अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, तरिका मिल्यो भने पूरै अवधि बसिन्छः प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ असार ९ गते ८:४६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबीसमेत गर्नुभयो । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो।

सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ प्रधानमन्त्रीले भन्नुभयो,’‘तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि। जादु नम्बर छ हाम्रो। थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाई हाल्छ। त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन।’

आफू सत्ता समीकरणमा रहेका दलहरुबीचको समझदारीमा आफू इमान्दार रहेको प्रचण्डले बताउनुभयो । ‘हामी इमान्दारपूर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टि तपाईहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफ्नो काम गर्नुहोला’, प्रचण्डले पार्टीका कार्यकर्ताहरुलाई भन्नुभयो ।

अब छिट्टै केन्द्रीय समिति बैठक बसेर पार्टीका संगठनहरुलाई पनि चलायमान बनाउने निर्णय गर्ने प्रचण्डले बताउनुभयो । कार्यकर्तालाई फुर्सद नदिने गरी कामको जिम्मेवारी दिने उहाँको भनाइ छ । ‘अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू