अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

माझी समुदायको लदी पर्व मनाईयो

बिआरटीनेपाल २०८० फागुन १५ गते ५:५७ मा प्रकाशित

सीमान्तकृत माझी समुदायले सामूहिक रुपमा कोशी पूजा गरेर लदी पर्व मनाएका छन्। माझी समुदायले हरेक वर्ष फागुनको तेस्रो मंगलबार विशेष पर्वका रुपमा लदी पर्व मनाउने चलन छ। धनकुटाका तमोरगढको बस्तीमा रहेका माझी समुदायले पनि लदी पर्व धुमधामका साथ मनाएका छन्। तमोर गढको बस्ती भैसेटार, फलामेटार, सदमटार र कुसेटार क्षेत्रमा बसोवास गर्ने माझी समुदायको सयभन्दा बढी घरपरिवारले सामूहिक रुपमा तमोर नदीमा पूजाआजा गरि लदी पर्व मनाएका हुन् ।

नदीमा माछा मार्दा र डुंगा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनि माझी समुदायले लदी पर्वको दिन कोशीमा विशेष पूजाआजा गर्दै आएको माझी समुदायका ज्येष्ठ नागरिक चौविसे गाउँपालिका-४ फलामेटारका लालबहादुर माझीले बताउनुभयो। माझी समुदायले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन्। तमोर गढको बस्तीमा समुदायको बाक्लो बसोबास रहेको छ। पछिल्लो समय लोप हुँदै गएको अवस्थामा माझी समुदायका युवाहरूको सक्रियतामा लदी पर्व धुमधामका साथ मनाइएको वडा सदस्य समेत रहेका चौविसे गाउँपालिका(४ भैसेटारका राजन माझीले बताउनुभयो।

सडक विस्तार गर्ने क्रममा नदीनालामा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने, डुंगा (नाउ) मा मानिसहरूलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व मनाउने चलन पनि बन्द भएको थियो। तर लदि पर्वलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले गत वर्षदेखि मनाउन सुरु गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू