अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन् : अर्थमन्त्री पुन

बिआरटीनेपाल २०८० चैत २० गते ६:२८ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका झन्डै एक दर्जन कानुन आउँदाे वैशाख तेस्रो हप्ता आयोजना हुन लागेको लगानी सम्मेलनअघि नै संशोधन गरिने बताउनुभएको छ ।नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका कानुनी प्रावधान संशोधन गरी लगानीमैत्री बनाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

लगानी वातावरण बनाउन सङ्घीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उहाँले दिनुभयो ।सन् २०२६ भित्र नेपाल अतिकम विकसित देश (एलडीसी) बाट विकासशील देशमा स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले विकास साझेदार संस्थासँग सहुलियतपूर्ण कर्जा लिने नीतिमा रहेको बताउनुभयो ।

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल बनेको नेपालको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको पनि अर्थमन्त्री पुनले उल्लेख गर्नुभयो । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर काम गरिरहेको उहाँको भनाइ छ । कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले भर्खरै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको भन्दै उहाँले समितिको सुझावका आधारमा कर नीतिमा सुधार गर्ने बताउनुभयो । विगतमा जस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द/हड्तालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकी देशले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उयपुक्त गन्तव्य भएको दाबी मन्त्री पुनको थियो । यद्यपि पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार्दै उहाँले सरकारी निकायको खर्च गर्ने क्षमता वृद्धि गरिने बताउनुभयो ।

भेटमा आईएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताउनुभयो । नेपालको आर्थिक प्रणाली स्थिर रहेको उल्लेख गर्दै उहाँले आउँदाे वैशाख १६ र १७ गते काठमाण्डाैमा आयोजना हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारीसमेत मन्त्री पुनलाई गराउनुभयो ।

प्रतिक्रिया