प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्त्वले नै शान्तिको महत्त्वलाई गहिरोगरी बुझ्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको रहेको बताउनुभयो। ‘हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्त्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्त्व गर्ने अवसर प्राप्त गर्यौँ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘त्यसैले मैले भन्ने गरेको छु– जसले क्रान्तिको नेतृत्त्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ।’
प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताउनुभयो। ‘क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो,’ प्रधानमन्त्रीले भन्नुभयो ।
लुम्बिनीको विश्वव्यापी महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धभूमिको ‘ब्राण्डिङ’ गर्ने, पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को हान्नेतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो। आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी सङ्घीयता कार्यान्वयनमा गति दिइएको बताउनुभयो।