अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

काेशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

बिआरटीनेपाल २०८० पुष १५ गते ३:४५ मा प्रकाशित

काेशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ ।  आज आइतवार भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेकाे हाे । एपीएफले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्याे । काेशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावल, साेनु खड्का र कप्तान सीता राना मगरले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ३९ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले नट आउट ५६ र सीता राना मगरले ४५ रन बनाइन् । बलिङतर्फ काेशीकी कप्तान रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

आज हारे पनि काेशीकाे फाइनल पुग्ने सम्भावना कायमै छ । अब काेशीले फाइनल प्रवेशका लागि कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भाेलि साेमवार खेल्नेछ । एलिमिनेटरमा अहिले बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् । फाइनल खेल आउँदाे बुधवार हुनेछ ।

प्रतिक्रिया