क्लिन्टन चुनावी प्रचारमा फर्किइन्

विआरटि नेपाल सम्बाददाता

Published on September 16, 2016 at 8:41 am

हिलरी क्लिन्टन, अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार

अमेरिकामा नयाँ राष्ट्रपति पदका लागि आउँदो नोभेम्बरमा निर्वाचन हुँदैछ अमेरिकी राष्ट्रपति पदको लागि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टन, श्वासप्रश्वाससम्बन्धी रोग निमोनियाबाट निको भएपछि पुन: चुनावी प्रचारप्रसारमा फर्किएकी छन्। उनले पुन: यसरी अभियानमा फर्कँदा आफूले असाध्यै राम्रो अनुभव गरेको बताएकी छन्। नर्थ क्यारोलाइनास्थित ग्रीन्जबरामा समर्थकलाई उनले बिरामीबाट तङ्ग्रिनको लागि घरमा बस्दा आफूले चुनावी अभियानको शान्त समीक्षा गर्ने दुर्लभ मौका पाएको बताइन्।

श्वासप्रश्वाससम्बन्धी रोग निमोनिया देखिएपछि तीनदिन आफ्नो चुनावी प्रचार प्रसारबाट बिदा लिएर बसेकी हिलरीले त्यसयताको आफ्नो पहिलो र्याली सम्बोधन गर्दै यस्तो बताएकी हुन्। उनका चिकित्सकले उनी स्वस्थ्य र तन्दरुस्त छिन् भनेको भोलिपल्ट उनी चुनावी अभियानमा फर्किएकी हुन्।

बिरामीबाट तङ्ग्रिनका लागि घरमा आराम गर्दा आफ्नो चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ भनेर समीक्षा गर्ने एउटा दुर्लभ अवसर पाएँ

चिकित्सकले दिएको रिपोर्ट अनुसार उनको कोलेस्ट्रोल र मुटुको धड्कन सबै सामान्य अवस्थामा छन्। नर्थ क्यारोलाइनामा समर्थकलाई सम्बोधन गर्दै उनले भनिन्, “बिरामीबाट तङ्ग्रिनका लागि घरमा आराम गर्दा आफ्नो चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ भनेर समीक्षा गर्ने एउटा दुर्लभ अवसर पाएँ।”

र्यालीमा बोल्दै क्लिन्टनले आफूलाई मानिसहरूले सबै खालको आरोप लगाएको बताइन्। उनले भनिन्, “मानिसहरूले मलाई विभिन्न किसिमका आरोप लगाए, सम्भवत तपाईँहरूले देख्नु नै भयो होला। तर कसैले पनि मलाई मैले चुनाव छोड्न आँटे भनेर आरोप लगाएनन् र म अवस्था जति नै कठिन भए पनि कहिल्यै पछि हट्नेवाला छैन।” मत सर्वेक्षणले क्लिन्टन उनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पसँग कसिलो दौडमा रहेको देखाएको छ भन्ने समाचार बिबिसीमा छापिएको छ ।

Loading...

यसमा तपाइको मत