अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

शिर्ष नेताहरुको बालुवाटार बैठक सकारात्मक

बिआरटीनेपाल २०८१ जेठ ११ गते ७:२९ मा प्रकाशित

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सन्दर्भमा भएको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर संसदमा प्रमुख प्रतिपक्ष दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ। छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो। उहाँले समिति बनाउनका लागि सबैको जोडबल रहेको बताउनुभयो।

त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउ परेको सन्दर्भमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो । उहाँले गृहमन्त्री रवि लामिछानेले संसदको रोष्टममा उभिएर नेपाली कांग्रेसका विभिन्न नेताहरुलाई लाञ्छना गरेको भन्दै सो सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो।

लेखकले भन्नुभयो, ‘छलफल सकारात्मक छ। सकारात्मक रुपमै आज छलफल भएको छ। समिति बनाउनेतर्फ नै सबैको जोडबल छ। आजको बैठकमा प्रधानमन्त्रीजीको कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो र आतंकित गर्ने काम भयो त्यो कुराको बारेमा हामी गम्भीर छौँ हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ भनेर हामीले कुरा उठायौँ। केही दिन पहिला गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको रोष्टममा उभिएर जुन ढंगले विषयवस्तु प्रस्तुत गर्नुभएको छ, सदनभित्र रहनुभएका माननीयहरुलाई, नेपाली कांग्रेसलाई लाञ्छित गरेर उहाँले प्रश्न उठाउनुभएको छ, यसमा प्रधानमन्त्रीको ध्यानाकृष्ट गर्न चाहान्छौँ भनेर भनेका छौँ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू