अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

ह्लाइल इन काठमाण्डूका विकास खरेल

बिआरटीनेपाल २०७४ भदौ ६ गते १६:१५ मा प्रकाशित

दाबा त गर्न नसकिएला तर नेपाली-अमेरिकनहरुमा सायद सबभन्दा कम उमेरमा यत्तिको व्यावसायिक सफलता पाएकामा पर्छन् होला रिजवुड, न्यूयोर्कका २३ वर्षीय रेष्टुरेण्ट व्यवसायी विकास खरेल। हालसालै मात्र न्यु योर्क स्थित १०९ वर्ष पुरानो डेमोक्रेटिक क्लबले ‘बिजिनेस पर्सन अफ द ईयर’ भनेर सम्मानित खरेल परिवारका साथ नेपालबाट अमेरिका आएको दश बर्षमात्र भएकोछ। हि-पप सङ्गीतका पारखी खरेलको नेपालमा घर भरतपुर (लंकु), चितवन हो। विकासको परिवारले आफ्नै रेष्टुरेण्ट व्यवसाय सुरु गरेको धेरै भएको छैन। २०१२ मा साझेदारीमा रेष्टुरेण्ट सुरु गरेका उनको परिवारको न्यु योर्क वरपर नै चारवटा रेष्टुरेण्ट भैसकेकाछन्। रिजउड मै अर्को ‘नेपाली इण्डियन रेष्टुरेण्ट’ छ भने केही व्यूटी/नेल्स शेलनहरु पनि सञ्चालनमा छन्। नेपाली जनसम्पर्क समिति मार्फत अमेरिकामा चिनिएका सामाजिक व्यक्तित्व हुन्, विकासका पिता वेद खरेल । उनको बुवाले सुरु गरेको व्यवसायलाई २०१४ बाट सम्हाल्न सुरु गरेपछिको छोटो समयमा नै निकै राम्रो प्रगति गरेकाछन् युवा व्यवसायी विकासले।

व्हाइल इन काठमाण्डू
झट्ट सुन्दा काठमाण्डुको कुनै म्यूजियम वा पुस्तकालय पो हो कि भन्ने जस्तो लाग्ने ‘ह्लाइल इन काठमाण्डू’ रिजवुड, क्वीन्स, न्यूयोर्कमा भर्खरै खुलेको विकासको नयाँ रेष्टुरेण्टको नाम हो। विकास यसलाई ‘क्याफे’ भन्न रुचाउँछन्। बाहिरी र भित्री दुवै सजावटले समेत परम्परागत नेपालीपन झल्कने उनको क्याफेले साँच्चैमा नेपालीपन बोकिरहेकोछ। परदेशको आर्थिक र सामाजिक उन्नतिलाई मातृभूमिसंग जोड्ने उनको चाहनालाई क्याफेको नामैबाट उजागर गरेका छन् विकासले । (Queens) क्वीन्सको बाक्लो नेपाली/ एसियन बस्तीमा उनको रेष्टुरेण्ट नजिक पुग्दा थुप्रै नेपालीहरूलाई काठमाण्डौंका सडक-गल्लीहरुमा पाइला नापिरहेको आभास मिल्दोरहेछ। नेपाल पुगेर फर्केका कति अमेरिकनहरुलाई ‘ह्लाइल इन काठमाण्डू’ले नेपालका ‘टिपिकल’ नेपाली शैलीका रेष्टुरेण्टको सम्झना ताजा गराउँछ रे।

नेपाली शैली र परिकारलाई प्राथमिकताका साथ पस्कने सोचले नै उनले यो नयाँ क्याफे शैलीको रेष्टुरेण्ट सुरु गरेकाहुन्। कोदो, फापरको रोटी, मासको बारा, सेलरोटी, नेपाली कफी, झोल मम इत्यादि व्हाइल इन काठमाण्डूको शुरुवाती मेनु हुन्। ग्राहकहरू टाढा-टाढा देखि पनि आउने र नेपाली खानाको अर्डर गर्न थालेकाले केही समय पछि नेपाली थाली/ ढिंडो र लोकल कुखुराको मासु, मकैको च्याँख्ला, साँदेको गुन्द्रुक जस्ता रैथाने नेपाली खानेकुरा समेत मेनुमा थप्ने बिचारमा छन् उनी। रिजउडमा सफल भएपछि भविष्यमा ‘व्हाइल इन काठमाण्डू’को नेपाली फ्रेन्चाइज सुरु गर्ने लक्ष्यछ विकासको।अमेरिकाको विभिन्न सहरमा नेपाली कफी, नेपाली ‘ब्रेकफास्ट’ र खानाका परिकार ‘प्रमोशन’ गर्न सकियो भने धेरै नेपालीहरूका लागि व्यवसाय र रोजगारीको अवसर सृजना हुनसक्ने उनको अनुमानछ ।

व्हाइल इन काठमाण्डूलाई विभिन्न भाषा र क्षमताका आर्टिष्टहरु, सङ्गीतका साधकहरुले पनि आफ्नो कला प्रस्तुत गर्ने स्थानका रूपमा लिउन् भन्ने उनको बिचारछ।त्यसैले त कहिले ल्याटिनो, कहिले हि-पप, कहिले पाश्चात्य सङ्गीतले गुन्जिने मौका पाइरहन्छ उनको नयाँ क्याफेमा।स्थानीय नेपाली कलाकारहरूले पनि आफ्नो कला प्रस्तुत गर्ने थलोको रूपमा व्हाइल इन काठमाण्डूलाई लिउन् भन्ने लाग्छ उनलाई। नेपाली गीत-सङ्गीतलाई विदेशी भूमिमा प्रबर्द्धन गर्न उनलाई पनि मन रहेछ। रेष्टुरेण्ट सम्हाल्नु पहिले विकास हि-पप सङ्गीतमा निकै रमेका पनि थिए। फोटोग्राफी, वेभ डिजाइनिंग, र म्युजिक भिडियो बनाउने रुचि भएका विकास अब हि-पप सङ्गीतलाई सकारात्मक ढङ्गले प्रस्तुत गर्ने तरखरमाछन् र संभवत जङ्गल कम्पनीको नामबाट २०१७ को अन्त्यसम्ममा हि-पप शैलीको उनको गीतको मज्जा लिन सकिने संभावनाछ। ‘रेष्टुरेण्टलाई सामाजिक, साङ्गीतिक र व्यावसायिक संगमको रूपमा लिइनु पर्छ’, विकास भन्छन्। त्यसैले ‘व्हाइल इन काठमाण्डू’को व्याकयार्डलाई न्यूयोर्कका नेपाली युवा व्यवसायीहरुले Stemp NYC को नामबाट नेपालमै बनेका ‘हेम्प क्लथिंग’को प्रबर्द्धन गर्न ‘पप-अप मार्केट’को रूपमा समेत प्रयोग गर्नसक्ने माहौल बनाउँदैछन्, विकास। आफ्नो व्यवसाय सँगसँगै नेपाल र नेपालीको समेत राम्रो होस् भन्ने चाहनाले होला उनको क्याफेले राम्रो गर्दै गयो र नेपाली कफीको माग बढ्न थाल्यो भने भविष्यमा नेपालमा स्थानीय किसानहरुसंगको सहकार्यमा अर्ग्यानिक कफी खेती र प्रशोधनमा समेत लाग्ने ईच्छाछ विकासको। व्हाइल इन काठमाण्डूलाई क्याफे मात्र होइन चल्तीको ब्राण्ड बनाउने रहरछ उनलाई । परिवार र स्थानीयको गतिलो आड्-भरोसा पाएकाले होला, सामाजिक र आर्थिक दुवै कारणले ‘छलांग’ मार्न सक्ने तागत राख्छ भन्ने लाग्दोरहेछ विकासलाई, ‘व्हाइल इन काठमाण्डू’ ले ।

नेपाली समुदायलाई परेको बेला जहिल्यै सहयोग गर्न तत्पर हुने खरेल परिवार रिजउड/न्यू योर्कमा सामाजिक अगुवा मै दरिन्छ। स्थानीय स्तरमा हुने नेपालीहरूको सबैखाले कार्यक्रममा सहयोग गर्ने विकासको परिवारले नेपालमा समेत आफ्नो टोलमा एम्वुलेन्स सहयोग गरेकोछ भने अन्य सामाजिक अभियानहरुमा पनि सहयोग गरिरहेकोछ।

व्यवसायिक सफलता र सिकाई

कडा र निरन्तरको परिश्रम अनि कामलाई पूजा गर्ने खरेल परिवारको मान्यताको नतिजा रहेछ विकासको अहिलेको व्यावसायिक प्रगति। २००१ मा अमेरिका आएका विकासको बुवाले साधारण ग्रोसरी स्टोर देखि रेष्टुरेण्टको काम गरेर मेहनत र इमान्दारीले कमाएको पैसा र सामाजिक प्रतिष्ठाको बलले ठडिएकोछ अहिलेको विकास खरेलको व्यावसायिक सफलता। पारिवारिक व्यवसायलाई निरन्तरता दिन अभिभावकको ‘गाइडेन्स’ र माया दुवै चाहिने रहेछ भन्ने राम्ररी बुझेका उनीसँग बुवाले सुरु गरेको व्यवसायलाई आधुनिकता र बिविधिकरणका साथ अगाडि लैजाने जोस र जाँगर दुबैछ। उनको फरक शैलीको क्याफे व्यवसायलाई न्यूयोर्कका स्थानीय समाचार संस्थाहरूले समेत निकै महत्त्व दिएको देखिन्छ।

‘व्यवसाय जोस, जाँगर, पारिवारिक सहयोग र पैसाले मात्र चल्दैन, ग्राहकहरुलाई गरिने आदर र सम्मानपूर्ण व्यवहारले नै स्थानीय रूपमा स्थापित हुन सघाउ पुगेको हो’, विकास भन्छन्। सबैथरिका ग्राहकसंग गरिएको नेपालीशैलीको सत्कार र नेपाली परिकार नै उनीहरूको ग्राहकसंगको मजबुत सम्बन्धको कडी हो। नेपाल बाहिर पनि नेपाललाई चिनाउन खोजिरहने उनीहरूको मन र व्यवहारले उनीहरुसम्म न्यु योर्क वरपरका नेपाली लगायत स्थानीय ग्राहकहरुलाई समेत खिचिरहे जस्तो छ ।

sujan_pandit@yahoo.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू