अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

मनसुनजन्य विपद्का घटनामा परी १२० जनाको मृत्यु

बिआरटीनेपाल २०८१ साउन १ गते ६:४९ मा प्रकाशित

मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार यो संख्या नेपालमा मनसुन सुरु भएदेखि मंगलबार साँझसम्मको हो । यसवर्ष गत जेठ २८ गते मनसुन सुरु भएको थियो । मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्का घटनामा १२० जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोसी प्रदेशमा २२ जना, मधेसमा ५ , वाग्मतीमा १५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जनाको मृत्यु भएको छ । विपद्का घटनामा परी काठमाडौं उपत्यकामा ८ जना, कोसी प्रदेशमा ३४ जना, मधेसमा ९ जना, वाग्मतीमा ७ जना घाइते छन् । त्यस्तै, गण्डकीमा २८, लुम्बिनीमा ९, कर्णालीमा २९ र सुदूरपश्चिममा ११ गरी १३५ जना घाइते भएका छन् ।

कोसीमा ४१ र गण्डकीमा १२ जना गरी कुल ५३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी कोसीमा २ जना, मधेसमा १ , वाग्मतीमा २ तथा गण्डकी, कर्णाली र सुदूरपश्चिममा १र१ गरी ८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण हालसम्म १८२ घर डुबानमा परेको जानकारी प्रहरीले दिएको छ । मनसुनजन्य विपद्का घटनाले २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू