अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

‘सतीदेवी’ को फस्टलुकको सर्वत्र चर्चा

लक्ष्मण सुबेदी २०८० मंसिर १० गते १४:४८ मा प्रकाशित

काठमाडौँ । सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ को फस्र्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको फस्टलुकमा अभिनेत्री मलिका महत तनावग्रस्त अवस्थामा भाग्दै गरेको देखिएकी छिन । उनलाई गाउँलेहरूले लखेटिरहेका छन् ।

यसअघिका चलचित्र तथा म्युजिक भिडियोका कारण लभर गर्लका रूपमा परिचित भएकी मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने मिहिनेती अभिनेत्रीका रूपमा लिन थालिएको छ । फस्टलुकबाटै चर्चाको चुलिमा परेको ‘सतीदेवी’ को अगामी दिनका प्रचार सामाग्री,टिजर,टेलर तथा गीत कस्तो होलान् भनेर अहिले दर्शकमाझ कौतुहलता बढेको पाइएको छ ।

‘सतीदेवी’ को फस्टलुकको तारिफ गर्दै दीपकराज गिरी, रेखा थापा, पूजा शर्मा, केकी अधिकारी,वर्षा सिवाकोटी, सुरक्षा पन्त, गजीत बिष्ट, प्रताप दास लगायतका सेलिब्रेटीले फेसबुकमा शेयर गरेका छन् भने सरोज खनाल, स्वस्तिमा खड्का, पल शाह, वर्षा राउत, कुन्साङ बमजन लगायतले इस्टामा शेयर तथा शुभकामना व्यक्त गरेका छन् ।

सार्वजनिक पोस्टरमा रातो कुर्था सुरुवाल लगाएकी अभिनेत्री मलिका भाग्दै गरेकी छिन् । मुहारमा कालो मोसो दलिएको मलिकाको घाटीमा जुत्ताको माला भिराइएको देखिन्छ । उनका आँखाबाट आँसु झर्नुका साथै मुहारमा पीडाको पहाड प्रस्ट देखिन्छ । गाउँले पृष्ट भूमि चित्रित पोस्टर हेर्दा मलिकाले सामाजिक विद्रोह गरेको आङ्कलन गर्न सकिन्छ ।

एउटा पोस्टरबाटै पर्याप्त कौतुहलता जगाउन सफल चलचित्रमा मलिकाको भूमिका के हो ? त्यो भने निर्देशक सुवेदीले खुलाएका छैनन् । उनले पोस्टरमा यो फिल्म आफ्नी स्वर्गवासी आमा तेजकुमारी र बा भक्तिराम सुवेदीमा समर्पित गरेको उल्लेख गरेका छन् ।

पोस्टरको एक छेउमा–‘ईश्वरका उपहार,सृष्टि चलाउँछन्,हैनन् कर्महारा, छोरी बुझौँ,छोरी पुजौँ,यिनै संसार सारा..’ भन्ने कवितात्मक भाव प्रस्तुत गरिएको छ । जसबाट ‘सतीदेवी’ छोरी प्रदान चलचित्र भएको स्पष्ट संकेत मिल्दछ । निर्देशक सुवेदीले चलचित्र विशुद्ध सामाजिक कथामा बनेको दाबी गर्दै आइरहेका छन् ।

दिलासा कृएसन प्रालिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रको स्क्रिप्ट र गीत निर्देशक सुवेदी स्वयम्ले लेखेका हुन् । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् ।

मलिका शीर्ष भूमिकामा रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बाँनीया बाल कलाकार अहम् भूमिकामा रहेको बताइन्छ । साथमा कुलदीप अधिकारी,सृजना अधिकारी,सन्दीपबाबु लोहनी,रमेश बुढाथोकी,भोला सापकोटा,सुजीता सिवाकोटी,सन्देश लिम्बू,मनीषा सापकोटा,विमल श्रेष्ठ,ईश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास,दीपा लामा,ममता गुरुङ र सवीन सुवेदीको स्वर छ । बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछाने र पार्श्व संगीत सम्राट् थापाको छ । कुनाल कुवरको कलर ग्रेडिङ रहेको चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने बताइएको छ ।