अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

नेपालकाे अर्थतन्त्रमा निजी क्षेत्रकाे याेगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

बिआरटीनेपाल २०८० चैत २८ गते ८:१८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँगको समन्वय तथा सहकार्यलाई पहिलो प्राथामिकतामा राखेको बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणा सभा एवम् उद्योग वाणिज्य दिवस २०८० का अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी लक्षित महत्त्वपूर्ण कार्यक्रम समावेश गरी अर्थतन्त्रलाई सबल तुल्याउने सरकारको तयारी रहेको बताउनुभयो । साधारण खर्चमा मितव्ययिता अवलम्बन गरी पुँजीगत खर्च वृद्धि गर्न आयोजना र कार्यक्रमकाे प्राथमिकीकरण गर्नुका साथै आयोजनालाई थप व्यवस्थित बनाउन योजना वर्गीकरणको आधार र मापदण्ड निर्धारण गरिएको उहाँकाे भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले सस्तो लोकप्रियता र कसैको लाभका लागि आउँदो आर्थिक वर्षको बजेट र आर्थिक ऐनमा वित्तीय अनुशासन नमिचिने दाबी गर्नुभयो । केही समयअघि अर्थतन्त्रमा नकारात्मक परिदृष्य देखिएकोमा अहिले लय पक्रिएको भए पनि सुधार भयो भन्दैमा हौसिएर धेरै चिज गर्नसक्ने अवस्थामा सरकार नरहेको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लगानी गर्न चाहे पनि सरकारले त्यसका लागि वातावरण बनाउन नसकेको बताउनुभयो । उद्यमीले श्रम पसिना बगाएर निर्माण गरेको उद्यमलाई सरकारी नीति र कर्मचारीको लहडले एकैछिनमा भताभुङ्ग पारिदिनसक्ने अवस्था रहेको भन्दै अध्यक्ष ढकालले त्यसलाई सुधार्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू