अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

बिआरटीनेपाल २०८१ जेठ ७ गते ४:५१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलले मतदानमा नै भाग लिएनन् ।

प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो । २०७९ सालको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले विभिन्न गठबन्धन परिवर्तन भइरहँदा यसअघि तीन पटकसम्म संसदबाट विश्वासको मत पाउनुभएको थियो ।

सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गर्दै आएको छ । आज पनि बिहान साढे ११ बजे बसेको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बसेको बैठकमा पनि कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गर्नुभएको थियो ।

बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरेपछि बल्ल प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा जान पाउनुभएको थियो । विश्वासको मत माग्दै प्रचण्डले नेपाली कांग्रेसको आजको गतिविधि इतिहासमा कलङ्कको रूपमा स्थापित हुने बताउनुभयो । प्रधानमन्त्रीले विश्वासको मत माग्ने बेलामा नाराबाजी गरेर र बेल घेराउ गरेर कस्तो पद्धतिको विकास गर्न खोजेको हो भनेर उहाँले सोध्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभएको छ । ‘नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलङ्कका रूपमा रहनेछ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू