अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

आयल निगमले सरकारको ७ अर्ब ऋण चुक्ता गर्‍यो

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:२६ मा प्रकाशित

नेपाल आयल निगमले सरकारलाई तिनुपर्ने ७ अर्ब रुपैयाँ ऋण तिरेको छ।अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पछि नियमित इन्धन आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसनको बक्यौता तिर्न सरकारबाट लिएको सबै ऋण चुक्ता गरेर निगम ऋणमुक्त भएको हो। निगमले सरकारसँग लिएको ऋण मध्ये बाँकी रहेको ७० करोड रुपैयाँ मंगलबार भुक्तानी गरेपछि निगमले सबै ऋण चुक्ता गरेको हो। निगमले इन्डियन आयल कर्पोरेसनलाई बक्यौता तिर्न ७ अर्ब रुपैयाँ लिएकोमा किस्ताबन्दी रुपमा तिर्दै आएको थियो।

यसअघि ६ अर्ब ३० करोड रुपैयाँ तिरेकोमा अहिले बाँकी ७० करोड रुपैयाँ तिरेर ऋण मुक्त भएको आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताउनुभयो । ‘सरकारलाई तिनुपर्ने सबै ऋण तिरेर ऋण मुक्त भएका छौं,’ थानीले भन्नुभयो, ‘ऋणमुक्त भएकाले अब उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य निर्धारण गर्छौँ।’

निगमले इन्डियन आयल कर्पोरेसनलाई तिनुपर्ने ३१ अर्ब रुपैयाँ बक्यौता यसअघि नै चुक्ता गरिसकेको थियो। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढे पछि सो अनुसार निगमले आइओसीलाई बक्यौता भुक्तानी गर्न नसके पछि सरकारसँग २०७९ जेठमा ३ प्रतिशत सहुलियत व्याजमा सात अर्ब ऋण लिएको थियो। डेढ वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेर आएपछि निगमलाई राहात भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू