अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

यो फिल्मबाट राम्रै आशा राखेको छु – सन्तोष

बिआरटीनेपाल २०८० मंसिर ३० गते २०:२८ मा प्रकाशित

२२ वर्षदेखि मनभित्र ठुलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रै गरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरूको र अभिनयका नवरसहरूमा आफूलाई नियाले । घरी नक्कल उतारे, घरी आफैलाई जगाए। टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे। उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भए । छोराको हातमा क्यामरा थमाउँदै खिच्न सहयोग माग्दा बाबुको हर्कतका कारण हैरान छोराले मुखै फोरेर दिक्दारी पोख्यो-ओ ड्याड कम अन । ‘चित्रा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका अधिकारीले आफ्नो अभिनयको उत्कठ चाहाना ‘सिनोप्सिस’ सुनाए । त्यसो त उनी ‘आमा’, ‘घर’ लगायतका सिनेमाका निर्मातामध्येका एक हुन् । निर्माताको अनुभवपछि उनी अभिनयको परीक्षा दिन तयार भएका छन् । पुस २९ गते ‘चित्रा’ रिलिज हुँदैछ । फिल्मलाई लिएर उनी उत्साहित छन् । डबिङमा आफूलाई पर्दामा हेर्दा दंग परेका उनले यो फिल्मबाट राम्रै आशा राखेका छन् । उनको यही फिल्म र उनको डेब्यू यात्राका बारेमा कुरा गर्दा उनी यस्तो सुनिए-

‘चित्रा’को मन परेको कुरा के हो?
– कन्टेन्ट।

चित्रमा जुन तपाईँले निर्वाह गर्नु भएको पात्र छ, त्यो पात्रलाई कसरी न्याय गर्न सक्छु जस्तो लाग्यो ?
– यो एउटा बाबुको भूमिका हो, जसका सन्तानहरू छन्। म आफै पनि एउटा बाबु हुनुको नाताले यसको भावना राम्ररी बुझ्छु।

पर्दाभित्र र बाहिरको बाबुमा के फरक हुन्छ नि ?
– पर्दामा पनि वास्तविक जीवनका भोगाइहरूलाई नै प्रस्तुत गर्ने हो, केही संशोधनसहित । त्यसैले त्यसले बोक्ने भावनामा उति सारो फरक छैन ।

यसका लागि के कस्तो तयारी गर्नुपर्‍यो ?
– व्यापकचाहिँ नभनूँ। जीवनले धेरैकुराहरु सिकाएको छ, अब एक्टिङ सिकेको आदि इत्यादी कुराहरू गरेर त्यसलाई ज्यादा उच्च कुरा गरियो पनि नभनूँ। मैले यस पात्रलाई प्रत्येक पलहरूमा अनुभव गरेको छु । त्यही अनुभवको अनुभूतिलाई पात्रसँग जोडेको छु। यसमा अभिनय सिकेको, नाच सिकेको कुरालाई म एउटा गणित ठान्दछु। त्यही गणित र अनुभवको अनुभूतिलाई मिसाएर मैले यो पात्रमा आफूलाई उभ्याउने काम गरेको छु। यसका लागि केही समय भने लाग्यो मलाई। यो पात्रका विभिन्न चरणहरूलाई सूक्ष्म ढङ्गले अध्ययन गरेर यसो गर्दा ठिक हुन्छ वा यसचाहिँ गर्दा गज्जब हुन्छ भन्ने ठानेर गरेको छु।

तपाईँको परिभाषामा एउटा अभिनेता के हो ?
– आफ्नो भूमिकालाई अभिनयका माध्यमबाट न्याय गर्न गर्न सक्ने मान्छे, जसले आफ्नो चरित्रको सूक्ष्मतालाई समेत प्रस्तुत गर्न सक्छ।

‘चित्रा’मा गरेको भूमिकामा आफूले कति न्याय गरेछु जस्तो लाग्छ?
– डबिङमा हेर्दा मैले मेरो पात्रलाई सयमा सय न्याय गरेको छु भन्ने भान भयो। म आफ्नो प्रशंसा आफै गरेर रमाउने मान्छे होइन, अरूले गर्दा मात्र आफ्नो कामले न्याय पाउँछ भन्नेमा विश्वास राख्छु। दर्शक बनेर हेर्दा म आफै दंग परेँ, मैले न्याय गरेछु भनेर।

यो फिल्मबाट तपाईंलाई प्राप्त हुने कुरा के हो?
– यसले सन्तोष अधिकारी एउटा अभिनेता हो भन्ने परिचय दिन्छ जस्तो लाग्छ।

अभिनेता भएँ भनेर भन्नलाई तपाईँको कति वर्षको मेहनत पर्‍यो?
– २२ वर्ष नै भनम्, अब गणितीय मेहेनतचाँहि ४-५ वर्ष भनम् न। बिचमा कोरोना महामारी आयो त्यो बेलामा मोबाइलमा आफूलाई थुप्रै पटक रेकर्ड गरेर हेरे। मैले यो काम यति गरेँ कि मेरो पारा देखेर मेरो बच्चा र पत्नी हुनसम्मको दिक्क भए । टिकटक पनि बनाएँ, यसका लागि छोराको सहयोग माग्थे, ऊ यत्ति दिक्क भयो कि ‘ओ ड्याड कम अन ‘ भन्थ्यो। त्यो सम्मको अवस्था भयो। म फेरि गर्नुपर्छ भनेपछि लागिपरेको पर्‍यौ गर्ने मान्छे परेँ।

फिल्ममा निर्मातासमेत हुनुहुन्छ, त्यसैले यसको सारा जस अपजस तपाइमाथि आउने वाला छ, त्यसका लागि तयार हुनुहुन्छ?
– म सबै कुरा फेस गर्न तयार भएरै आएको हुँ । अब यसमा आउने भनेको युनिभर्सल कमेन्टहरू हुन्, तिनले मलाई खुसी नै दिन्छ । मान्छेले आफूले गरेको गल्ती स्वीकार गर्ने क्षमता राख्नुपर्छ। मैले त कुनै गल्ती गरेको नै छैन । यसमा म कार्यकारी निर्माता मात्र हो, निर्मातामा अरू साथीहरू हुनुहुन्छ । नाम देखिँदा म अगाडि छु, त्यस कारणले म जेजस्तो परिणाम आउँछ त्यसको सामना गर्न तयार छु।

‘चित्रा”को विषयवस्तु मन परेको छ भनेर अघि भन्नुभयो, मन परेको विषयवस्तु कति प्रतिशत पर्दामा रूपान्तरण भएको पाउनुभयो ?
– मैले ६०-७० प्रतिशत रूपान्तरण भएको पाएको छु। निर्देशकको कोणबाट त निर्देशकले उचित जवाफ दिनुहुनेछ यसमा । फेरि मलाई यो पनि थाहा छ कि स्क्रिप्टको ३०-४० प्रतिशत निकाल्न सक्नु भयो भने पनि त्यो फिल्म सफल हुन्छ।

यो फिल्ममा सबैभन्दा बढी मन परेको कुराचाहिँ के हो?
– यसमा मन परेको कुरा एउटा मात्र छैन, दुई चार वटा नै छन्। फ्यामिली ड्रामा, एक्सन, गीतसंगीत सबै नै मन परेको छ।

कुन खाले दर्शकले यो फिल्मलाई मन पराउलान्?
– यो सब खाले दर्शक लक्षित पारिवारिक फिल्म हो। पारिवारिक कथावस्तु त्यसमाथि बाबु छोरीको कथा भएकाले यो वर्ग विशेष भन्दा सबै दर्शकको रोजाइमा पर्ने फिल्म हो । अस्ति भर्खर हामीले १० वर्ष मुनीका बालबालिकालाई निःशुल्क फिल्म देखाउने कुरा सार्वजनिक गरी नै सकेको कुराबाट पनि यो फिल्म सबै दर्शकका लागि हो भन्ने त छर्लङ्ग भइसक्यो।

फिल्ममा तपाईंलाई कुनै कुरा गर्दा गाह्रो सजिलो के भयो?
– त्यस्तो केही गाह्रो त भएन । फाइट आदि कुराहरू पहिले नै पूर्वा अभ्यास प्रशस्त गरेँ। अब काम गर्दा भएको शारीरिक थकाइलाई त के गाह्रो भयो भनेर भन्नु होला ।

आफू बाहेक फिल्ममा कस्को काम धेरै मन पर्‍यो?
– म बाहेक यो फिल्ममा सबै प्रमाणित अभिनेताअभिनेत्रीहरु हुनुहुन्छ, यस्तोमा मैले मलाई को धेरै मन पर्‍यो भनेर मूल्यांकनसहित भन्ने मेरो क्षमता छैन, बरु उहाँहरूलाई सोध्नुहोला म कस्तो अभिनेता निस्किए भनेर?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू