अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

न्यूयोर्कमा कविता सङ्ग्रहको विमोचन तथा विवेचना”

बिआरटीनेपाल २०७३ पुष ६ गते ११:५५ मा प्रकाशित

न्यु योर्क । डिसेम्बर २१, २०१६ बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ), न्यु योर्क च्याप्टरको आयोजनामा कवयत्री विजया सिम्खडाको पहिलो कविता सङ्ग्रह ‘श्याम श्वेत’ गत आइतबार यहाँ आयोजित एक समारोहमा विमोचन गरियो । सो कार्यक्रममा कवि राजेन्द्र श्रेष्ठको पहिलो कविता सङ्ग्रह ‘आँकुरा’ र कवयत्री शकुन ज्ञवालीको दोस्रो नयाँ कविता सङ्ग्रह ‘तिमी र म’ को न्यूयोर्कका साहित्य सर्जकहरु द्वारा विवेचना गरिएको थियो ।
कवयत्री शकुनको ‘तिमी र म’ गत कार्तिक १२ गते पोखरामा विमोचन गरिएको थियो भने कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ कार्तिक २५ गते काठमाण्डौमा विमोचन गरिएको थियो । कवयत्री शकुन ज्ञवालीको पहिलो कविता सङ्ग्रह ‘पालुवा र मन्जरी’ हो । ny-3

न्यूयोर्कका वाणिज्यदूत एवं कवि कृसु क्षेत्रीको प्रमुख आतिथ्य र अनेसास न्यु योर्क च्याप्टरका अध्यक्ष एवं कविता सङ्ग्रह ‘आँकुरा’ का कवि राजेन्द्र श्रेष्ठको सभापतित्वमा न्यूयोर्कको ज्याक्शन हाईट्समा सम्पन्न सो कार्यक्रममा संचारकर्मी शैलेश श्रेष्ठले विजया सिम्खडाको ‘श्याम श्वेत’ का बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । यसै गरी कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ को बारेमा साहित्यकार ज्योति पौडेलले र शकुन ज्ञवालीको ‘तिमी र म’ को बारेमा साहित्यकार गीता खत्रीले विवेचना गर्नु भएको थियो । ny-2

साहित्यकारद्वय मणी बांग्देल र लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा उद्घोषण गर्नु भएको सो कार्यक्रममा न्यु योर्क तथा वरपरका साहित्यानुरागी नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रम रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरी संसारका सबै कुनामा रहेका नेपाली समुदाय माझ पुर्‍याउन सहयोग गरेको थियो । ny-1

(फोटो: बद्री पौडेल)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू