अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

राज्यविरुद्धको कसुर मुद्दामा विप्लवसहित ४ नेताविरुद्ध पक्राउ पुर्जी जारी

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:०३ मा प्रकाशित

जिल्ला अदालत काठमाण्डाैले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा विप्लवसहित पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाण्डाैले गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

२०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उनीहरूमाथि सङ्घीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ । उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि मङ्सिर १० गतेको इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने ‘वारेन्ट’ जारी गर्न आदेश दिएको थियो । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू