अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

आहा रारा गोल्ड कप फुटबल- आयाेजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्वाटरफाइनलमा

बिआरटीनेपाल २०८० माघ ९ गते ५:४१ मा प्रकाशित

आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब आहा रारा गोल्ड कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।पोखरा रङ्गशालामा आज भएको उद्घाटन खेलमा थ्री स्टारले सहारालाई २–१ ले हरायो । थ्री स्टारका योगेश गुरुङ र एन्जल महर्जनले गोल गरे । सहराका आशिष गुरुङले १ गोल फर्काए । अब थ्री स्टारले क्वाटरफाइनलमा आउँदो शनिवार भुटानको पारो एफसीसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो खेलमा भोलि राइजिङ स्टार एफसी र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । प्रतियोगिकाे उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुभयाे । त्यही अवसरमा उहाँले राष्ट्रिय फुटबल टाेलीका खेलाडी आयुष घलानलाई सहारा वर्षाेत्कृष्ट खेलाडीकाे रूपमा सम्मान गर्नुभयाे । घलानले ५० हजार ५ रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा देशको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबल खेलाडीमध्ये एक जनालाई सहारा क्लबले बर्सेनि सम्मान गर्दै आएको छ । विसं २०७४ सालदेखि अहिलेसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् ।यही २० गतेसम्म चल्ने प्रतियोगितामा साविक विजेता सङ्कटा क्लबसँगै १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया