अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

देशको संकट समाधानका लागि अस्थायी संयुक्त सरकार बनाऔँ : अध्यक्ष वैद्य

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:१८ मा प्रकाशित

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरू असक्षम र संकटग्रस्त बन्दै गएको बताउनुभयो । उहाँले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष वैद्यले सरकारले संघर्षका उपलब्धिहरूको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तत्कालीक कार्यक्रमको कार्यान्वयन गर्ने बताउनुभयो । त्यस्तै, वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उहाँले बताउनुभयो । अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालीक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गर्नुभयो ।

वैद्यले भन्नुभयो, ‘वर्तमान राज्यसत्ता, व्यवस्था तथा तिनका पक्षधर राजनीतिक दल असक्षम तथा संकटग्रस्त बन्दै गएको प्रष्ट हुन्छ । भयावह हुँदै जान थालेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक संकटको समाधान हुनै सक्दैन । राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा हो । त्यो अस्वीकार्य छ । संसदीय निर्वाचनको निरन्तरताको चक्रव्यूह सरकार ढाल्ने, अर्को बनाउने र फेरि ढाल्ने सत्तालिप्साका खेल र झुटा आश्वासन तथा भ्रम जाल पनि थेग्न सक्ने स्थितिमा देश र जनता छैनन् । साथै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने धारणा पनि संसदीय यथास्थितिवादको अभिव्यक्ति बाहेक अरु केही होइन । यो एउटा थप भ्रमजाल मात्र हो । पुरानो संविधानमा टालो हालेर र संशोधन गरेर पनि केही हुँदैन’ । सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू