अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

जोरपाटी प्रहरी बिट आक्रमणको नयाँ रहस्य खुल्यो,शारिरिक सम्पर्कको लफडाले राजु लामाको ज्यान गयो

बिआरटीनेपाल २०७३ मंसिर ३० गते १:३७ मा प्रकाशित

गत आईतवार जोरपाटीको महानगरीय प्रहरी बिट नयाँबस्तीमा स्थानियले प्रहरी बिटमा आक्रमण गरेर ५ जना प्रहरीलाई पेट्रोल छर्की जिउँदै जलाउने प्रयास गरेको घटनाले नयाँ मोड लिएको छ । प्रहरीले पक्राउ गरेर हत्या गरेको आरोप लगाएका जोरपाटीका ट्याक्सी चालक राजकुमार (राजु )लामाको मृत्यु पछि नयाँबस्तीका स्थानियले प्रहरी बिट र प्रहरीमाथी आक्रमण गरेका थिए । प्रहरीले उपचारका क्रममा लामाको मृत्यु भएको र नयाँ बस्तीका रक्सी भट्टीले सो क्षेत्रमा दिनहुँ तनाव सृजना भएकाले साँझ ८ बजेसम्म सबै भट्टी पसल बन्द गराउन प्र्रहरीले दिएको निर्देशनबाट रुष्ट भएका भट्टी पसलेहरुले रिस फेर्न प्रहरीमाथी झुटो आरोप लगाई प्रहरी बिटमा आक्रमण गरेको हुनसक्ने बताएका थिए ।

प्रहरीले गम्भिरता पूर्वक अनुसन्धान गरिरहेको यो घटनाको रहस्य खुलेको छ । लामाको मृत्यु प्रहरीको कुटपिटबाट नभई शारिरिक सम्पर्कको लफडाले भएको थियो ।

 

यसरी भयो राजकुमार (राजु ) लामाको हत्या:

राजुले शनिबार दिउँसो प्रहरी बिट नयाँबस्ती अगाडि रहेको हेलम्बु रेष्टुरेन्टमा गएर मदिरा पिएका थिए । जुन सोलु काँकुकी संगीता राईले सञ्चालन गर्दै आएको रेष्टुरेन्ट हो । राजुलाई काभ्रे छर्तीछापकी सरिता तामाङ (नाम परिवर्तन)ले मदिरा दिएकी थिईन् ।दिउँसो मदिरा पिएर निस्केका राजु पुन साँझ ६ हेलम्बु रेष्टुरेन्ट आए र फेरी मदिरा पिउन थाले । रेस्टुरेन्ट आउने जाने क्रममा चिनजान भएकी सरितालाई राजुले साँझ रक्सीले मातेकै सुरमा आफुसंग दोहोरी साँझ जान आग्रह गरे र सरीता राजी भईन् । राति साढे आठ बजे सरिता राजु

सँग बा २ ज २२३ नम्बरको ट्याक्सीमा चढेर रेष्टुरेन्टबाट बाहिरिएकी थिइन् । दोहारी साँझ जान भनेर हिंडेका राजु र सरिता चढेको ट्याक्सी गौरीघाट तर्फ जाने क्रममा एरिना फुटसल नजिकै फंसेपछि दुवै जना दोहारी साँझ नगई अर्को ट्याक्सी चढेर राति साढे नौ बजे संगीताकै रेस्टुरेण्टमा फर्कीए । रेष्टुरेन्टमा पुगेका राजकुमार र सरिताबीच शारीरीक सम्पर्क समेत भएको सरिताले बयान दिएकी छन् । राजुले सरितालाई शारिरीक सम्पर्क गरे वापतको पैसा दिने बताएपछि सरिता राजी भएर दुवैको सहमतिमा शारिरीक सम्पर्क भएको थियो । तर राजुले शारिरीक सम्पर्कपछि सरिताले पैसा माग्दा आफुले पैसा बुझाई सकेको बताएका थिए तर पैसा सरिताले पाएकी थिईनन् । यहि कुराले राजु र सरिता बिच भनाभन सुरु भयो ।

मदिराले लठ्ठीएका राजकुमालाई सरिताले रिसको झोकमा धकेल्दा राजु भुइँमा पछारिए । यो घटना हेरिरहेका संगीताका भाइ मागधन राईले नजिकैको धारा नेर रहेको पर्खालको इँटा टिपेर राजुलाई प्रहार गरे । राजु अचेत भएपछि सरिता सोही रेष्टुरेन्टको दोस्रो तलामा गएर कपडा फेरेर सुतिन् ।

रेस्टुरेण्ट सञ्चालिका संगीता राईका छोरा अरुणलेले राति राजकुमार लडिरहेको देखेपछि आफ्नी आमा संगीतालाई बोलाएका थिए । संगीताले तत्काल प्रहरीमा जानकारी गराएपछि प्रहरी र संगीताका परिवारले राजुलाई ट्याक्सीमा राखी उनकै साली नाता पर्ने उषा तामाङलाई बोलाएर अस्पताल पठाएका थिए ।

सुरुमा बौद्ध स्तुपा अस्पताल लगिए पनि राजुको बाटोमै मृत्यु भइसकेको बताएपछि पुनः अत्तरखेल स्थित काठमाडौं मेडिकल कलेजमा पु्‍र्याईएको थियो । मेडिकल कलेजका चिकित्सकले राजुको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

घटनामा प्रहरी संलग्नता नदेखिए पनि  राजुलाई ट्याक्सीमा राखेर आफन्त बोलाउन पुगेका बिटका प्रहरीले घटनाको दोषी पक्राउ गर्न भन्दा पनि घटनालाई लुकाउन खोजेजस्तो गरेकोले यो घटनामाथि थप अनुसन्धान भईरहेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने,‘ राजकुमार राजुलाई इँटा प्रहार गर्ने र उनीसँग झगडा गर्ने सवालमा प्रहरी संलग्नता अहिले सम्म देखिंदैन तर बिटका सुरक्षाकर्मीले आफ्नै अगाडी त्यत्रो घटना हुँदा संवेदनशीलता नबुझी पन्छिन खोजेको जस्तो देखिन्छ, थप अनुसन्धान गर्दैछौं ।’

खनालले रेष्टुरेन्ट संचालिका संगीता मार्फत् बिटका प्रहरीले केही सहयोग लिंदै आएको आशंका पनि गरेका छन् । ‘सर्वसाधरणको सुरक्षार्थ खटिने प्रहरीमाथि नै किन जाईलागे, बिट तोडफोड र आगजनी किन गरे भन्ने प्रश्न आउनु स्वभाविकै हो, प्रहरीका कमजोरी पक्ष पनि हुनसक्छन्, हामी केलाउँदै छौं, दोषी देखिए कारबाही गर्छौँ, एसएसपी खनालले भने ।

राजु लामाको हत्या आरोपमा प्रहरीले संगीता राई, सरिता र मागधन राईलाई नियज्त्रणमा लिएको छ भने घटना थाहा भएर पनि लुकाएको आरोपमा प्रहरीले संगीताका छोरा अरुण माझी र बुहारी दिया माझीलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू