अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब नाघ्यो, ७ महिनामा ब्याज तिर्न मात्रै ४४ अर्ब १४ करोड रुपैयाँ खर्च

बिआरटीनेपाल २०८० फागुन ३ गते ६:२९ मा प्रकाशित

नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको माघसम्म नेपाल सरकारको ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ११ खर्ब ८४ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब दुई अर्ब २४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । सरकारले चालु आर्थिक वर्षको सात महिनामै दुई खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको छ । साउनदेखि माघसम्मको सात महिनामा दुई खर्ब दुई अर्ब ४३ करोड रुपैयाँ ऋण थपिएको छ । सात महिनामा सरकारले एक खर्ब ५० अर्ब ३१ करोड रुपैयाँ आन्तरिक र ५२ अर्ब १२ करोड ६ लाख रुपैयाँ बाह्य ऋण लिएको छ ।

यस्तै सात महिनामा सरकारले एक खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ ऋण तिरेको छ । आन्तरिकतर्फ एक खर्ब ३० अर्ब ११ करोड र बाह्यतर्फ २५ अर्ब १३ करोड रुपैयाँ ऋण तिरेको कार्यालयले जनाएको छ । सात महिनामा सरकारले एक खर्ब १० अर्ब रुपैयाँ साँवा भुक्तानी गरेको छ । यस्तै ४४ अर्ब १४ करोड रुपैयाँ ब्याज मात्रै तिरेको छ । नेपालको तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा छ खर्ब ३५ अर्ब रुपैयाँभन्दा धेरै भएको छ ।

पछिल्लो पाँच वर्षमा मात्रै सरकारी ऋण दोब्बर भएको छ । आर्थिक वर्ष २०७५/७६ मा सरकारी ऋण १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर थियो । यस्तो ऋण बर्सेनि बढेर आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब र आर्थिक वर्ष २०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो । सरकारले लिएको ऋण पुँजी निर्माणमा भन्दा पनि साधारण खर्च टार्न खर्च गर्दा यसले गतिलो परिणाम नदिने अर्थविद्हरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू