अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र गण्डकी विजयी

बिआरटीनेपाल २०८० माघ ९ गते ६:१७ मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४ विकेटले हरायो ।एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले नट आउट ३४ रन बनाए । एपीएफका रमेश कुर्मीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफ ३२ ओभर ४ बलमा १ सय २१ रनमा अल आउट भयो । एपीएफका कप्तान रोहित पौडेलले ५९ रन बनाए । आर्मी ६ अङ्कसहित तालिकाको चौथो र एपीएफ ४ अङ्कसहित सातौँ स्थानमा छ । यस्तै कीर्तिपुरमा भएको खेलमा गण्डकी प्रदेशले बाग्मती प्रदेशलाई ३ विकेटले हरायो । बाग्मतीले दिएको १ सय ९९ रनको लक्ष्य गण्डकीले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । गण्डकीका करण पङ्गेनीले ७९ रन बनाए । बाग्मतीका प्रतिस जीसीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मती ४९ ओभर १ बलमा १ सय ९८ रनमा अल आउट भयो । बाग्मतीका आशुतोष घिरैयाले ४४ र ईशान पाण्डेले ४३ रन बनाए । गण्डकीका कमल परियारले ४ विकेट लिए । बाग्मती ८ अङ्कसहित दोस्रो र गण्डकी ४ अङ्कसहित आठौँ स्थानमा छ ।

प्रतिक्रिया