वास छ
कसिलो धागोमा उन्छौ होला
धरहरा चढ्ने मेरो अभिष्टता
जीवन्त रुपान्तरित हुन्छ होला

मनहरुको धमिलोमा मलाइ चाह छ
टाँसिएको धुलो मेलम्ची भएर बग्छ होला
हे नयाँ वर्ष
बाग्मतीका काँध भएर मखमली
सयपत्री फूल्ने छन्

बगरबाट छोरो पनि त फर्कन्छ होला यसपालि
आफ्नै पौरखमा
सिमानाहरूमा बाँध कस्छ होला
काख रित्तिदैन होला
हे नयाँ वर्ष
मलाइ विश्वास छ तिम्रो आगमनमा अब

छरपष्टिएका लवेदा सुरुवालहरु
मायाले पट्टयाएर पहाड हिमाल समथर
धोती गाम्छा मजेत्रो ओढौला
तुसारो पक्कै पनि पर्दैन खाल्डोमा अब
परालका खुट्टाले धर्ती टेकीदैन पक्कै पनि
हे नयाँ वर्ष
तिम्रो आगमन सँगै फराकिलो फाँटमा

खुम्चिदैनन होला अब मनहरू साङ्गुरिएर
होचो अग्लो मिल्छ होला
कम्पनका प्रतिरोधहरु
उठ्नेछन अब ढाल भएर
उज्यालो खुसीको दीपमलिका सँगै
सिङ्गो मेची काली हिमाल बेंशी त्यो पहेँलो फाँट ओढ्छ
अब निलो आकाश एकै भएर
विश्वास अबको त्रिशुली नखसोस
तिमीलाई सु-स्वागतम शुभकामना
आऊ नयाँ वर्ष
—————————————————–

विक्रम सम्बत २०७४ को सबैमा शुभकामना

प्रतिक्रिया