अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

पृथ्वीनारायणको प्रशंसामा गणतन्त्रवादी

बिआरटीनेपाल २०७३ पुष २ गते १९:५० मा प्रकाशित

पृथ्वीनारायण शाह राष्ट्रनिर्मातासँगै मुलुकको प्रगति, अखण्डता र एकताका स्वप्नदर्शी रहेको विश्लेषण प्रमुख दलका प्रबुद्ध नेताहरूले गरेका छन् । पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा २९५ औं पृथ्वीनारायण शाह जयन्ती नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाली राष्ट्रियता र राष्ट्र निर्माता शाह’ विषयक कार्यक्रममा गणतान्त्रिक आन्दोलनमा सहभागी नेताहरूले समेत पृथ्वीनारायणमा ‘स्टेटम्यानसिप’ रहेकै कारण उनी नेपाल र नेपाली रहेसम्म सम्मानित राजा रहिरहने धारणा व्यक्त गरे ।

नेताहरूले भने, ‘मुलुक अत्यन्त जटिल र कठिन स्थितिबाट गुज्रँदै गएको वर्तमान अवस्थामा स्टेटम्यानसिपको खडेरी छ ।’ मुलुक विदेशीको ठाडो हस्तक्षेपबाट अघि बढ्न लागेकाले राष्ट्रको रक्षार्थ परेमा संघीयता, राजतन्त्र र धर्म निरपेक्षतामाथि जनमतसंग्रहमा जान नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले सुझाए ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफ्नो राजनीतिक सिद्धान्तले राजतन्त्र नमाने पनि पृथ्वीनारायण शाहकै एकीकरण अभियानद्वारा आज नेपाल र नेपालीको अस्तित्व रहेको बताए ।

वर्तमान राज्य व्यवस्थाले पृथ्वीनारायण शाहको सही मूल्यांकन गर्न नसकेको आरोप पनि लगाए उनले ।पृथ्वीनारायण शाहको बखानसँगै राजतन्त्र र हिन्दु नेपालको आवश्यकता औंल्याउँदै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले आफ्ना पूर्वनेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्र विभाजनको खलनायकका रूपमा उभ्याए ।

४६ को परिवर्तनपछि राज्य बीपी कोइरालाको नीतिमा अघि बढ्न नसक्दा आज धराशायी भइरहेको दाबी उनको थियो ।

गणतन्त्र २०६२\६३ को आन्दोनलमा नउठेको तर गिरिजाको लाहाछापमा आएका संघीयता र धर्मनिरपेक्षता स्वीकार्य नभएको भन्दै संघीयता, राजतन्त्र र हिन्दु राष्ट्रमा जनमतसंग्रहको माग खड्काले गरे । यस्तै कांग्रेस नेता रामशरण महतले शाह नेपालको एउटा सच्चाा छोरा भएको बताएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू